coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारत र चीन वार्ता गर : अमेरिका

वासिङ्टन- एक महिनाभन्दा लामो समयदेखि भारत र चीनबीच दोक्लम क्षेत्रमा देखिएको तनावलाई वार्ताका माध्यमबाट समाधान खोज्न अमेरिकाले आग्रह गरेको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले भारत–भुटान–चीनबीचको सीमा क्षेत्रमा उत्पन्न तनावलाई वार्ताका माध्यमबाट समाधान खोज्न आग्रह गरेको बताइएको छ।

'भारत र चीन दुबै देशलाई प्रत्यक्ष संवादमा संलग्न भएर सीमा क्षेत्रमा उत्पन्न तनावलाई कम गर्नको लागि र कुनै जर्बजस्तीबाट मुक्त हुन आग्रह गर्दछु,' पेन्टागनका प्रवक्ता ग्यारी रोसको भनाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सी प्रेस ट्रष्ट अफ इन्डियाले जनाएको छ। भारत र चीनबीच पछिल्लो समय उत्पन्न विवादमा अमेरिका कसको पक्षमा छ भन्ने प्रश्नमा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले कुनै पनि देशको पक्ष नलिएको बताइएको छ।  'हामी भारत र चीन दुबै देशका सरकारलाई थप सूचना आदानप्रदानका लागि आग्रह गर्छौ। हामी दुबै देशलाई प्रत्यक्ष वार्तामा बस्न उत्पे्ररित गर्छौ। हामी यस्तो विषयमा कुनै एक पक्षमा लाग्ने छैनौं,' रक्षा मन्त्रालयको प्रवक्ताले रोसले बताए।

भारत र चीनबीच उत्पन्न पछिल्लो विवादलाई लिएर पछिल्लो सातादेखि अमेरिकी विदेश मन्त्रालयले यस्तै खालको धारणा सार्वजनिक गरिरहेपनि अमेरिकी रक्षा मन्त्रालयले भने सीमा क्षेत्रमा उत्पन्न तनाव कम गर्नका लागि भारत र चीनबीच बल प्रयोगमा भन्दा पनि प्रत्यक्ष वार्तामा  जोड दिएको छ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले बिहीबार भारतको राज्य सभामा बोल्दै दुवै देशको सेनालाई फिर्ता बोलाउने र वार्ताको सुरुवात गर्ने प्रस्ताव गरेकी थिइन्। भारतले कुटनीतिक च्यानल मार्फत उक्त सन्देश बेइजिङलाई पनि जानकारी गराइसकेको बताइएको छ। तर चीनले भने दोक्लम क्षेत्रमा तैनाथ भारतीय सेना फिर्ता नभएसम्म कुनैपनि प्रकारको वार्तामा नबस्ने बताउँदै आएको छ। भारतले भने उक्त क्षेत्रमा चीनले गरिरहेको सडक निर्माणले आफ्नो राष्ट्रिय सुरक्षामा असर पर्ने भएकाले उक्त कार्य रोक्न चीनसँग आग्रह गरिरहेको छ। यस महिनाको अन्त्यतिर चीनको राजधानी बेइजिङमा आयोजना हुने 'ब्रिक्स' बैठकमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल बेइजिङ जाने र त्यहाँ उनले चिनियाँ समकक्षीसँग पछिल्लो समय उत्पन्न समस्याका बारेमा सल्लाह गर्ने अनुमान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रकाशित: ८ श्रावण २०७४ ०६:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App