७ वैशाख २०८१ शुक्रबार
समाज

कमिसन बुझाएर विपन्नको सुविधा 'झ्वाम' पार्दै

नः सुनौला हजार दिन कार्यक्रमको सुविधा नपाएको गुनासो गर्दै सितापुरका लक्षित बिपन्न समुदाय । तस्बिर: मिथिलेश यादव

सित्तापुर(सिरहा)–विपन्न समुदायका महिला र बालबालिका लक्षित पोषण आयोजना ‘सुनौला हजार दिन’ को कार्यविधि लत्याउँदै कार्यक्रम संचालित गाउँ वस्तीमा गैरविपन्न परिवारलाई सुविधा बाँडेको पाइएको छ। विपन्न, दलित र सीमान्तकृत समुदायका गर्भवती, गर्भवती हुन चाहना राख्ने महिला र दुई वर्ष मुनिका बच्चालाई कार्यविधिले लाभग्राही मानेको छ।

 पोषणको सुविधा पाउने गाभग्राही यही समुदायबाट हुनुपर्ने हो। तर, सिरहाको सिसापुर गाउँमा लक्षित वर्गलाई सुविधाबाट पाखा लगाएर दुई चार जना पहुँचवालाई हाँसको चल्ला बाँडेर बाँकी रकम ‘झ्वाम’ पारिएको पाइएको छ ।

सिरहाको दक्षिणवत्र्ती सितापुर गाविस–९ का धनपैत यादव यो कार्यक्रमको लक्षित सुमदायमा पर्दैनन्। तर यो वडामा एक महिना अगाडि बितरण गरिएको हाँसको बच्चा उनले पनि पाए। ‘मैले पनि हाँसको चल्ला पाएको थिएँ,’ यादवले भने,‘त्यो बच्चा दुई चार दिन पनि बाँचेन, मरिहाल्यो।’    धनपैतले हाँसको बच्चा पाएपनि लक्षित समुदाय यो सुविधाबाट बञ्चित छन्।

यो वडामा सदाय(मुसहर) समुदायको बाक्लो बसोवास छ। आर्थिक रुपले विपन्न अधिकतर सदाय ऐलानी जग्गामा छाप्रो बनाएर बसेका छन्। दिनभर जमिन्दारको खेतमा काम गरेर आर्जन गरेको अन्न र पैसाले गुजारा चलाउँछन् उनीहरु। अनपढ यी समुदायका महिला कलिलो उमेरमै (१८ वर्ष) आमा बनेकी छन्। पोषिलो खानपान र सन्तुलित आहारका कारण अधिकतर महिलामा विभिन्न खाले स्वास्थ्य समस्या रहेको सितापुर स्वास्थ्य केन्द्रको तथ्याँक छ।

यही वस्तीका सुनिता सदाय गर्भवती छिन्। उनको छ महिनाको गर्भ छ।। गर्भवती हुँदा पनि दिनभर मजदुरी गर्नुपर्ने बाध्यता छ उनीसँग। वस्तीमा हाँसको बच्चा बितरण भएपनि आफूले नपाएको उनले बताइन्। सुनौला हजार दिन कार्यक्रमको लाभग्राहीमा आफ्नो नाम पनि उल्लेख गरिएको बताउँदै उनले भनिन्,‘सुविधा पाउनेमा नाम राखेपनि सुविधा दिएन।’

गर्भवती उनको शीररमा रगतको कमीले आँखाको ज्योति पनि कमजो भएको छ। सितापुर स्वास्थ्य चौकीमा जचाँउन जाँदा पुर्जामा औषधि लेखिदिए तर त्यो औषधि किन्न चाहिने रकम जुटाउन नसक्दा उनी औषधि किन्न सकेकी छैनन्। ‘चौकीमा आयरन चक्की निःशुल्क पाउँछ सुनेकी थिएँ तर, त्यो पनि पाइन,’ उनले भनिन्। 

आयरन चक्की माग्दा सकिएको भन्दै चौकीले फर्काउने गरेको उनको गुनासो छ। ‘चौकीले दिँदैन आफूसँग औषधि किन्ने पैसा छैन के गर्ने ?,’ उनले गुनासो गरिन्।  नुन भातको भरमा गर्भमा बच्चा हुर्काइरहेकी उनी शारीरिक रुपमा निकै कमजोर महसुस गरिरहेको सुनाइन।

यो वडाका करिब २५ घरधुरी सदाय समुदाय यो सुविधाबाट बञ्चित भएको स्थानीय महेन्द्र सदायले जानकारी दिए। ‘हाम्रो नाममा आएको सुविधा पहुँचवालाले पाए,’ उनले भने, ‘हामी हेर्या हेर्यै भयौं ।’ सदाय वस्तीका गर्भवती महिला र दुई वर्ष मुनिका बच्चा यो सुविधाको लाभबाट बञ्चित हुनुमा कोच दोषी रहेको महेन्द्रले बताए ।

‘कार्यक्रम वितरण गर्दा गाउँका पहुँचवाला सम्पन्न समुदायका मानिसलाई सोधखोज गरिन्छ तर हामीलाई कसैले पुछ्दैन,’ उनले सुनाए ।
यही वडाका ललिता सदायले पनि सुनौला हजार दिन कार्यक्रमको सुविधा नपाएको सुनाइन्। छ महिनाको काखे बच्चा र उनको नाम लाभग्राहीमा राखिएको छ। सुविधा पाएको भर्पाइमा सहिछाप पनि गराए। तर सुविधाको नाममा हात लाग्यो शून्य! उनी भन्छिन्, ‘हामी अनपढसँग कागजमा छाप लगाएर लग्यो तर सुबिधा दिएन ।

सिरहाकै दक्षिणवर्ती गाउँ हो पोखरभिण्डा। यहाँ पनि सुनौला हजार दिन कार्यक्रम संचालनमा छ । तर यो कार्यक्रमको लाभ लक्षित सुमदायले उपभोग गर्न नपाएको गुनासो छ । यहाँ लक्षित समुदायलाई सुविधा वितरण नै नगरी गाविसबाट मुल्याङकन गराएर कार्यक्रम सम्पन्न भइसकेको कागज जिल्ला विकासबाट स्विकृत गराइएको छ। कार्यक्रम सम्पन्न नै नगरी कमिसनको भरमा बजेट फर्छौयट गरिसकेको स्थानीय बताउँछन्।

कोचको मनपरीमा जिविसको धाप
आयोजनाको कार्यविधि अनुसार वडामा कार्यक्रम संचालन गर्ने कार्य लक्ष्य टोलीलाई दिएको छ। जिविसबाट गाविसको खातामा आउने रकम सिधै लक्ष्य टोलीको खातामा जान्छ। लक्ष्य टोलीका अध्यक्ष र कोषाध्यक्षको हस्ताक्षरमा रकम खाताबाट निस्किन्छ। वडाको कार्यक्रम लक्ष्य टोलीले संचालन गर्ने कार्यविधिमा उल्लेख भएपनि यसो भएको पाइँदैन्। लक्षित समुदायलाई कार्यक्रमको लाभबाट बञ्चित गराउँदै सुविधा पाएको कागज जिविसमा पेश गरेर पास गराउँदै थप बजेट निकासा प्राप्त गर्छन्। जिविससँग कोचले ‘सेटिंग’ मिलाएर कागजमा लक्षित समुदायलाई सुविधा बितरण हुँदै आएको पाइएको छ ।

हरकट्टी गाउँमा गत वर्ष सुनौला हजार दिनको कार्यक्रमको बजेट गैर पोषण कार्यक्रम चर्पी निर्माणमा हालियो। लक्षित घरधुरीमा चर्पी निर्माण कार्य सम्पन्न नहुँदै गाविसका प्राविधिक सहायकको मुल्यांकनको भरमा जिविसले अर्को किस्ता रकम निकासा दियो।    सितापुर गाउँमा पनि यस्तै भएको छ। लक्षित समुदायलाई सुविधाबाट बञ्चित गराएर कागजमा सुविधा बाँडिएको रिपोर्ट जिविसमा बुझाइएको छ। गाविसका प्राविधिक साहायकले गरिदिएको फर्जी मुल्यांकनको भरमा जिविसले अर्को निकासा दिएको पाइएको छ।
 

कोचको मनपरी

पोखरभिन्डा गाउँमा त लक्ष्य टोलीको काम चेकमा हस्ताक्षर गर्ने बाहेक केही नभएको पाइयो। वडामा कार्यक्रमका लागि कति रकम आयो, कति खर्च भयो केही थाहा छैन लक्ष्य टोलीलाई। वडा नम्बर–५ कि लक्ष्य टोली संयोजक गिता बर्मा भन्छिन्,‘कोचले ल्याएको चेकमा हस्ताक्षर गर्ने बाहेक हाम्रो कुनै काम नै छैन्।’

कार्यक्रम कार्यविधि अनुसार सय दिने कार्यक्रमका लागि २७ लाख बजेट विनियोजन हुन्छ। जसमा ९ वडामा ३ लाखको दरले रकम बाँडिन्छ । प्रथम किस्ता स्वरुप ८ लाख १० हजार रकम निकास हुन्छ। यो रकमलाई ९ वडामा भाग लगाउँदा एक वडामा ९० हजार पर्छ । यसमध्ये २० देखि २५ हजार कोचले कार्यक्रम संचालन खर्च भनेर राख्छन्।

बाँकी रकम कार्यक्रम अनुरुप लक्षित समूहका लागि भनेर खर्च गर्छन। पहिलो किस्ता स्वरुप कुल रकमको ३० प्रतिशत दोस्रो किस्ता ५० प्रतिशत र तेस्रो २० प्रतिशत गरी तीन किस्तामा सय दिने कार्यक्रमका लागि २७ लाख रकम जिविसले गाविसमार्फत लक्ष्य टोलीको खातामा रकम निकासा दिन्छ। तर किस्तै पिच्छे कमिसन वापत जिविसले गाविस पिच्छे २० प्रतिशत रकम कमिसन लिने गरेको एक लक्ष्य टोली संयोजकले खुलाए।

 यो कार्यक्रमको बजेटमा लक्षित समुदाय भन्दा कोच र जिविस कर्मचारीको रजाइँ भएको स्थानीय लक्षित समुदाय गुनासो गर्छन्। ‘यतिका दिन भयो कार्यक्रम संचालन भएको तर हामीसँग सुविधा पायौ कि पाएनौ भनेर सोध्न आएका छैनन्,’सितापुरका लक्षित महिला मुकुन्ती सदायले सुनाए।
   

प्रकाशित: ८ श्रावण २०७३ ०८:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App