५ वैशाख २०८१ बुधबार
अन्य

‘फेरि जर्मनीका सहर घुम्न मन छ’

निशा अधिकारी, अभिनेत्री

तपाईंलाई मनपर्ने सहर कुन हो ?
मलाई मनपर्ने सहर काठमाडौं नै हो । जतिसुकै फोहोर अव्यवस्थित भए पनि यहाँको हावापानी राम्रो लाग्छ । अरुको त कुरै छाडौँ, हाम्रो देशको पानीमा पनि शक्ति छ । विदेश गएका बेला त्यहाँको पानीले कहिल्यै प्यास मेटिन्न । नेपाल फर्केपछि मात्रै बल्ल प्यास मेटिएको अनुभूति हुन्छ । बाहिरी मुलुकमध्ये मनपर्ने सहर जर्मनीको स्टोटगार्ट, बर्लिन र ह्याम्बर्ग हो । त्यहाँको बेकरी एकदमै मनपर्छ । समय मिल्यो भने त्यहाँ फेरि जाने मन छ । कहिल्यै नसुत्ने सहर न्युयोर्क पनि मलाई धेरै राम्रो लाग्छ । 

तपार्इंको सपनाको सहर कस्तो हुनुपर्छ ?
हामी सुविधासम्पन्न ठाउँलाई नै सहर ठान्छौँ । वास्तवमा मेरो सपनाको सहर पनि यस्तै होस् भन्ने चाहन्छु । मेरो सपनाको सहर काठमाडौं नै हो । जहाँ गए पनि काठमाडौंलाई नै सम्झन्छु । पछिल्लो समय काठमाडौं अव्यवस्थित भएको छ । विकास निर्माणका काम पनि भइरहेका छन् । यसको समाधानका लागि सरकार र नागरिक हातेमालो गरेर अघि बढ्न जरुरी छ। 

काठमाडौं उपत्यकाको मनपर्ने पक्ष के हो ? 
यहाँको मनपर्ने पक्ष पुराना सम्पदा, नजिकका घुम्ने ठाउँ र पुराना संस्कृति हुन् ।

फेसन र साथीभाइ भेटघाटमा कत्तिको रुचि राख्नुहुन्छ ? 
सामान्य र चलेको फेसन मनपर्छ । साथीभाइसँग भेटघाट गर्न र रमाइलो गर्ने बानी सानैदेखिको हो । फुर्सद हुनासाथ आफ्ना सर्कलका साथीसँग घुम्न निस्किन्छु । पछिल्लो समय व्यस्तताले त्यति घुमघाम गरेकी छैन । 

सहरवासीको मननपर्ने बानी केहो ? 
सहरवासीको एकदमै घृणा लाग्ने पक्ष एकले अर्काको आलोचना गर्नु नै हो । आजकाल धेरैले सरकारको आलोचना मात्रै गरेको सुन्छु । समस्या समाधानका लागि उनीहरू आफ्नो भूमिका कहिल्यै देखाउँदैनन् । सहरका समस्या हेर्दा सरकार र जिम्मेवारी निकाय नै छैन जस्तो लाग्छ । 

बाहिरी मुलुकका सहरसँग तुलना गर्दा हाम्रा सहर कस्ता छन् ? 
कसैगरी हाम्रा सहरलाई बाहिरका सहरसँग तुलना गर्नै मिल्दैन । विकास निर्माणका कामसँग तुलना गर्ने हो भने हामी पछाडि परे पनि हावापानी, प्राकृतिक, ऐतिहासिक परम्परा र संस्कृतिलाई दाँज्ने हो भने हामी उनीहरूभन्दा धनी छौँ । हाम्रो देशमा हरियाली पहाड छ । विदेशमा बस्ने मेरा धेरै साथीले घाम र हरियाली देख्न पाइएन भनेर गुनासो गर्छन् । काठमाडौं थोरै प्रदूषित भए पनि अन्य कुरामा धेरै राम्रो छ । 

नेपालका सहरको राम्रो लाग्ने पक्ष के हो ? 
यहाँको हावापानी र वातावरणले नै मन लोभ्याउँछ । जहाँ गए पनि मलाई नेपालकै याद आउँछ । मौलिक संस्कृति र परम्परा जो–कोहीको पनि ध्यान तान्ने खालका छन् । यहाँका पुराना शैली र एकनासे घर पनि मनपर्छ । त्यस्तै, उपत्यकाका मठ–मन्दिर पनि मलाई एकदमै राम्रो लाग्छ ।

सहरलाई व्यवस्थित पार्न के गर्नुपर्ला ? 
हामीले अरुलाई दोष दिन्छौँ । हाम्रो मानसिकता अरुलाई दोष थुपार्ने किसिमको छ । सहरवासीको यस्तै बानीले गर्दा हाम्रो सहर बिग्रिएको हो । गल्ती गरेको ठाउँमा नागरिकले पनि जिम्मेवार भएर खबरदारी गर्ने हो भने सहर राम्रो बन्थ्यो होला । नेता र सरकारी कर्मचारीमा मैले कुनै जिम्मेवारी देख्दिनँ । नीति–निर्माण तहमा काम गर्ने र देशलाई हाँक्ने व्यक्ति राम्रो भएन । काठमाडौंको पहिलाको तस्बिर हेर्दा कतै जान मन लाग्दैन तर यथार्थमा काठमाडौं बदलिएको छ । पहिलाको रूप हराएको छ । सहरलाई व्यवस्थित पार्न अहिले भइरहेका कामलाई छिट्टै पूर्णता दिन जरुरी छ । सरसफाइ, बाटोघाटो निर्माण, व्यवस्थित पार्क, ट्राफिक व्यवस्थापन, धँुवाधुलो रोकथामलगायत विषयलाई केन्द्रमा राखेर काम गर्ने हो भने समस्या तुरुन्तै समाधान हुन सक्छन् । 

तपाईं उपत्यकाभित्र कतै घुम्न जानुपर्‍यो भने कुन ठाउँ रोज्नुहुन्छ ? 
तीनवटा जिल्लाका दरबार क्षेत्र, चन्द्रागिरि, ओशो तपोवन, नेपालथोक, दक्षिणकाली, नगरकोटलगायत ठाउँमा जान्छु । यी ठाउँमा गएपछि मनमा आनन्द मिल्छ ।

सहरको मनपर्ने खानेकुरा के हो ?
यहाँका सबैखाले परिकार मनपर्छ । विशेषगरी सादा खानेकुरा, हरियो साग, नेवारी खाजा र अचार एकदमै मनपर्छ । यहाँका मनपर्ने अर्को खानेकुरा मःमः पनि हो । पहिलेपहिले त सुन्धाराको मःमः एकदमै खाइन्थ्यो । अचेल मासुजन्य परिकार त्यति खादिनँ । पुराना साथी भेट भए भने रमाइलो गर्नलाई खाइन्छ 
प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: ६ श्रावण २०७४ ०७:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App