coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अन्तर्घातकाे अन्तरकथा : कार्यकर्तालाई कारवाही, नेतालाई छुट

दोलखा—चुनावको २ महिनापछि बिहिबारदेखि सदरमुकाम चरिकोटमा चलेको जिल्ला कांग्रेसको चुनावी समिक्षा बैठकमा महासमितिदेखि जिल्ला कार्य समिति सदस्य र गाउँ सभापतिसम्मले बैशाख ३१ गतेको निर्वाचनमा अन्तर्घात गरेको भन्दै कार्बाहीको आवाज उठ्यो।

जिल्लाका ९ ओटै स्थानीय तहका विजयी र पराजित उम्मेदवारको उपस्थितिमा जिल्ला कार्य समिति, महासमिति, महाधिवेशन प्रतिनिधि र भातृ संस्था प्रमुख सम्मिलित बैठकले तत्काल जिल्ला कार्य समितिमार्फत् अन्तर्घात गर्नेहरुलाई कार्बाही गर्न माग गर्यो।

समीक्षापछि शुक्रबार सम्पन्न जिल्ला कार्य समिति बैठकले १४ जनालाई निष्कासनको निर्णय गरेको छ। निष्काशन हुनेमा जिरीका तत्कालीन नगर सभापति टंक जिरेल बाहेक १४ जनामा अधिकांश तल्लो तहका निमुखा कार्यकर्ता परेका छन्।

कांग्रेसका तत्कालीन नगर सभापति जिरेल चुनावको एक महिना अघि एमाले प्रवेश गरी एमालेबाट निरी नगरपालिकाको मेयर विजयी भएका थिए। नगर सभापतिलाई निष्कासन गर्दा जिल्ला समितिको बैठकबाट प्रक्रिया पुर्याउनु पर्ने भएका कारण उनलाई शुक्रबार निस्कासन गरिएको जिल्ला समितिले जनाएको छ।

कांग्रेसका तत्कालीन नगर सभापति जिरेल चुनावको एक महिना अघि एमाले प्रवेश गरी एमालेबाट निरी नगरपालिकाको मेयर विजयी भएका थिए। नगर सभापतिलाई निष्कासन गर्दा जिल्ला समितिको बैठकबाट प्रक्रिया पुर्याउनु पर्ने भएका कारण उनलाई शुक्रबार निस्कासन गरिएको जिल्ला समितिले जनाएको छ।

निष्कासन गरिएकाहरुमा चुनावको मुखमा पार्टी छाडेर जाने, विद्रोही उठ्ने र अन्तर्घात गर्ने सामन्य कार्यकर्ताहरु छन्। बैठकले एमाले प्रवेश गरेका पूर्व जिल्ला सदस्य दुर्गा काफ्लेलाई पनि निष्कासन गरेको छ।

यस्तै चुनावमा विद्रोही उठ्ने वडाध्यक्षहरु प्रेम खड्का र ध्रुव खड्का निष्कासनमा परे। घ्याङका कार्यकर्ता कृष्ण शर्मा र मोहनविक्रम कार्की समेत निकालिए । १४ जनाको सुचीमा प्राय: सामन्य कार्यकर्ता छन्।

महासमितिसम्मलाई अन्तर्घातको आरोप

समीक्षा बैठकमा नगर र गाउँपालिका प्रमुखका उम्मेदवारहरुले महासमिति सदस्यदेखि महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमिति सदस्यसम्मले अन्तर्घात गरेको आरोप लगाए। समीक्षा बैठकमा तामाकोशी गाउँपालिकामा महासमिति सदस्यसहित तरुण दलका केही कार्यकर्ताले अन्तर्घात गरेको आरोप लाग्यो।

यस्तै भीमेश्वर नगरपालिकामा समेत महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र जिल्ला सदस्यले अन्तर्घात गरेको आरोप उम्मेदवारले लगाएका थिए। झिनो मतले वडाध्यक्ष हारेको एउटा वडामा जिल्ला तहका जिम्मेवार नेताले राप्रपालाई भोट दिएर अन्तर्घात गरेको आरोप उम्मेदवारले लगाए। यस्तै महाधिवेशन प्रतिनिधि नै चुनावमा अनुपस्थित भएर असहयोग गरेको आरोप समेत लाग्यो। भीनपाको बोचमा पार्टीका क्षेत्रिय सचिव खुलेरल पार्टी उम्मेदवार हराउन लागिपरेको आरोप आयो। मेलुङ गाउँपालिकामा गाउँ स्तरका नेतालाई अन्तर्घातको आरोप लागेपनि केही मात्र कार्बाहीमा परे।

शुक्रबारको बैठकले जिल्लाभरीका अन्तर्घातका घटना छानविन गरी कार्बाहीका लागि जिल्ला सदस्य कुमार भुजेलको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको छ। समितिका शिक्षक संघका पूर्व जिल्ला अध्यक्ष रामजीप्रसाद चौलागाई र जिल्ला पार्टीका आमन्त्रित सदस्य श्रीबाबु काकी छन्। संयोजक भुजेलले १५ दिन भित्र छानविन गरी आरोपित सबैको प्रतिवेदन पार्टीलाई बुझाउने बताए।

पार्टी जिल्ला सचिव सन्तोष रिमालले अहिले प्रष्ट रुपमा खुलेर पार्टी उम्मेदवारविरुद्ध लागेकालाई मात्र काबाही गरिएको बताए। ‘अहिले त्यस्ते देखिएको मात्र हो’, उनले भने, ‘विस्तृत अध्ययन गरी सिफारिस गर्नका लागि छानविन समिति बनाइसकेका छौ, छानविन समितिले गरेको सिफारिसका आधारमा पार्टीविरुद्ध अन्तर्घात गर्ने जो कोहीलाई पनि कार्बाही हुन्छ।’

माओवादी केन्द्रसँग तालमेल गर्दा ९ स्थानीय तह र ७४ ओटा वडा मध्ये २ तह र २० वडा जितेको कांग्रेसले तालमेलको भावना तल्लो तह सम्म पुर्याउन नसक्नु, अन्तिम समयमा आएर तालमेल गर्नु, उम्मेदवारी दर्ताको दिन बिहानसम्म पनि टिकटको किचलो मिलाउन नसक्नु लगायत चुनावी हारका कारण भनेर समिक्षा गरेको छ।

एमालेमा पनि उस्तै

दोलखा एमालेले पनि अन्तर्घात आरोप लागेका शीर्ष नेताहरुका बिषयमा केही नबोली निमुखा कार्यकर्ता र पार्टी छाडेर अन्यत्र गएकालाई कार्बाही गरेर झारो टारेको छ। दुई दिन सम्म चलेको पार्टी जिल्ला बैठकमा शीर्ष स्तरका नेताले अन्तर्घात गरेको आरोप लागेपनि उनिहरुका बिषयमा छलफल नै गरिएन्। १२ जना कार्यकर्ता निष्कासित भए।

एमालेले दोलखामा ७ गाउँपालिका र ४३ ओटा वडा जितेको छ । बैठकमा सहभागीहरुका अनुसार विगु गाउँपालिकामा पार्टीका पूर्व जिल्ला प्रमुख र दुई जिल्ला सदस्यलाई अन्तर्घातको आरोप लाग्यो।

भीमेश्वर नगरपालिकामा दोलखा बजारका अधिकांश नेताहरु अन्तर्घात गरेको भन्दै विवादमा तानिए । शैलुङ र मेलुङ गाउँपालिकामा जिल्ला सदस्य नै आरोप खेपे । वैत्येश्वर गाउँपालिकामा पार्टीका पूर्व जिल्ला पदाधिकारी एवं जिल्ला कमिटिका बिभागिय प्रमुख नै अन्तर्घातमा मुछिए।

बैठकका सहभागीहरुका अनुसार सचिवालय सदस्यहरु नै अन्तर्घातमा मुछिएका थिए। तर जिल्ला नेताहरुले बैठकका सहभागीले राखेको अन्तर्घातका बिषयमा प्रवेश गराउनै चाहेनन्। एमालेले पार्टी छाडेर अन्यत्र गएका जिल्ला सदस्यहरु शैलेन्द्र खड्का, दिनेश उप्रेती, प्रेम थापालाई निष्कासन गरेको छ भने गाउँ स्तरका सामन्य कार्यकर्तालाई कार्बाही गरेको छ। दोलखा एमालेले समेत छानविन कमिटि गठन गरेको छ।

उता माओवादी केन्द्र दोलखामा अन्तर्घात बारे कुरा उठे पनि कार्बाही प्रक्रिया अगाडी बढाईएन्। अन्तर्घात भन्दा कांग्रेस संगको तालमेल प्रक्रिया ढिलो गरी सम्पन्न हुनु र एमालेको डिजाईनमा जुंगु हत्या घटनामा नेताहरु फस्नु लगायतका कारण चुनाव हारिएको बिश्लेषण माओवादीले गरेको छ।

प्रकाशित: ७ श्रावण २०७४ ११:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App