८ वैशाख २०८१ शनिबार
अन्य

अनुहार

दिनमान गुर्मछान

एकाबिहानै घरको आँगनमा एउटा नवजात शिशु भेटियो। शिशु चिच्याइरहेको थियो। उसको आवाजले हाम्रो ध्यान तानेको थियो। त्यो आवाज पछ्याउँदै जाँदा आफ्नै आँगनमा पुगियो। अचम्म नवजात शिशु कोक्रोमा थियो। 

   'आम्मै! यो कसको बच्चा हो?' मेरी श्रीमती चिच्याइ।

   ऊ बच्चानजिक पुगिसकेकी थिई। म भने छक्क पर्दै यताउति हेर्न थालेँ। वरिपरि कोही देखिनँ।

   'यो कसको बच्चा हो?' उसले शिशु हातमा लिँदै फेरि चिच्याइ। तर, जवाफ कतैबाट आएन।

   एकाबिहानैको यो घटनाले छिमेकीलाई समेत ब्युँझायो। सबै हाम्रो घरको आँगनमा जम्मा भए। टीकाटिप्पणी गर्न थाले।

   'हेर, कुनचाहिँ आइमाइले लाज पचाइछे!'

   'कस्ती माया नभकी र'छ।'

   'कसको पाप बोकी होली!'

   'बाउचाहिँ पो कस्तो होला?'

   आँगनमा खलङबलङमात्र भइरह्यो। हेर्नेजतिले शिशुकी आमालाई गाली गरे। कतिपयले पहिचान नभएको बाबुलाई सत्तोसराप गरे। हुन त यसको आमा पो कसले चिनेको थियो र?

   कोक्रोमा बच्चाका केही लुगाफाटा पनि थिए। सानो सिरक, ओछ्यान। सबै धोइएका थिए। जसले गर्दा लाग्थ्यो शिशुलाई आमाले जतन गरेर यहाँ छाडेकी हो।

   अब बच्चा के गर्ने? कसको जिम्मा लगाउने भन्नेबारे गाइँगुइँ भयो। कोही भने अझै पनि आमालाई सरापिरहेका थिए।

   'यसको आमाले आपत् परेरै यहाँ छाडेकी हुन सक्छ। फेरि खोज्दै आई भने?'

   'खोज्न आइन भने त बाल आश्रममा बुझाइदिनुपर्छ।'

   'अहिलेको जमानामा अरुलाई बच्चा दिएर हुन्न। झन् बालआश्रममा त दिनै हुन्न। त्यहाँ दिएर के गर्ने? राम्रो हेरचाह हुँदैन।'

    'कि पुलिसचौकीमा बुझाउने?'

    'उहाँ आफै इन्स्पेक्टर हुनुहुन्छ। यो सबै उहाँकै जिम्मा दिऊँ।' भीडबाट कसैले मलाई इंगित गर्दै भन्यो। सबैको एउटै बोली आउन थाल्यो। श्रीमती मलाई हेर्दै थिई। मैले उसको राय इसारामै मागेँ। उसले पनि हुन्छ भन्ने जवाफ दिई।

   त्यसपछि छिमेकका सबै आआफ्ना घरतिर लागे। घरमा हामी बूढाबूढी र नवशिशु बाँकी रह्यौँ। 

   श्रीमतीले शिशुको स्याहार गर्न थाली। उसले शिशुको स्याहार गरेको हेर्न मलाई रमाइलो लाग्यो। बिहे गरेको सात वर्ष भइसक्दा पनि हाम्रो सन्तान भएको थिएन। त्यसैले यो घर बच्चा नभएको सुनसान घर थियो। अहिले भने बच्चा रोएको सुन्न पाउँदा मनमा अनौठो आनन्द आयो।

   श्रीमतीको अनुहारमा आएको उज्यालोले मेरो मन झनै प्रफुल्ल भयो। बच्चा हेर्दा निकै राम्रो थियो। सायद त्यही देखेर श्रीमती मख्ख थिई।

   अन्ततः शिशु हामीले नै पाल्ने भयौँ। शिशु घरमा आएदेखि श्रीमती खुसी थिई। ऊ दिनरात उसैको स्याहारमा लाग्थी। अब भने उसलाई पनि घरमा साथी भएको थियो।

∙∙

   'बाबा, मलाई चक्लेट ल्याइदिनु है!' घरबाट निस्किनेबेला सधैँ उसले भन्थ्यो। उसको तोतेबोलीमा कुन जादु थियो कुन्नि! जब उसले मलाई बाबा भनी बोलाउँथ्यो म एकोहोरिन्थे। उसका जादुमय तोतेबोलीमा लठ्ठ हुन्थेँ। र, हस् भन्दै म बाहिरिन्थेँ।

   हामी निःसन्तान बूढाबूढीको अब सन्तान थियो। उही आँगनमा भेटिएको शिशु। जुन अब हाम्रो आफ्नै रगतजस्तै भएको थियो।  

ऊ चार वर्षको भइसकेको थियो। हँसिलो अनि उज्यालो चेहराको। उसलाई देख्नेजति सबैले मेरै छोरा हो भन्ने बु‰थे। यसमा हामी दुवैलाई खुसी लाग्थ्यो। उसको चालढाल, हेराइ मेरोजस्तै थियो। साँझ–बिहानको मेरो संगतले प्रभाव परेको हुनुपर्छ।

   श्रीमती उसको हेरविचारमा कुनै कसर राख्दिनथी।

   'यी, बाबाको जस्तै।' एकदिन उसले आफ्नो दाहिने हातको पाखुरातिर देखाउँदै भन्यो। उसले कालोकोठी देखाएको रहेछ। ठ्याक्कै मेरो पनि दाहिने हातको पाखुरामा त्यही ठाउँमा कालोकोठी थियो।

   'हो, है!' बाबु–छोराले आआफ्नो कोठी जुधाएर हेर्‍यौँ। ऊ दंग पर्‍यो।

   उसको घाँटीमा पनि कोठी थियो। ठ्याक्कै मेरोजस्तै। उसलाई मैले देखाउन खोजेँ। उसले मेरो घाँटीको कोठी त देख्यो, तर आफ्नो देख्न सकेन। उसले टाउको निहुराउँदै बल गर्‍यो। अँहँ सकेन। अन्ततः मैले उसलाई ऐनासामु लगेँ। ऊ त्यो देखेर फेरि दंग थियो। म उसैलाई एकोहोरो हेरेर रमाउन थालेँ। उसको बालसुलभ व्यवहारले अफिसको थकान मेटिएको थियो। ऐनामा मलाई उसको अनुहार र मेरो अनुहार झण्डैझण्डै उस्तै लाग्यो। अनि मलाई मेरो बालापनको सम्झना आयो। सायद म सानामा यस्तै थिए हँुला।

∙∙

   छ महिनाका लागि जापान जानुपर्ने भयो। सुरक्षासम्बन्धी तालिमको सिलसिलामा। यो मेरो लागि राम्रो अवसर थियो। तर, छोरोलाई छाडेर जाने मन थिएन। श्रीमतीले धेरै सम्झाइबुझाइ गरेपछि बल्ल म मानेको थिएँ।

   छ महिना मेरा लागि कष्टले बिते। हरेक क्षण छोरोको सम्झना आइदिने।

   छ महिना सकेर जब म नेपालको एयरपोर्ट झरेँ, कुनबेला घर पुगौँ भयो। जापानमा सँगै तालिममा सहभागी एक मित्र एकसाताका लागि छुट्टीमा नेपाल आएको थियो। ऊ यो एकसाता मेरो घरमा बस्ने भएको थियो।

   घर पुग्नासाथ छोरोलाई देखेर मनमा आनन्द आयो।

   'तपाईंको छोरो तपाईंजस्तै छ।' जापानी मित्रले भन्यो।

   'आँखा र नाक त झन् दुरुस्तै तपाईकै!' उसले अझै तारिफ गर्न छाडेन। उसले छोरोको कपाल सुमसुम्यायो। छोरो मुसुक्क हाँसिदियो।

   यता हामी दुई लोग्ने–स्वास्नीचाहिँ हेराहेर गर्न थाल्यौँ। जापानी मित्रलाई हाम्रो धर्मपुत्र हो भन्ने थाहा थिएन। त्यहीमाथि अब हामीलाई ऊ धर्मपुत्र नभई आफ्नै सन्तान हो भन्ने भइसकेको थियो। तर, आँखा र नाक दुरुस्तै तपाईकोझैँ भन्दा अचम्म लाग्यो। अनि खुसी पनि लाग्यो।

   जापानी मित्र एकसाता बस्दा उसलाई घुमाउने जिम्मा मेरो थियो। म उसलाई दिनहुँ सहर घुमाउँथेँ। ऊ साँझ घर आउनासाथ मेरो छोरोसँग यहाँको ठाउँबारे कुरा गर्थ्याे। छोरो ऊसँग रत्तिएको थियो।

   'तपार्इंको छोरोको केही बानी तपाईंको जस्तै छ।' ऊ मलाई बेलाबेला भनिरहन्थ्यो।

   'ल हेर्नुस् ऊ तपाईंजस्तै हिँड्छ।' छोरो हिँडिरहेका बेला उसले मलाई देखाउँदै भन्थ्यो।

   'ऊ ठूलो भएर तपाईंजस्तै हुन्छ।'

   हिजोआज जापानी मित्रको कुराले अलमल्ल पर्ने गरेको छु। अनि छोरोमा मेरो गुन देखिँदा म त्यसै मख्ख पनि पर्दैछु। कसको बाबुले नचाहला र उसको छोरो ऊजस्तै होस् भनेर। मलाई मात्र होइन मेरी श्रीमतीलाई समेत यो कुराले खुसी बनाएको थियो।

   एकसातापछि जापानी मित्र फर्कियो। ऊ गएपछि म छोरोसँग खेल्दा वा छोरोको गतिविधि हेर्दा त्यो मित्रले भनेको सम्भि्कन्थेँ। कसैले त्यही कुरा दोहोर्‍याइदिए हुन्थ्यो झैँ लाग्थ्यो।

∙∙

   हेर्दाहेर्दै ऊ स्कुल जाने भयो। दिउँसो श्रीमती घरमा एक्लै हुन थाली। तर, यो समय ऊ घरको काम सकेर छोराको बाटो हेरेरै बस्थी।

   म अफिसमा व्यस्त रहन थालेँ। काम छाडेर छिटो घर पुग्न सक्तैनथेँ। तर, बेलाबेला छोरोको सम्झनाले तान्थ्यो। छुट्टी लिएर घर जाऊँजस्तो लाग्थ्यो।

   जब घर पुग्थेँ ऊ निदाइसकेको हुन्थ्यो। आफू ढिला पुगेकोमा पछुतो लाग्थ्यो। बिहान सबेरै उठेर ऊसँग खेलेर रमाउथेँ।

  एकदिन।

 'छिटो आउनुस्। म स्कुलमा छु।' फोन उठाउनासाथ श्रीमती रुँदै बोली। उसको काँपिरहेको आवाज र रुन्चे स्वरले म आत्तिएँ। म उभिएको धर्ती नै हल्लिएझैँ भयो।

   'ल ल।' फोन काटिदिएँ।

   हतारिँदै स्कुल पुगेँ। स्कुल पुग्दासम्म म भयको भुमरीमा अल्भि्कएर थकित भइसकेको थिएँ। श्रीमती सुँक्कसुँक्क गर्दै थिई।

   'के भयो?' पुग्नासाथ सोधेँ।

   'बाबु दिउँसो बेहोस भई ढलेको थियो। अहिले होस आइसक्यो।' प्रिन्सिपल मेरोसामु आएर बोले।

   डाक्टर बोलाएर सामान्य जाँच भइसकेको रहेछ। सामान्य उपचारपछि डाक्टर गइसकेका रहेछन्। त्यसैले डाक्टरले भनेका कुरा प्रिन्सिपल सुनाउँदै थिए।

   'बाबुलाई पहिले पनि यस्तो भएको थियो?' प्रिन्सिपलले सोधे।

   'थिएन, यो नै पहिलो पटक हो।' मैले जवाफ दिएँ।

   'एक पटक अस्पतालमा राम्ररी जाँच गराउनुहोला।' प्रिन्सिपलले सल्लाह दिए।

   छोरो निन्याउरो अनुहार लाएर बसेको थियो। उसले मलाई देखेर बोलायो। उसलाई बोकेँ। उसले मलाई गमलङ्ङ अँगाल्यो। श्रीमती मेरो नजिक रुन्चे अनुहार लगाएर उभिई।

   घर आएपछि श्रीमतीले छोरोलाई एकछिन छाडिन।

   भोलिपल्ट अस्पताल लिएर गयौँ। डाक्टरले भनेबमोजिम जाँच गरायौँ। जाँचमा सामान्य नै देखियो। डाक्टरले त्यस्तो केही नरहेको बताए।

   'त्यस्तो केही परे फेरि आउनुहोला। यो सामान्य नै हो।'

रिपोर्ट च्यापेर हामी घर फर्कियौँ।

   छोरो अचानक बेहोस भएको घटनाले हामीभित्र डर मडारिरहेको थियो। त्यसपछि हाम्रो चैन हराएको थियो। उसको रिपोर्ट हेरेँ। अचम्म उसको ब्लड ग्रुप पनि मसँग मिलेको रहेछ। यो झनै राम्रो कुरो थियो। म उसै मख्ख परेँ।

   श्रीमती उसलाई स्कुल पठाउन चाहन्नथी। फेरि स्कुलमा बेहोस होला भनेर ऊ डराउँथी। म भन्थेँ, 'बेहोस हुने नै रहेछ भने घरमा पनि हुन्छ नि! व्यर्थै आशंका गरेर बस्नु हुँदैन।'

    एकसातापछि मात्र उसले छोरोलाई स्कुल पठाइ।

∙∙

   डाक्टरले फलोअपमा बोलाएको थियो। दुईसातापछि छोरोलाई लिएर हामी फेरि अस्पताल गयौँ। डाक्टरले पुरानै रिपोर्ट हेरेर सोधे, 'तपाईंको ब्लड ग्रुप के हो?'

   डाक्टर मेरी श्रीमतीलाई सोध्दै थिए। श्रीमतीले भनी, 'ओ पोजेटिभ। तर, मेरो ब्लड ग्रुपको अहिले के आवश्यकता?'

   उसले बु‰न चाही। डाक्टरको यो प्रश्नले म पनि छक्क परेँ।

   'आमा र सन्तानको ब्लड ग्रुपका कारण पनि कहिलेकाहीँ यस्तो हुन सक्छ। त्यसैले तपाईंको ब्लड ग्रुप के हो भनी सोधेको।' डाक्टरले हामीलाई सम्झाउँदै भने।

   श्रीमती मलाई नै हेर्न थाली। हाम्रा आँखा जुधेका थिए। हामी के भनौँ, के नभनौँको दोसाँधमा थियौँ।

   डाक्टरसँग बिदा लिएर हामी फर्कियौँ। त्यस दिनदेखि श्रीमती चिन्तित देखिइ। उसले छोरोको झनै ख्याल राख्न थाली। आँखाबाटै ओझेल पर्न दिन्नथी।

   उसको चिन्तित अनुहार हेर्दै म सम्झाउन खोज्थेँ, 'धेरै चिन्ता नलिऊ। डाक्टरले बिस्तारै ठीक हुन्छ भनेकै छन्।'

   मेरो कुराले ऊ ढुक्कचाहिँ कहिल्यै भइन।

∙∙

   छोरो फेरि स्कुलमा बेहोस भएछ। श्रीमतीले अत्तालिँदै फोन गरी। ऊ अस्पताल पुगिसकेकी थिई। म हतारिँदै पुगेँ।

   असिनपसिन हुँदै अस्पताल पुग्दा छोरो होसमा आइसकेको थियो। श्रीमती राता आँखा लिएर बसेकी थिई। उसको सँुक्कसुँक्क आवाज मैले सुनेँ। अस्पतालको बेडमा लमतन्न अवस्थामा छोरोलाई देखेर दिक्क लाग्यो। जिउभरि कमिलाले एकैचोटि चिलेझैँ भयो।

   मेरा चिसा भइसकेका हात अनायासै छोरोको निधारमा पुगे। निधार छामेँ, तातो उम्लिरहेको थियो। छोरोले पिर्लिक्क मतिर हेर्‍यो। उसको हेराइमा मेरो उपस्थितिको खुसीको झलक थियो।

   डाक्टरले दुई दिन अस्पतालमै राख्न सल्लाह दिए। रोग पत्ता लागेन। बिस्तारै यो समस्या कम हुन्छ भनिदिए डाक्टरले।

   उनीहरूका लागि यो सजिलो सल्लाह थियो। हाम्रा लागि भने साह्रै अप्ठेरो! आफैलाई सम्झाउन पनि नसकिने। श्रीमतीलाई सम्झाउँदै घर फर्किएँ।

   बाटोभरि हामी केही बोल्न सकेनौँ। घर पुगेर श्रीमती छोरोको छेउमै बसिरही। उसले एकछिन छोड्न चाहिन। म घरी छोरोलाई हेर्थें, घरी श्रीमतीलाई।

    छिमेकीहरू आउँदै सोध्दै जान्थे। सबैमा उसैको चिन्ता देखिन्थ्यो।

    'तपाईंको सन्तान नभए पनि झण्डै तपाईंजस्तै देखिन्छ। यसको कम्ता माया लाग्दैन। आमाचाहिँ पो को होलिन्?' कोही खुसुक्क मलाई भनेर जान्थे।

    'यहाँ उपचार नभए, भारततिर पो लाने हो कि?' कोही सल्लाह दिन्थे।

    'डाक्टरले बिस्तारै कम हुन्छ भनेको छ।' म स्पष्टिकरण दिन्थेँ।

    रातभर ऊ छोरोसँगै टाँसिएर सुती। ऊ निदाउन नसकेर घरीघरी कोल्टे फेरेको म थाहा पाउथेँ। मलाई पनि राम्रो निद्रा लागेको थिएन। रातभर छोरोकै बारेमा सोचेर बित्यो। बिहान एक झपक भने निदाएछु।

   छोरो निदाइरहेको थियो। म ओछ्यानमै थिएँ। उसको निधार छामेँ, सुमसुम्याएँ। त्यसपछि बल्ल ओछ्यान छोडेँ।

   श्रीमती हातमा चिया लिएर आइपुगी। चियाबाट बाफ आइरहेको थियो। निद्रा नपुगेकोले पनि चिया पिउन हतार भयो।

    श्रीमतीका आँखा चिया पिउन्जेल पनि छोरोतिरै तेर्सिएका थिए। चिया सकेर बिस्तारै उठेर ऊ दराजतिर बढी। दराजको ढोका खोली। एकछिनपछि उसले हातमा एउटा खाम ल्याई। म उसैलाई हेरिहरको थिएँ। उसको यो क्रियाकलापले अलमलमा परेको थिएँ।

     'यो लिनुस्।' मलाई खाम दिँदै भनी।

    'के हो यो?' म बुझिरहेको थिइनँ यो के भइरहेको छ। मैले उसलाई हेरेँ।

    'आफै पढ्नुस्।' उसले भनी। यति भनेर ऊ छोरो भएतिर लागी।

    उसले दिएको खाम खोलेर हेरेँ। भित्र भएको कागजलाई जतनसाथ झिकेँ। पहेँला कागजमा बडो जतनगरी लेखिएका अक्षर थिए। त्यो अक्षरले नै तान्यो। यति सुन्दर अक्षर कसका होलान्? आफैलाई सोधेँ।

    र, पढ्न थालेँ।

    माफ गर्नुहोला।

   सम्बोधन के गरुँ भनी अलमलिएकी छु। बिनासम्बोधन नै यो पत्र लेख्न खोजेँ। मेरो यो धृष्टतालाई माफ गरिदिनु होला।

   सायद मलाई बिर्सिसक्नु भएको होला। सम्झना पनि कसरी होस्! हाम्रो भेट नै एकपटक मात्र भएको हो। त्यो भेटलाई पनि तपाईंले कत्तिको सम्भि्कनु भएको होला र! मैलेचाहिँ कहिल्यै बिर्सिनँ। 

    दस महिनाअघि तपाईं हाम्रो गाउँमा सुरक्षाका लागि आउनु भएको थियो। गाउँदेखि निकै मुन्तिर तपाईंको चौकी थियो। मैले तपाईंलाई देखेकी पनि थिइनँ। माओवादी द्वन्द्व चलिरहेका बेला घरबाट बाहिर निस्किन पनि डर लाग्थ्यो। त्यसैले चौकी किन जानु पर्‍यो र!

    सायद, त्यो रात तपाईं भाग्दै आउनु भएको थियो। म घरमा एक्लै बसेकी थिएँ। तपाईंको मधुरो आवाजले म झन् आत्तिएकी थिएँ। तपाईं अनुनय–विनय गरिरहनु भएको थियो। ढोका खोलिदिने तपाईंको अनुरोधलाई मैले निकैबेरपछि मात्र बुझेकी थिएँ। मैले ठूलै आँट गरेर ढोका खोलिदिएँ।

   ढोका खुल्नासाथ तपाईं भित्रिनु भयो। भयभित हुनु हुन्थ्यो सायद। ढोका आफैले ड्यामडुम्म पार्नुभयो। तपाईंका काँपिरहेका हात देखेरै म अचम्भित थिएँ। म एक्ली महिला भएकीले डराउनुपर्ने थियो। तर, तपाईंको अवस्था देखेर सबै डर भागे। 

   एउटा कुनामा लुक्न खोज्नु भयो। तपाईंले मलाई राम्रोसँग हेर्नु पनि भएन।

   एक घन्टाअघि चौकीमा माओवादी आक्रमण भएको थियो। बन्दुक पड्केको मैले पनि सुनेकी थिएँ। बम र बन्दुक पड्केको आवाजले म डराएकी थिएँ। बाआमा घरमा हुनुहुन्थेन। उहाँहरू मावल जानु भएको थियो। म एक्ली भएकीले त्यो भिडन्तको कोकोहोलो र डरलाग्दो आवाजले काँपेकी थिएँ। त्यो आक्रमणमा तपाईं खै कसरी बाँच्नु भएछ। आफ्नो ज्यान जोगाउँदै तपाईं हाम्रो घरसम्म आइपुग्नु भयो। 

   मैले तपाईंलाई मेरो आफ्नै ओछ्यानमा पुर्‍याएँ। तपाईं ओछ्यानमा पर्नासाथ निदाउनु भयो। झण्डैझण्डै बेहोसझैँ हुनुभयो।

   तपाईंको निधार छामेँ। ज्वरो आइरहेको थियो। हतारहतार पानी तताएँ। पानी अलिक सेलाएपछि निधारमा पानीपट्टी दिएँ। रातभरि तपाईंको सेवामा लागेँ। थाकेर म त्यही ओछ्यानमा पल्टिएछु।

   निद्रामै हामी एउटै ओछ्यान भएछौँ। त्यसपछि केके भयो यहाँ बयान नगरौँ।

   तपाईं बिहान नहुँदै बाहिरिनु भएछ। त्यसपछि कता लाग्नुभयो थाहा भएन। मैले चौकीमा गएर बु‰दा तपाईंबाहेक सबै प्रहरी मारिएका रहेछन्। धन्न तपाईंमात्र बाँच्नु भएको रहेछ।

त्यसको दुई महिनापछि देशमा युद्ध नहुने सम्झौता भयो। तपाईंसँगको एक रातको सामीप्य बिस्तारै बिर्सिएँ। तर, दोस्रो महिनासम्म महिनावारी नभएपछि पो थाहा पाएँ। मैले तपाईंको अंश ग्रहण गरिसकेकी रहिछु। त्यसपछि तपाईंको खोजी धेरै नै गरेँ। तपार्इंको सरुवा त्यही भिडन्तको एकसातामा भएको थियो। मैले कहाँकहाँ खोजिनँ? बल्ल तपाईंको बारेमा थाहा भयो। तपाईं विवाहित हो भन्ने पनि थाहा पाएँ। त्यसबेलासम्म पेटको बच्चा पाँच महिनाको भइसकेको थियो। न बच्चा फाल्न सकेँ न तपाईंलाई पाउने आँट गर्न सकेँ।

यो बच्चाको के दोष? मैले बच्चा पाउने आँट गरेँ। मैले तपाईंको बच्चा यो धर्तीमा ल्याइदिएकी छु। आज तपाईंकै घरको आँगनमा राखिदिँदै छु।

उही तपाईंकी हुन नसकेकी

राधिका                                       

पत्रको अन्तिममा अक्षर लतपतिएका थिए। सायद उसका आँसु खसेर भिजेको हुनुपर्छ। पत्र पढ्दापढ्दै म सोफामै ढल्छुझैँ भएँ।

मेरी श्रीमती छोरालाई छातीमा टासिरहेकी थिई। म भने छोराको अनुहार हेर्दै उसकी आमाको अनुहार सम्झने कोसिस गर्न थालेँ। 

प्रकाशित: ८ श्रावण २०७३ ०७:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App