८ वैशाख २०८१ शनिबार
प्रवास

हजारौं नेपाली विद्यार्थीको भविष्य अन्योल

स्कुल बन्द भएपछि महिना दिनदेखि घरमै अन्योलपूर्ण दिन बिताउँदै पशुपतिनगरस्थित तीनखुट्टेका लाकु, बाङचेन र योङ्पेन योल्मु । तस्बिर : भीम चापागाईं

पशुपतिनगर – भारत पश्चिमबंगालमा ३६ दिनयता जारी गोर्खाल्यान्ड आन्दोलनका कारण त्यहाँका स्कुलमा पढ्ने हजारौं नेपाली विद्यार्थीको भविष्य अन्योल बनेको छ । आमहड्तालका कारण स्कुल–कलेज ठप्प भएपछि पूर्वी सीमावर्ती क्षेत्रका विद्यार्थी महिना दिनदेखि घर फर्केर दिन काटिरहेका छन् । 

इलाम, झापा, पाँचथर र ताप्लेजुङको पूर्वी भेगका हजारौं विद्यार्थी दार्जिलिङ, मिरिक, खर्साङ र कालिम्पोङका सरकारी–निजी स्कुल पढ्छन् । उताका स्कुल खुल्ने निश्चित नभएपछि घर फर्केका विद्यार्थीले नेपाली निजी स्कुलमा भर्ना हुने प्रयाससमेत गरिरहेका छन् । तर, यहाँका कुनैपनि निजी स्कुलले भर्ना नदिएको उनीहरूको गुनासो छ।

इलामका पशुपतिनगर, मानेभञ्ज्याङ, सन्दकपुर, जौबारी, श्रीअन्तु, समालबुङ, फिक्कल, जिर्मलेलगायत दर्जनौं गाउँका विद्यार्थी भारतका स्कुल पढ्छन् । इलाम सदरमुकामको बरबोटेदेखिका सयौं विद्यार्थी उतैका छात्रावासमा बसेर पढ्छन् भने सीमावर्ती क्षेत्रका घरपिच्छेका बालबालिकालाई भारतीय निजी स्कुलले घर–घरमै आएर दिनहुँ गाडीमा ओसार्ने गरेका छन् ।

तर, गोर्खाल्यान्डको मागमा भइरहेको लगातारको आमहड्तालले स्कुल बन्द भएपछि अहिले विद्यार्थीहरू घरै बसिरहेको पशुपतिनगरका मिलन क्षेत्रीले बताए । ‘भारतीय स्कुलको होस्टेलमा बस्ने र दिनहुँ घरैबाट उताका स्कुल धाएर पढ्ने विद्यार्थीको संख्या पशुपतिनगरमा मात्रै २ हजार हाराहारी छ,’ स्थानीय अगुवा क्षेत्रीले भने, ‘स्कुल बन्द भएपछि महिना दिनदेखि बालबालिका घरै आएर घाँस–दाउरा गरिरहेका छन् । कोही काम नभएर त्यत्तिकै दिन बिताउँदैछन् ।’ 

मिलनका छोरा मिसाल मिरिकको लिउज स्कुलमा कक्षा–१० मा पढ्छन् । तर, उनी घर आएर यहींको स्कुलमा भर्ना हुने सोचले काठमाडौं पुगेका छन् । ‘न कोर्स मिल्दोरहेछ न यता र उताको पढाइ नै,’ मिसालले भने, ‘भारतको बन्द खुल्ने सम्भावना नभएकाले बरु नेपालकै स्कुल पढौं कि भन्नेसमेत सोचेको थिएँ । तर, अहिले १० कक्षाको परीक्षा आउन लागेकाले यताका कुनै स्कुलले मेरो भर्ना नै लिन मानेनन् ।’  

मिलनले २०६२/०६३ सालतिर स्कुल–कलेज लगातार बन्द हुन थालेपछि छोरा मिसाललाई नर्सरीदेखि नै मिरिकको लिउज स्कुल पढाउन थालेका हुन् । ‘यताका स्कुलमा जहिल्यैको बन्द र हड्तालले उता (भारत)को स्कुल हाल्ने मजस्ता सयौं अभिभावक छन्,’ मिलनले भने, ‘तर, उताको पढाइ पनि अहिले नेपालको भन्दा अन्योलको भो ।’ मिसाल अहिले पनि कुनै स्कुलमा भर्ना पाइन्छ कि भन्ने आसले काठमाडौंका निजी स्कुल धाइरहेका छन् । 

पशुपतिनगरकै तीनखुट्टेका एकैघरका ३ बालबालिका लाकु, वाङचेन र योङ्पेन योल्मु मिरिककै वृन्दावन बोर्डिङ स्कुल पढ्छन् । लाकु कक्षा–११, वाङ्चेन १० र योङ्पेन कक्षा ६ मा पढ्दैछन् । उनीहरू दिनहुँ घरबाट ५ किलोमिटरमा रहेको पशुपतिनगरसम्म पुग्छन् । पशुपतिनगरबाट स्कुलकै गाडीले उनीहरूलाई दिनहुँ स्कुल पु¥याउँछ । बेलुका त्यहींसम्म ल्याइदिन्छ । तर, नेपाली विद्यार्थीको संख्या अधिक रहेको मिरिकको चर्चित वृन्दावन स्कुल पनि गोर्खाल्यान्ड आन्दोलनका कारण बन्द भएपछि नेपाली विद्यार्थी अहिले घर–घरै बस्न बाध्य छन् । भारतीय स्कुलहरूका ४ वटा बसले पशुपतिनगरबाट दिनहुँ विद्यार्थी लैजाने गरेका छन् ।  

‘स्कुल बन्द भएर घरै बसैको थ्रि विक्सभन्दा धेरै भो,’ वाङ्चेनले सुनाए, ‘अब नेपालकै स्कुल पढ्ने कि हाम्रै स्कुल खुलुञ्जेल पर्खिने भन्ने दोधारमा छौं ।’ उनीहरूका अभिभावक सोनाम योल्मुले बालबालिकालाई घरमा समय बिताउनै समस्या भइरहेको बताए । ‘लामो समयदेखि स्कुल बन्द भएकाले बालबालिकाको भविष्य अन्योलमा परेको छ,’ सोनामले भने, ‘बन्द भएको महिनादिन नाघिसक्यो, आन्दोलन रोकिने र स्कुल खुल्ने छाँट छैन । नानीहरूलाई यता पढाउन खोज्यो भने भर्ना नै लिँदैन । कसो गर्ने भन्ने चिन्ता भइरहेको छ ।’ 

गोर्खाल्यान्ड आन्दोलनका कारण १५ जुनदेखि दार्जिलिङलगायत पहाडी क्षेत्रमा आमहड्ताल जारी छ । त्यसअघि पनि चिया मजदुर र अन्य समूहले ४ दिनसम्म आममड्ताल आह्वान गर्दा स्कुल–कलेज ठप्प भएका थिए । आमहड्तालको ७ दिनपछि आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले निजी स्कुलका सवारी एक दिनका लागि खुला गरेर बाहिरबाट आएका विद्यार्थीलाई घर पु¥याउन उर्दी गरेको थियो । त्यही दिन त्यहाँका सबैजसो निजी स्कुल सवारी साधनले नेपाली बालबालिकालाई सीमाक्षेत्रसम्म ल्याइदिएका थिए ।

‘स्कुलकै सवारीले सिलिगुडीसम्म ल्याइदिएपछि छोरा कर्मालाई घर ल्याएको छु । अहिलेसम्म स्कुल नखुलेकाले फर्केर जान पाएको छैन,’ इलाम नगरपालिका–५ बरबोटेका गृष्म सुब्बाले भने, ‘उता लगातार बन्द भयो भने यतैका स्कुल पढाउने सोचेको थिएँ, यताका स्कुलमा पनि अहिले भर्ना नलिने भएपछि छोराको पढाइ डामाडोल भएको छ ।’ कर्मा दार्जिलिङको प्रतिष्ठित मानिने सेन्ट जोसेफ स्कुलमा कक्षा–१० मा पढ्छन् । बरबोटेकै राजेन तामाङकी छोरी रिया पनि दार्जिलिङको सेन्टिजा स्कुलको कक्षा–११ मा पढ्दैछिन् । रिया पनि स्कुल बन्द भएपछि महिनादिनयता घरै बसिरहेकी छिन् । दार्जिलिङकै स्कुल पढ्ने इलाम बजारका प्रद्युम्न वैद्य पनि स्कुल बन्द भएयता बुबा–आमाको व्यापारमा सघाउँदै घरै बसिरहेका छन् ।

नेपालबाट कति विद्यार्थी भारतका स्कुल पढ्छन् भन्ने यकिन तथ्यांक कतै भेटिँदैन । अभिभावक र भारतीय स्कुल सञ्चालकको अनुमानअनुसार करिब ५ हजार नेपाली विद्यार्थी सीमावर्ती भारतीय स्कुल पढिरहेका छन् । मिरिकका वृन्दावन, लिउज, अल्पाइन, ओरेन्जलेक, डनबक्स र गभर्मेन्ट स्कुलमा नेपाली विद्यार्थीकै संख्या अधिक छ । दार्जिलिङका सेन्ट जोसेफ, सेन्टिजा, बेथिनी, लरेटोलगायत स्कुल–कजेज र कालिम्पोङ तथा खर्साङका स्कुलमा नेपाली विद्यार्थीमात्रैको संख्या सयदेखि ८ सयसम्म रहेको ती स्कुलले जनाएका छन् । यहाँका स्कुलहरूमा नर्सरीदेखि १२ कक्षासम्मै अध्ययन गर्न नेपाली विद्यार्थी जाने गरेका छन् । 

दार्जिलिङको सेन्ट जोसेफ स्कुलमा अहिले कक्षा–३ देखि १२ सम्ममा नेपाली विद्यार्थीको संख्या १ सय २ रहेको स्कुलले जनाएको छ । स्कुलका रेक्टर (प्रमुख) फाजु मोनले दार्जिलिङका सबैजसो स्कुलमा नेपाली विद्यार्थीको संख्या धेरै रहेको बताए । ‘स्ट्राइक (आमहड्ताल)का कारण स्कुल बन्द भएको महिनादिन भयो, पढाइ चौपट भएको छ,’ रेक्टर मोनले नागरिकसँग भने, ‘कक्षा १० र १२ का अढाई सय विद्यार्थीलाई चाहिँ सिलिगुडीमा बोलाएर पढाइ चालू राख्ने योजनामा छौं ।’ उनले आउँदो १ सेप्टेम्बरदेखि १० र १२ कक्षाका विद्यार्थीलाई सिलिगुडीमा कक्षा सञ्चालन गर्ने तयारी गरेपनि अन्य कक्षाका विद्यार्थीको पढाइ अझै अनिश्चित रहेको जनाए । 

प्रकाशित: ६ श्रावण २०७४ ०८:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App