अठार वर्षअघि सिन्धुलीका भक्तिप्रसाद फुयाँल एउटा म्यागेजिन हेर्दै थिए। त्यसको पत्रमित्रता स्तम्भमा उनको आँखा पर्यो। दाङकी पार्वती आचार्यको नाममा उनका आँखा अडिए। फुयाँलले पार्वतीलाई चिठी लेख्न थाले।
भक्तिप्रसाद र पार्वतीबीच पत्र आदान–प्रदान हुन थाले। पत्र मित्रबाट उनीहरू एक–अर्कालाई नदेख्दै प्रेमी–प्रेमिका बने। पत्रमित्र बनेको दुई वर्षपछि ०५७ सालमा भक्तिप्रसाद पार्वतीलाई भेट्न दाङ पुगे। भेटघाटले उनीहरूको प्रेम झांगिँदै गयो।
टाढा भए पनि भक्तिप्रसाद दुई महिनाको अन्तरालमा पार्वतीलाई भेट्न दाङ पुग्थे। मित्रता बढ्दै गएपछि ०५८ मंसिरमा भक्तिप्रसादले पार्वतीलाई बिहेको प्रस्ताव राखे। दुवै परिवार सहमत भएपछि उनीहरू वैवाहिक बन्धनमा बाँधिए।
पत्रमित्रताबाट उनीहरूको विवाह भएको १६ वर्ष भइसक्यो। हाल अमेरिकामा बस्ने उनीहरू अहिले भने नेपालमा रहेका आफन्तसँग सामाजिक सञ्जालमार्फत जोडिएका छन्। पहिले पत्रमित्रताका माध्यमबाट एकआपसमा जोडिएका उनीहरू अहिले परिवारसँग भने इन्टरनेटमार्फत जोडिएका छन्।
फुयाँल र आचार्यका बेला प्रेम व्यक्त गर्ने माध्यम थियो, पत्र। उसबेला अहिले जस्तो न मोबाइल थियो, न त टेलिफोन नै सर्वसुलभ। इमेल र सामाजिक सञ्जाल हुने कुरै भएन।
पत्र नै मुख्य माध्यम भएकाले विभिन्न म्यागेजिनमा पत्रमित्रता स्तम्भ चर्चित थिए। कतिपयमा फोटोसहित पत्रमित्रता गर्न चाहनेका विवरण छापिन्थे। रेडियोमा समेत पत्रमित्रतासम्बन्धी कार्यक्रम चल्थे।
प्रविधिले अहिले पत्रमित्र स्तम्भलाई समाप्त पारिदिएको छ। त्यसको ठाउँ लिएका छन्, अहिलेका सामाजिक सञ्जालले। फेसबुक, टि्वटर, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालबाट जोडिएर दाम्पत्य जीवनमा बाँधिनेहरू समेत बढ्न थालेका छन्।
अर्घाखाँचीका दिनेश पोख्रेल र प्युठानकी मेनुका थापाबीच तीन वर्षअघि फेसबुकमार्फत चिनजान भयो। फेसबुक च्याट, मोबाइलमा कुराकानी हुँदै उनीहरूबीच भेटघाट हुन थाल्यो। फेसबुकबाट सुरु भएको उनीहरूको सम्बन्ध प्रेममा परिणत भयो। तीन वर्षपछि हालै मेनुका र दिनेशले विवाह गरेका छन्।
करिब डेढ दशक अघिसम्म पत्रमित्रताको चलन थियो। नेपालमा मोबाइल सेवाको विस्तार हुन थालेपछि त्यसमा कमी आउँदै गयो। इमेलको प्रयोग बढ्न थालेपछि याहु म्यासेन्जर लगायतबाट सम्पर्क भई साथी हुने संख्या बढ्यो। अहिले भने सामाजिक सञ्जालले त्यसलाई समेत विस्थापित गरिदिएको छ।
नेपालमा मात्र ८० लाखभन्दा बढी फेसबुक प्रयोगकर्ता रहेको अनुमान छ। फेसबुक प्रयोगकर्तामध्ये कतिपयले नचिनेकालाई पनि साथी बनाउने गर्छन्। उनीहरूबीचको मित्रता प्रेममा परिणत हुँदै विवाहसम्म पुगेका धेरै उदाहरण छन्।
सामाजिक सञ्जालको प्रयोग बढ्दै जाँदा पत्रमित्रताका कथा नयाँ पुस्ताका लागि अनौठा भइसकेका छन्। एकादेशको कथाजस्तै भइसकेको छ। त्रिभुवन विश्वविद्यालयका आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागका उपप्रध्यापक ऋषिकेश दाहाल पत्रमित्रता र एकअर्कासँग चिनजान गराउने पुराना माध्यमको ठाउँ अहिलेका सामाजिक सञ्चालले ओगटेको बताउँछन्। 'सामाजिक सञ्चालले समाजलाई छिटो र सजिलो बनाएको छ,' उनले भने, 'सरल र सजिलो माध्यमले पुराना माध्यम विस्थापित गर्नु स्वाभाविक हो, सामाजिक सञ्जालले सम्बन्धलाई फास्ट फुडजस्तै बनाएको छ।'
उनका अनुसार पहिले पत्रमित्रताका माध्यम बनेका रेडियो, पत्रपत्रिका, टेलिभिजनको स्थान अहिले फेसबुक, टि्वटर, युट्युब, इन्स्टाग्रामले खोसेका छन्।
प्रकाशित: ३० असार २०७४ ०७:०६ शुक्रबार