५ वैशाख २०८१ बुधबार
अन्य

ट्राफिकसँग जिस्कन मनपर्छ : पूजा शर्मा

तपाईंलाई मनपर्ने सहर कुन हो?

मलाई नेपालका सहरमा पोखरा मन पर्छ। विदेशमा चाहिँ सुनेको तथा भिडियो र फोटो हेरेर स्विट्जरल्यान्ड असाध्यै मन परेको छ। म अहिलेसम्म त्यहाँ गएकी छैन। चाँडै नै घुम्ने धोको छ।

पोखरामा भने धेरैपल्ट गएँ। पोखरा सफा–सुग्घर छ, त्यसैले मन परेको हो। नेपालका अरु सहर त्यति राम्रा र व्यवस्थित छैनन्। सहर नभए पनि नेपालभित्र मनपर्ने अर्को स्थान मुस्ताङ हो। कागबेनी जति घुमे पनि अघाउँदिनँ। 

अहिलेसम्म डेटिङ गर्न पाएकी छैन। प्लस टुमा पढाइमै ध्यान भयो। त्यसपछि फिल्ममै व्यस्त छु, लभ र डेटिङतिर ध्यानै छैन।

पछिल्लो समय घुमेको सहर कुन हो?

म केही समयअघि थाइल्यान्डको बैंकक गएकी थिएँ। एकसाता त्यहाँ घुमेर आएँ। अब केही दिनमा नयाँ फिल्म लिएर जापान जाने सुरमा छु।

तपाईंको सपनाको सहर कस्तो हुनुपर्छ?

सहर भन्नेबित्तिकै हाम्रो दिमागमा सफा र सुग्घर स्थानको छाप पर्छ। म पनि सहर त्यस्तै होस् भन्ने चाहन्छु। सहरमा बस्नेलाई सबैखाले सुविधा मिलोस्। सहरमा चिल्लो सडक, व्यवस्थित सार्वजनिक यातायात, पार्किङ र प्रशस्त घुम्ने ठाउँ हुनुपर्छ। सहरका सुविधा सबैको पहुँचमा पुग्नुपर्छ। हाम्रा सहरमा यी सबै सुविधा छैनन्। काठमाडौं दिक्कलाग्दो बनेको छ। सरकारले यसलाई चाँडै नै व्यवस्थित गरोस्।

काठमाडौंको मनपर्ने पक्ष के हो?

उपत्यकाको मनपर्ने पक्ष यहाँका मठ–मन्दिर हुन्। यहाँको रमाइलो लाग्ने अर्को पक्ष हो, ट्राफिक। कहिलेकाहीँ यात्रा गर्दा ट्राफिक दाइदिदीसँग जिस्किन मनपर्छ।

ट्राफिकसँग जिस्कँदा कारबाहीमा पर्नुभएन?

एकाध कारबाहीमा परेकी छु। म ट्राफिकको अवस्था र ठाउँ हेरेर जिस्कन्छु। कहिलेकाहीँ लाइसेन्स र बिलबुक साथमा हुँदा पनि छैन भनेर ढाँटिदिन्छु। मापसे नगरेका बेला पनि मापसे गरेको छु भनेर जिस्काउँछु। एकैछिन भनाभन भएपछि बल्ल लाइसेन्स देखाउँछु । यसरी जिस्केर स्कुटी चलाउँदा धेरैले चिन्नुभएको पनि छ। तर, जानीजानी दुर्घटना नै गरी ट्राफिकको काममा अवरोध गरेकी छैन।

सहरको मनपर्ने खानेकुरा के हो?

मलाई नेवारी खाजा र खाना एकदमै मनपर्छ। फुर्सद हुँदा कहिलेकाहीँ नेवार साथीकहाँ गएर खाजा पनि खाने गर्छु। पिरो खानेकुरा अति नै मनपर्छ। साथीसँग जम्मा हुँदा बढी पिरो खानेकुरा खान्छौँ। फुर्सदका बेला रेस्टुरेन्टमा गएर खाजा पनि खाने बानी छ।

अन्य मुलुकका र यहाँका सहरमा के भिन्नता छ?

जति नै नराम्रो भए पनि मलाई काठमाडौं नै मनपर्छ। म अरु देशका सहरमा गएर त्यति धेरै दिन अडिन सक्दिनँ। अहिलेसम्म ६ देशका सहर घुमेँ। नेपालका जस्ता रमाइलो र मौलिक सहर भेटिनँ। काठमाडौं थोरै प्रदूषित भए पनि अन्य कुरामा धेरै राम्रो छ। खासगरी विदेशमा एकअर्कासँग रमाइलो गर्ने र घुम्ने परम्परा एकदमै कम छ। हामी सकेसम्म रमाइलो नै गछर्ौं।

नेपालका सहरको राम्रो लाग्ने पक्ष के हो?

यहाँको मौलिक संस्कृति र सहरैपिच्छे फरकपना एकदमै राम्रो लाग्छ। प्राकृतिक सौन्दर्यदेखि मौलिक संस्कृतिसम्म हाम्रा सहरमा पाइन्छ। यहाँका घुम्न त्यति डर पनि हुँदैन। सहरमा खुलेरै घुम्न पाइन्छ।

सहरलाई व्यवस्थित पार्न के गर्नुपर्ला?

अहिलेको उपत्यकाको अवस्था हेर्दा सरकारले विकास निर्माणलाई तीव्रता दिन जरुरी देखिन्छ। अहिले भइरहेका कामलाई छिटै पूर्णता दिने हो भने उपत्यका राम्रो हुन्छ। उपत्यकाको सरसफाइ, बाटोघाटो, व्यवस्थित पार्क, ट्राफिक व्यवस्थापन, धँुवाधुलो रोकथाम लगायत विषयलाई केन्द्रमा राखेर काम गर्ने हो भने समस्या तुरुन्तै समाधान हुन सक्छ।

युवायुवती सहरमा घुम्ने ठाउँ भएन भन्ने गुनासो गर्छन्, तपाईंलाई कस्तो लाग्छ?

उपत्यकामा त्यति धेरै घुम्ने ठाउँ छैन, यो यथार्थ हो। घुम्न जान्ने हो भने धेरै ठाउँ छन्।  ती ठाउँमा आफू घुलमिल पनि हुनुपर्छ। खुला ठाउँमा डेटिङ जाने र लाजै पचाएर माया पोख्ने ठाउँ चाहिँदैन, यो आवश्यक पनि छैन।

कसैसँग डेटिङ जानुपर्‍यो भने तपार्इंले कुन ठाउँ रोज्नुहुन्छ?

म नजिकैका चउर र पार्कलाई रोज्छु। युएन पार्क र पाटन दरबार क्षेत्र घुम्न रमाइलो लाग्ने भएकाले ती ठाउँलाई नै रोजाइमा पार्छु। अहिलेसम्म डेटिङ गर्न पाएकी छैन। प्लस टुमा पढाइमै ध्यान भयो। त्यसपछि फिल्ममै व्यस्त छु, लभ र डेटिङतिर ध्यानै छैन।

प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: २ श्रावण २०७४ ०६:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App