coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

धराप थाप्ने सरकार

एउटा कोठामा झंकनाथ टोलाइरहेका थिए, अर्कोमा बेहोस थिइन्, उनकी श्रीमती। छोरा विजयलाई भने काका सीतारामले अँगालो हालेर बसेका थिए।

आइतबार बिहान साढे ११ बजेतिर तारकेश्वर नगरपालिका– १३ नेपालटारस्थित झंकनाथ फुयाँलको घर पुग्दाको दृश्य हो यो।

राजधानीको सडकमा वर्षाको भेलले बगाएर १० वर्षीय छोरी गुमाएका झंकनाथको टोलाइ र मौनतामा पुत्री वियोगको पीडा मात्र होइन, सरकारप्रति आक्रोश समेत थियो।

गत शुक्रबार अपराह्न वर्षाको भेलले बगाएर मृत्यु भएकी १० वर्षीया विनिताका बाबु हुन्, झंकनाथ। आइतबार नेपालटार पुग्दा झंकनाथ, उनकी श्रीमती र आफन्त मात्र होइन, पूरै टोल शोकमग्न थियो। बेहोस झंकनाथकी श्रीमती घरीघरी निद्राबाट ब्युँझिएझैँ उठेर एउटै शब्द दोहोर्‍याइरहेकी थिइन्, 'मेरी छोरी।'

राजधानीको सडकमा वर्षाको भेलले बगाएर १० वर्षीया छोरी गुमाएका झंकनाथको टोलाइ र मौनतामा पुत्री वियोगको पीडा मात्र होइन, सरकारप्रति आक्रोश समेत थियो।

‘हाम्रो परिवार खुसी थियो,’ भावविह्वल हुँदै झंकनाथले भने, ‘अपराधी सरकारले हाम्रो खुसी खोस्यो।’

आफ्नी छोरी बग्नुमा झंकनाथले सरकारलाई दोषी देखेका छन्। व्यवस्थित ढल भएको भए आफूले मुटुको टुक्रा जस्ती छोरी गुमाउनुनपर्ने उनको भनाइ छ। हुन पनि विनिता नालीमा परेको ठाउँ नियाल्दा सरकारकै कारणले उनको ज्यान गएको प्रस्टै देखिन्छ।

जीवनमा यस्तो वज्रपात पर्ला भन्ने मिठाई पसल गर्ने झंकनाथले कहिल्यै सोचेका थिएनन्। दुई वर्षअघिको भूकम्पबाट समेत सकुशल रहेको उनको परिवारले सरकारनिर्मित धरापबाट यस्तो विपत्ति बेहोर्नुपर्ला भन्ने सोचेकै थिएन।

यसरी भयो घटना

शुक्रबार अपराह्न झरी रोकिएपछि विनिता पसलबाट घर जाँदै थिइन्। झंकनाथको मिठाई पसल र घर करिब आधा किलोमिटर दूरीमा छ। सडक भताभुंग छ। यो सडक बिग्रिएको वर्षौं भइसक्यो। सडक किनारको नाली खुला छ। झरी रोकिए पनि सडकमा भेल बगिरहेको थियो। भेलबाटै बाटो पहिल्याउँदै हिँडेकी विनिताले सडकछेउको नाली देखिनन्।

उनी चिप्लिएर नालीमा खसिन्। ह्युम पाइपभित्र छिरेकी विनिता करिब सात सय मिटर परको महादेव खोलामा पुगिन्। खोलाले बालिका बगाएको देखेपछि स्थानीयले होहल्ला गरे। खोला किनारामा भीड जम्मा भयो। तर, कसैले उनलाई उद्धार गर्न सकेन।

कसैले प्रहरीलाई खबर गरिदियो। विनिदा बग्दै गइन् खोलामा। उनी सेरामी खोला, विष्णुमती हुँदै चौमती खोला पुगिसकेकी थिइन्। करिब साढे तीन किलोमिटर तल चौमती खोला पुगेपछि उनलाई प्रहरीले जीवितै उद्धार गर्‍यो। उनी खोलामा बगेको करिब एक घन्टा भइसकेको थियो। उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुर्‍याइएकी उनलाई साँझ साढे ६ बजे अस्पतालले मृत घोषणा गर्‍यो।

आँखा-कान नभएको सरकार

विनिता खसेको नाली बिग्रिएको वर्षौं हुँदा समेत सरकारले मर्मतमा चासो दिएन। गत वर्ष विनिता खसेकै स्थानमा एक २० वर्षीय युवक खसेका थिए। उनलाई एक सय मिटर बगाएपछि उद्धार गरिएको थियो। वर्षाको भेलमा यो स्थानमा धेरैपटक सामुदायिक कुकुरलाई बगाएको धेरैले देखेका छन्। तर, सरकारले न नाली र सडकको मर्मतलाई आवश्यक ठान्यो, न त स्थानीयले नै सरकारलाई दबाब दिए।

स्थानीय सरस्वती श्रेष्ठका अनुसार विनिता खसेको स्थानमा सानातिना दुर्घटना भइरहेका थिए। उनी सरकारको लापरबाहीले घटना भएको बताउँछिन्। ‘वर्षौंदेखि सरकारले ढल हालेन,’ श्रेष्ठले भनिन्, ‘ढल हालेको भए यस्तो हुने थिएन।’

कसले दिन्छ न्याय : परिवार

विनिताको परिवार र सिंगो नेपालटार अहिले शोकमा डुबेको छ। यो शोक अरु कसैले दिएको नभएर सरकारले दिएको विनिताका परिवार र नेपालटारवासी बताउँछन्। ‘हामीलाई यसरी शोकमा डुबाएको सरकारले हो,’ विनिताका काका सीतारामले भने, ‘हामीमाथि सरकारले अन्याय मात्र होइन, अपराध नै गरेको छ।’ सरकारकै कारण आफ्नी छोरी गुमाएको यो परिवारले न्यायको माग गरेको छ।

‘हाम्रो क्षतिलाई सरकारले कसै गरेर पनि पूर्ति गर्न सक्दैन,’ झंकनाथले भने, ‘न्याय त दिने भए ढललाई असरल्ल छोड्ने निकाय र व्यक्तिलाई कारबाही होस्।'

स्थानीयले राखे ह्युम पाइप

शुक्रबारको घटनापछि घटनास्थलमा स्थानीयले ह्युम पाइप हालेका छन्। यसले जोखिम केही कम गरेको छ। ‘तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराको घर यही वडामा छ,’ स्थानीय नवराज पुडासैनीले भने, ‘यत्रो घटना हुँदा पनि उनको उपस्थिति देखिएन।’ मेयर बोहोरा मात्रै होइन, कुनै जनप्रतिनिधिले पनि घटनाबारे चासो दिएका छैनन्। कसैले चासो नदिएपछि आफूहरूले नै ढल बनाएको स्थानीयले बताए। आइतबारसम्म तारकेश्वरका कुनै जनप्रतिनिधि सान्त्वना दिन झंकनाथका घरसम्म पुगेका छैनन्।

'घटनास्थलबाटै हिँडिरहेको छु, परिवार भेट्न गएको छैन'

रामेश्वर बोहोरा

प्रमुख, तारकेश्वर नगरपालिका

बालिका दुघर्टना परेको मेरो घर भएकै वडामा हो। नालीमा ढकनी नभएकाले दुघर्टना हुन पुग्यो। धेरै पहिलादेखि नै दुई सय मिटर नाली खुला थियो। हामीले त्यसलाई मध्यनजर गरेर चालू आर्थिक वर्षभित्रै सडक र नाली बनाउन बजेट पनि छुट्याएका थियौँ। दुःखको कुरा कामै नभई घटना भयो।

त्यसमा कमजोरी हाम्रो पनि छ। हामीले समयमै व्यवस्थापन गरेका थियौँ भने यस्तो हुने थिएन। हामी आएको डेढ महिना मात्र भएको छ। यसै आर्थिक वर्षमा ठेक्का दिएर काम गराउने योजना मात्रै बनाउन भ्याएका थियौँ।

म शनिबार बेलुका पनि घटनास्थलको बाटो हुँदै घर फर्कें। आइतबार पनि सोही सडक हुँदै कार्यालय आएँ। तर, बालिकाको परिवार भने भेट्न गएको छैन। अहिले शोकमा रहेका कारण एक–दुई दिनपछि भेट्न जाने योजनामा छु। स्थानीय तहले गर्नुपर्ने केही रहन्छ भने गर्न तयार छौँ। सडक र नाली पनि चाँडै ठेक्का लगाएर निर्माण गर्ने प्रतिबद्धता गर्दछु।

प्रकाशित: २ श्रावण २०७४ ०४:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App