coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

एलार्डिसको ठाउँमा मोयेज

लन्डन- इङ्लिस प्रिमियर लिग क्लब सन्डरल्यान्डले शनिबार साम एलार्डिसको स्थानमा म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक डेविड मोयेजलाई प्रशिक्षक नियुक्त गरेको छ। सन्डरल्यान्डको पछिल्लो ८ वर्ष अवधिमा मोयेज नवौं प्रशिक्षक हुन्। क्लबका प्रमुख इलिस सर्टको पहिलो रोजाइमा परेका डेविड मोयेज चारवर्षका लागि सन्डरल्यान्डसँग अनुबन्धितभएका हुन्। एलार्डिस इङ्ल्यान्डको राष्ट्रिय प्रशिक्षकमा नियुक्त भएपछि मोयेज सन्डरल्यान्डप्रशिक्षक बन्न पुगेका हुन्।

सर एलेक्स फर्गुसन युगको अन्त्यसँगै प्रशिक्षक बनेका ५३ वर्षे मोयेजलाई युनाइटेडले बर्खास्त गरेको थियो। त्यसपछि उनले स्पेनिस क्लब रियाल सोसिडाडको जिम्मेवारी लिएका थिए। स्पेनमा आफ्नो कार्यकाल सफल बनाउन नसकेका मोयेज फेरि प्रिमियर लिगमा फर्केका छन्।

स्कटल्यान्डका मोयेजले १९९८ मा प्रिस्टनबाट प्रशिक्षक जीवन सुरुआत गरेका थिए। तर, २०१३/१४को सिजनमा म्यानचेस्टरसँग अनुबन्ध हुनु पहिले उनले लामो समयसम्म एभर्टनको जिम्मेबारी सम्हालेका थिए।

‘सन्डरल्यान्डसँग जोडिन पाउँदा खुसी लागेको छ। मलाई चुनौती सामना गर्न खुसी लाग्छ र यो अवसरका लागि उत्साहित छु,’ मोयेजलाई उद्धृत गर्दै सन्डरल्यान्डको वेबसाइटमा लेखिएको छ, ‘मैले बेलायतको बलियो समर्थनसहित ठूलो क्लबको जिम्मेवारी लिएको छु। प्रिमियर लिगमा पुनरागमनका लागि म कुरिरहेको छु।’

क्लबले पछिल्लोपटक अनुबन्ध गरेको एलार्डिस इङ्ल्यान्डको ‘हट सिट’ मा बस्न गएपछि मोयेजलाई चिठ्ठा परेको थियो। एलार्डिस शुक्रबार इङ्ल्यान्ड प्रशिक्षणमा नियुक्त भएपछि सन्डरल्यान्डले तत्काल मोयेजलाई नियुक्त गरेको हो। थुप्रै प्रशिक्षक बदलिरहेको सन्डरल्यान्डले मोयेजको नियुक्तसँगै अब स्थिरताको पनि आशा गरेको छ।

‘मोयेजलाई स्वागत गर्न पाउँदा हामी साँच्चिकै खुसी भएका छौं,’ क्लब प्रमुख सर्टले भने, ‘मोयेजको फुटबल इतिहासले उनको व्यक्तित्व आफै बोल्छ। उनी लामो सयमदेखि मैले प्रशंसा गरेका व्यक्ति हुन्। उनीसँगमैले थुप्रै अवसरमा कुरा गरेको छु र प्रभावित छु।’

‘पछिल्लो ५ प्रशिक्षक नियुक्त गर्दा उनी सधँै मेरो रोजाइमा परेका हुन्थे। तर मोयेजले त्यस समयक्लबसँगको सम्झैता तोड्न नचाहेका कारण हामीले उनलाई ल्याउन सकेका थिएनौं,’ सर्टले थपे, ‘पहिलेको भन्दा राम्रो, बलियो र स्थिर क्लब बनाउने हाम्रो मुख्य उद्देश्य हो। मोयेजको क्षमता र अनुभवका कारण हाम्रा लागि यो राम्रो अवसर हो।’

मोयेजले क्लब फुटबलमा ८ सयभन्दा धेरै माथिल्लो स्तरका खेलमा प्रशिक्षण गराइसकेका छन्। प्रिस्टनलाई माथिल्लो श्रेणीमा उकालेपछि मोयेज २००२ मा गुडिसन पार्क गएका थिए। लामो समय त्यहाँ बिताएका उनी २०१३/१४ सिजनमा फर्गुसनले प्रशिक्षकबाट संन्यास लिएपछि युनाइटेडको जिम्मेवारी सम्हाल्न पुगे।

उनले युनाइटेडसँग ६ वर्षे सम्झौता गरेका थिए तर क्लब प्रिमियर लिगको सातौं स्थानमा झरेपछि रेड डेभिल्सले उनलाई बर्खास्त गरेको थियो। त्यसपछि स्पेन पुगेका मोयेज पुनः इङ्ल्यान्ड फर्किएका छन्।

प्रकाशित: ९ श्रावण २०७३ ०३:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App