८ वैशाख २०८१ शनिबार
समाज

सडकमा जागरुक 'पागल'

तिमी पाँच इन्द्रीयले काम गर्छौ, म छैटौँले!

तिम्रो गिदी छ साथी! मेरो मुटु

जरुर साथी म पागल! यस्तै छ मेरो हाल ...'

महाकवि लक्ष्मीप्रसाद देवकोटाको 'पागल' शीर्षक कविताका पात्रझैं लाग्ने हजारौं सर्वसाधारण निधारमा पागल लेखिएको कालोपट्टी  बाँधेर  शनिबार सडकमा निस्किए।

१४ दिनदेखि टिचिङ अस्पतालमा अनशनरत डा. गोविन्द केसीको माग सम्बोधन र जीवनरक्षाका लागि शनिबार राजधानीका सडकमा उत्रिएका उनीहरुमध्ये कतिपयले आफूलाई 'जागरुक पागल' भन्न रुचाए। 

'हो म पनि पागल,' पुल्चोक इन्जिनियर कलेजमा अध्यनरत सन्तलाल श्रेष्ठले भने, 'डा. केसीको अभियानलाई साथ दिने जागरुक पागल।' अनशनरत केसीको जीवन जोखिममा परेको भन्दै उनका माग चाँडै सम्बोधन गरियोस् भन्ने उनको चाहना छ। 'अब सबै नजागी केही हुनेवाला छैन,' माइतीघर मण्डलबाट जुलुसमा मिसिएर नयाँबानेश्वरतर्फ जाँदै गरेका उनले भने, 'त्यसको संकेत आज यहाँ देखिँदै छ।'

उनले भनेजस्तै शनिबार बिहान माइतीघरमा युवायुवती मात्र होइन, वृद्ध, बालबालिकासम्मको सहभागिताले केसी आन्दोलनको दायरा फराकिलो बन्दै गएको देखिन्थ्यो। टाउकोमा पागल लेखेका उनीहरु संयमित हँुदै आन्दोलन अगाडि बढाइरहेका थिए।

मुलुकका विभिन्न भागबाट आएका विभिन्न जातजातिको संयुक्त सहभागिताले माइतीघरमण्डल सिंगो देशजस्तो देखिन्थ्यो।

गुल्मीबाट राजधानीमा उपचार गराउन आएकी ७० वर्षीया इन्द्रकला ढकाल पनि यिनै 'पागल' का लाइनमा खडा थिइन्। रिपोर्ट चेक गराउन राजधानी आएकी उनी केसीको रिपोर्ट संसद्मा बुुझाउन जान लागेको बताइन्।

'उनी भोकै हाम्रालागि अनशनमा बसेका छन्,' उनले भनिन्, 'यही खबर संसद्मा पुर्‍याउन यहाँ आएकी हुँ,' केसीलाई नचिने पनि आफ्नो छोराले बताएपछि उनको समर्थनमा छोरासँगै आएको उनले सुनाइन्।

उनीभन्दा केही पर पाँचवर्षीय छोरा लिएर आएका रुपेश शर्माले पनि निधारमा पागल लेेखेको ब्यानर बाँधेका थिए। 'मेरो छोराले भोलि सजिलै डाक्टरी अध्ययन गर्न पाओस् भनेर उसलाई समेत साथ लिएर आन्दोलनमा आएको छु,' उनले भने, 'म छोराको भविष्यलाई लिएर आजै चिन्तित एउटा 'पागल' हुँ।'

केसीले उठाएका माग सम्बोधन नभए आउने पुस्ताले समेत दुःख पाउने उनको बुझाइ छ।

मूलपानीबाट आएका श्रीराम अधिकारीले भ्रष्टाचारविरुद्ध उत्रने पागल भएको सुनाए। 'हो, माफियाहरू भ्रष्टाचारविरोधीलाई पागल भन्छन् भने हामी त्यस्तै पागल हौं,' उनले भने, 'हाम्रो पागलपनले जनतालाई होइन, तिनै माफियालाई  नोक्सान पुर्‍याउनेछ।'

'सोलिडारिटी फर डा. केसी अलायन्स' ले आयोजना गरेको प्रदर्शनमा उनीजस्ता हजारौं शनिबार बिहान माइतीघरमण्डलमा जम्मा भएर संसद् भवन जान नयाँबानेश्वरतर्फ लागे। डा. केसीको समर्थनमा लेखिएका नारासहितका प्लेकार्ड बोकेर उनीहरूले सडक घन्काए। उनीहरूले 'आइएम विथ डा. केसी', 'हो, हामी पागल हौं! भ्रष्टाचारको जरो उखेल्न चाहने पागल!',  'लोकतन्त्र कि लुटतन्त्र?' जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

ठूलो संख्यामा रहेको भिडको अनुशासन र संयमताले सबैको मन जितेको थियो। सडकमा सवारी अवरोध नगरी गन्तव्यतर्फ बढिरहेका उनीहरूलाई सडकछेउ उभिएकाले समेत ताली बजाएर स्वागत गरेका थिए।

'यी संयमित र अनुशासित पागल हुन्,' सडकपेटीमा हिँड्दै गरेका नयाँबानेश्वरका नवराज खड्काले जुलुस नियाल्दै भने, 'यिनलाई असंयमित बन्न बाध्य नपारियोस्।'

प्रकाशित: ९ श्रावण २०७३ ०१:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App