coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सरकारी आवासमा बसेर निजी क्लिनिक सञ्चालन

जनकपुर-जनकपुर अञ्चल अस्पतालका पूर्व निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.प्रमोद यादव यहाँबाट ओखलढुंगा सरुवा भएको दुई महिनाभन्दा बढी समय बितिसक्यो। उनले जनकपुर अञ्चल अस्पतालमा त्यसबेला लिएको सुविधासम्पन्न आवास भने अझै खाली गरेका छैनन्।

कागजी रुपमा उनी ओखलढुंगा अस्पतालमा कार्यरत रहेपनि अधिकांस समय जनकपुरमै बसेर आफ्नो निजी क्लिनिक सञ्चालन गरिरहेका छन्।

‘यहाँ (जनकपुर अञ्चल अस्पताल) बाट दुई महिना अगावै सरुवा गराएर गएपनि प्रमोद डाक्टरसावले अस्पतालमा लिनुभएको आवास छोड्नु भएको छैन’ अञ्चल अस्पतालकै एक कर्मचारीले नागरिकसँग भने, ‘महिनाको करिब तीन हप्ता यसै आवासमा बसेर निजी क्लिनिकमा बिरामी जाँचिरहनु भएको छ।’ यादवले जनकपुरमा अञ्चल अस्पतालकै अगाडी ५० मिटरको दुरीमा दुई वटा निजी क्लिनिक सञ्चालन गरिरहेका छन् । 

अञ्चल अस्पतालमा बालरोग विशेषज्ञको रुपमा कार्यरत डा.बलराम मिश्राले पनि सुविधा सम्पन्न सरकारी आवासलाई निजी गोदामको रुपमा प्रयोग गरिरहेका छन् । करिब तीन वर्ष अगाडी निमित्त मेसु भएको बेला मिश्राले प्रयोग गरिरहेको सुविधा सम्पन्न आवास अहिले दुरुपयोग भइरहेको छ ।

दुई वर्ष अगाडी वीरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा सरुवा भएपछि निजी गोदामको रुपमा प्रयोग गर्न थालेको उक्त आवासमा भौतिक रुपले नबसेपनि आफ्नै कब्जामा राखेको अस्पतालका कर्मचारीले जनाए ।

‘मिश्रा डाक्टरसावले वर्षौदेखि प्रयोग गर्दै आउनुभएको आवास उहाँ वीरगंज सरुवा भएर गएपनि खाली गर्नु भएन’ ती कर्मचारीले भने, ‘केही महिना अगाडी फर्केर अञ्चल अस्पतालमै आएपछि हालसालै अस्पताल पछाडी बनाएको निजी घरमा बस्न थाल्नु भयो । तर, सरकारी आवास फिर्ता गर्नु भएन।’ अहिले पनि उक्त आवासको तालासाँचो मिश्राले आफ्नै नियन्त्रणमा राखिरहेको उनले बताए।

अस्पतालको आकस्मिक सेवामा चौबिसै घण्टा हाजिर हुनुपर्ने डाक्टर तथा बाहिरबाट आउने कन्सल्टेन्ट डाक्टरकालागि निर्माण गरिएको आवास (डाक्टर क्वार्टर) को व्यापक दुरुपयोग भइरहेको छ। बोलाउने बित्तिकै आउनुपर्ने (अन कल) डाक्टरको लागि अस्पताल परिसरभित्रै आवास व्यवस्था हुनुपर्ने नियम छ। तर, उक्त नियमको धज्जी उडाउँदै राजनीतिक पहुँच तथा भनसुनको आधारमा आवासको दुरुपयोग भइरहेको छ।

इमर्जेन्सी ड्यूटी निर्वाह गर्ने आवश्यक चिकित्सक आवास अभावको कारण बाहिर बस्नुपर्ने बाध्यता छ भने अस्पतालको प्रशासन फांटका कर्मचारी, नर्स तथा अन्य पहुँचवाला डाक्टरले सरकारी आवास ओगटेका छन्। आवास अभावकै कारण अस्पताललाई आवश्यक डाक्टर उपलब्ध हुन सकिरहेको छैन।

अस्पतालमा मानसिक रोग सम्बन्धी बिरामी दैनिक दुई दर्जन भन्दा बढी आउँछन् । मानसिक रोग विशेषज्ञ डाक्टरको दरबन्दी छ, तर, उपलब्ध भइरहेको छैन । दुई वर्ष अगाडी बलराम मिश्रा निमित्त मेसु भएको बेला मानसिक रोग विशेषज्ञ डाक्टर सुनिल साह आएका थिए । कन्सल्टेन्ट डाक्टरको रुपमा आएका साहले अस्पताल परिसर भित्रै आवास सुविधा मागेपनि नपाएपछि केही दिनमै भरतपुर सरुवा गराइसके । जबकी, कन्सल्टेन्ट डाक्टरका लागि चार वटा सुविधासम्पन्न आवास उपलब्ध रहेपनि तीन वटा दुरुपयोग भइरहेको छ । अन्य आवासहरुमा पनि नियम विपरित कर्मचारी, अहेव तथा नर्सिङ कलेजका कर्मचारीहरुले ओगटेका छन् ।

अस्पताल विकास समितिका अध्यक्ष डा.नागेन्द्रप्रसाद यादव स्वंय पनि सरकारी आवासको दुरुपयोग गरिरहेको कर्मचारीले बताए । अस्पतालसँग टाँसिएरै निजी घर भएपनि उनले ‘अनकल’ डाक्टरको लागि निर्माण गरिएको सरकारी आवास ओगटेको कर्मचारी आरोप छ। 

प्रकाशित: ८ श्रावण २०७३ १३:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App