४ वैशाख २०८१ मंगलबार
राजनीति

अन्तर्घात गर्ने ९ एमाले नेता कारबाहीमा

खोटाङ– नेकपा एमाले खोटाङले स्थानीय तहको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेद्वारका बिरुद्धमा बागी उम्मेद्वार दिने र अन्तरघात गर्ने ९ नेता तथा कार्यकर्तालाई कारबाहीका लागि सिफारिस गरेको छ।

आधिकारिक उम्मेद्वारबिरुद्ध बागी उम्मेद्वारी दिएर हराउनमा भूमीका खेलेको भन्दै एमाले जिल्ला सचिवालय कमिटिको चौथो पूर्ण बैठकले ९ जना नेता तथा कार्यकर्तालाई कारबाहीका लागि सिफारिस गरेको हो। कारबाहीमा पर्नेमा बागी उम्मेद्वारी दिने, पार्टीलाई असहयोग गर्ने र अन्तरघात गरेर अन्य पार्टीलाई जिताउन भूमीका खेल्ने नेताहरु रहेको एमालेले जनाएको छ।

स्थानीय तहको निर्वाचनमा केपीलासगढी गाउँपालिकामा पार्टीको आधिकारिक गाउँपालिका प्रमुखका उम्मेद्वारविरुद्ध बागी उम्मेद्वार दिएकामा एमालेले स्वतन्त्र उम्मेद्वार हरिचन्द्र राई, जन्तेढुंगा गाउँपालिकामा गाउँपालिका उपप्रमुखको उम्मेद्वारी दिएकी सरिता राई लगायतलाई कारबाहीका लागि सिफारिस गरेको छ। गाउँपालिकाको प्रमुख र उपप्रमुखमा बागी उम्मेद्वार दिएका नेतालाई कारबाहीका लागि प्रदेश कमिटि समक्ष तथा वडाध्यक्ष र सदस्यमा बागी उम्मेद्वारी दिएका उम्मेद्वारलाई कारबाहीका लागि जिल्ला कमिटि समक्ष सिफारिस गरेको एमाले खोटाङका अध्यक्ष बबी चामलीङले बताए।

‘गाउँपालिका प्रमुख र उपप्रमुखमै उम्मेद्वारी दिएका नेतालाई जिल्लाको सिफारिसमा प्रदेश कमिटिले कारबाही गर्छ, अन्यलाई जिल्ला कमिटिले नै कारबाही गर्छ,’ अध्यक्ष चामलीङले भने, ‘अन्तरघात गर्नेले पार्टीले गरेको कारबाही भोग्नु पर्छ ।’

 स्थानीय तहको निर्वाचनपछि एमालेले निर्वाचन परिणामको समिक्षा गर्दै कारबाही गर्नुपर्ने कार्यकर्ताको टुंगो लगाएको हो। एमालेले कारबाहीका लागि सिफारिसमा परेका अन्य ७ जना नेता तथा कार्यकर्ताको भने नाम सार्वजनिक गरेको छैन। केपीलासगढी गाउँपालिकामा बागी उम्मेद्वारी परे पनि एमालेकै उम्मेद्वार कृष्णकुमार राई गाउँपालिका प्रमुखमा विजयी भएका थिए । यस्तै, जन्तेढुंगा गाउँपालिकामा उपाध्यक्षमा बागी परे पनि एमालेको आधिकारिक उम्मेद्वार विमला राई विजयी भएकी थिइन्।

प्रकाशित: ५ श्रावण २०७४ १३:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App