coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

दक्षिणाबिनाका गुरु

वसन्तप्रकाश

गीता, त्रिपिटक, कुरान र बाइबल दीक्षित गुरुहरूको गठजोडमा 'संविधान' लेखियो। विभक्त आस्था र आदर्शको सम्मिश्रणबीच त्यसको 'न्वारन' त भयो, तर अवस्था र अस्तित्वमाथि प्रश्नचिह्न जारी छ। स्वामित्वमाथि बेवारिसे दृष्टिकोण छताछुल्ल छ। सबैलाई पत्तो छ, यो सहज अवतरण भएको होइन। अहिले आएको र भएको संविधान गोरखा भूकम्पको महाधक्काले हाम्रो हातमा परेको हो। सबैबीच सहमतिको जायजन्म सम्भव थिएन। ठूला दलको त्रिकोणीय गर्भाधानपछि प्रसूति कक्षबाहिर बसेर कुर्नेहरूले 'आर्तनाद' सुनेर मन पगाल्दै ९० प्रतिशतका रूपमा 'वैराग्य–साथ' दिए। यद्यपि, १० प्रतिशतका असहमत–परकम्पन जारी छ। यो अवस्थाबीच मैले गएको गुरुपूर्णिमाका दिन ८३ वर्षीय पिताजीसँग सम्पर्क हुँदा गरिएका संवाद सम्झेँ– 

'साँच्चिकै संविधान आउने भयो त बाबु?' त्यसदिन फोन सम्पर्क हुँदा पिताजीले सोध्नुभएको थियो। संविधानसभाबाट संविधान बनाउने विगतसँग उहाँको जस्तो सम्बन्ध रह्यो, मेरो र पिजातीबीच गुरुपूर्णिमाको सम्बन्ध पनि उस्तै भेटिन्छ। मेरो व्रतबन्ध क्रममा मन्त्रदान गर्ने गुरुको खोजी हुँदा मैले नै पिताजीलाई गुरुको रूपमा रोजेको थिएँ। देवघाटको पवित्र स्थलमा मेरो व्रतबन्ध गर्न गाउँबाट लिएर गएका हाम्रा 'गुरु' मेलाको भीडभित्र हराइरहेका थिए। उनी ठ्याक्कै त्यसैगरी हराए, जसरी पिताजीको पार्टीबाट 'संविधानसभा' हराइरहेको थियो लामो कालखण्डसम्म। घरगाउँवरपरका सबैलाई सामाजिक न्यायसँगै आस्थाको मन्त्र सुनाउने पिताजीभन्दा योग्य र नीतिवान अर्को गुरु हुन नसक्ने 'बालहठ' मैले देखाएँ। आमा र मामा दुवै खुसी हुनुभयो। 'भान्जाले ठीक भने, छोराछोरीका लागि बाउभन्दा अर्को ठूलो गुरु कोही हुनै सक्दैन,' मामाले थप्नुभयो।  मैले क्षणभरमै मन्त्रदान पाएँ।

आमा भइन्जेल मेरो र पिताजीबीचको संवाद–सम्बन्धमा औपचारिकता बढी हुन्थ्यो। आमाको निधनपछि हरेक चाडबाड र विशेष सन्दर्भमा म पिताजीलाई खोज्छु। त्यसमा पनि गुरुपूर्णिमा विशेषरूपमा पर्छ। पिताजी प्रायः संवादमा हालखबर र आरामविरामलाई प्राथमिकता दिनु हुन्छ। राजनीतिक विवेचनाको पाटो बोनसमा मिल्ने 'टक–टाइम' जस्तो हो  हाम्रा लागि। त्यसपटक भने उहाँले अरु केही सोध्दैनसोधी 'संविधान' खोज्नुभयो। संविधानले उहाँलाई केही दिँदैन, न राम–न विराम, न प्राप्ति–न त कुनै उन्मुक्ति। केही मिल्ने छैन उहाँलाई। यो मलाई पनि राम्ररी थाहा छ। यति थाहा पाएर पनि सटिक जवाफ दिन सकिरहेको थिइनँ म। र, अनुमान, आकलन र अन्यमनष्कताकै संवाद दोहोर्‍याउन बाध्य थिएँ म। हुने कुराभन्दा नहुने परिणाम हात पर्ने थिलथिलो वास्तविकताभित्र पिताजीसँग कुराकानी चल्दै रह्यो। २००७ सालदेखि २०१७ साल हुँदै प्रजातान्त्रिक परिपाटीको पक्षपोषणमा पिताजीले बिताएका यावत् हुँकारबीच उहाँ 'आशावादी' हुनु स्वाभाविक थियो। पिताजीले उहाँजस्तै गुरु भेट्नुभयो र त्यसै दिक्षाका आधारमा सुखद परिकल्पनामा रम्नुभयो। तर, ट्युसन पढाउने छात्रा भगाउनेदेखि धर्म अभियन्ताको निहुँमा भक्तलाई पेट बोकाउने गुरुहरूको मनोदशा देखिरहेको र सधैँ–सधैँ घात–प्रतिघात र संघातका आरोह अवरोहबीच बयस्क बन्दै गइरहेको मेरो मानसिकताले 'नैराश्य' बन्नु ज्यादति थिएन। उहाँसँग तर्क र भोगाइ बढी थियो। म प्रायः कुतर्कको चिर्पट प्रहार गरिरहन्थ्ये।

अवस्था जस्तो छ, त्यसैले मनस्थिति तय गर्दोरहेछ। गत वर्ष यही वातावरणमा देखिएका हरिया रंग र मेहँदी बुट्टाका सञ्जाल सौन्दर्य खोप्न जम्जमाएका वारिपारिका काला हातहरूसँग गरिएका हस्तमिलन, मुलुकका ठेकेदार नेताहरूबीच देखिएको आलिंगन र स्वार्थमिश्रित दूधिला मकैहरू छोड्याएर तयार पारिएको शीतलनिवास–बालुवाटार बाँडफाँटको मौसमी खीर–पकवान हेर्दा 'केही' होलाजस्तै देखिएको थियो। र, त्यस्तै भयो पनि। रिङमा बक्सिङ सिकाउने गुरुदेखि रत्कपार्कमा सुगा नचाउने नियति बोकेका एकै ठाउँ जम्मा भए। जनैजातिदेखि जनजातिका गुरुहरू एकाकार हुन पुगे।

पिताजीलाई यसरी घुमाउरो टिप्पणी गर्न सक्थेँ म। तर, मलाई पिताजीको स्वभाव राम्ररी थाहा छ। उहाँ घुमाउरो–चिल्लो सेलरोटीभन्दा सिनित्त 'सादा–ददौरा' मन पराउनुहुन्छ। उहाँलाई नेपाली नेतासँगै नीति प्रवृत्तिको साँगोपाँगो पत्तो छ। प्रतिबन्धित कालमा फारबेसगन्ज प्रवास बिताएका कारण लोकतान्त्रिक चरित्रको दिल्ली–दौड उहाँलाई कसैले बताइरहनैपर्दैन। गुरुहरू खुँदोकै रूपमा रहने र चेला चिनी बन्ने विडम्बना–द्योतकको अनुभूति उहाँसँग छ। त्यसैले उहाँलाई दिने बेजोड र तार्किक जवाफ मसँग जुर्दैन। र, उल्टै सोध्छु– 'हजुरलाईचाहिँ के लाग्छ? आउँछ त संविधान?'

केहीबेर बोल्नुभएन पिताजी। सायद उहाँलाई लाग्यो होला– 'खै किन बस्छन् छोराहरू बुद्धिजीवी ठहरिएर राजधानीमा र केका लागि गर्छन् पत्रकारिता?' विकसित राजनीतिक घटनाक्रम र त्यसको विश्लेषण गर्न र बताउन नसक्ने पत्रकार–छोरोमाथि पिताजी अचम्मित पक्कै हुनुभयो।  हुन त म र मजस्ता सयौँ पत्रकार र विश्लेषक यही नियति  भोग्न–भन्न बाध्य छन्। यहाँ न विचरण मिल्छ, न त आचरण प्रष्टिन्छ! यहाँ मौसमविद् गुरुहरूले पानी पर्ने बताए अनावृष्टि हुन्छ। राज्यभर पानी नपर्ने टिप्पणी गरिए यत्रतत्र –सर्वत्र अतिवृष्टि देखापर्छ। डाक्टर गुरुहरू छोरो पेटमा भएको बताउँछन्, जन्मँदा छोरीले धर्तीमा पाइला टेक्छिन्। इन्जिनियर गुरुहरूले भूकम्पप्रतिरोधी भनिएको घर पराकम्पमा गर्ल्याम्मै ढल्छ। यहाँका पार्टीको विधि–विधान र बैठकले गन्तव्य देखाउँदैन। धर्म–संस्कृतिले नेटो काटेको उहिल्यै हो। ७–७ वर्ष संविधान रटानमा सभाले बिताएका विडम्बनापूर्ण चरित्रलाई सप्तर्षिले वर्णन गर्न नसकेको परिवेश छ। न जप भयो त्यहाँ, न तप भेटियो यज्ञमा। बिल्कुलै सहरी क्षेत्रमा तिज आउनुअघि पार्टी प्यालेसमा खान थालिने दरजस्तै हाम्रा राजनीतिक गुरुहरूले अचानक स्वार्थ फलहार पकाए। उनीहरूले आफूलाई हेरे, सबैलाई हेरेनन्। अनि प्रमाणित गरे यहाँ रुखमा भन्दा ऐँजेरु कलमीमा फल बढी लाग्छ। यही क्रममा उनीहरूले राति सूर्य र दिउँसो चन्द्रमा देखिएजस्तै विवेचना गरे अनि त्यही हुन पुग्यो जुन बढी अनपेक्षित थियो।

म केही बोल्न सकिरहेको थिइनँ। 'संविधानको सट्टा विधान बन्ने भयो बाबु।' थोरै खिलखिलाएर पिताजी आफैले भन्नुभयो। विषय वा प्रसंगले विधानको कुरो पस्यो हामीबीच। विधान सुन्नासाथ म झसंग भएँ। संघ–संस्था खोल्ने र विधान लेख्ने सत्यबोधमा अनामनगरमा अफिस नै खोलेर रोजीरोटी चलाइरहेका एक वकिल 'गुरु' मेरो स्मृतिमा आए। उनको अफिसमा कुन संस्थाका लागि कस्तो विधान चाहिन्छ भन्नेदेखि कतिजना भए कुन–कुन पद कसरी बाँड्नुपर्छ भन्ने विधानको खाका र  फेहरिस्त भएको तथ्यमा म डुबेँ। ती वकिल गुरु बारम्बार मलाई मुलुकको परिवर्तनले सबैलाई केही नदिए पनि आफूलाई धेरै थोक दिएको बताउँथे। वास्तवमा परिवर्तन र सिंहदरबारले मुलुक तथा नागरिकका अपेक्षा पूरा नगरे पनि अनामनगर र बागबजारका छिँडीमा वकिल गुरुहरूले बनाउने पार्टी विधान र सहिद पम्प्लेटका कारोबार चलेका छन्। कार्यकर्ता र पिछलग्गु संख्यात्मकरूपमा कम भएर हुन्छ के? विधानका नाममा परिवारवादको राजनीति र समावेशी रंगमा महिला कोटाको नाममा श्रीमतीले ठाउँ पाएको पायै छन्। मोटरबाइक, टीभी, फ्रिज र सोफाका 'दहेज' हटेर क्रान्तिकारी स्वरूपमा 'सम्धि–सम्धिनी' सभासद् बनेका बन्यै छन्। वकिल गुरु भन्थे– 'जब राजनीति र समाज विसंगत बाटोमा उन्मुख हुन्छ। त्यहीँ हाम्रो फसल उब्जन्छ।'

दारुण बिम्बको द्योतक थिएन राजनीति एकताका। समर्पित भावको उन्नयनमा आँैला काटेर भद्रकाली परिसरमा रगतको सदस्यता–टीका लगाइन्थ्यो। पिताजी यस्तै भन्नुहुन्थ्यो। अचेल पेशाको सदाशयतामा 'राज' गरेर नीति छाडिएको छ। अर्काको टाउको काटेर आतंकको ढोल पिट्ने गुरुहरूले शान्ति गीतको भ्रम छर्दै 'सारेगम...'को लहड–लोरीमा चेला बनाउन थालेका छन्। हुने कुरै थिएन र होइन, हँसिया हथौडाले रुखको रक्षांकन गर्ने प्रसंग। आदर्श, सिद्धान्त र नैतिकता त्यागेर दाँत हुनेले जेरी टोक्नु र थोतेहरूले हलुवा निल्नु उस्तैउस्तै उदाहरण हो। जुन प्रयोगशालामा जसरी नापे पनि गुलियो मात्राले 'सुगर' बढाउने नै हो। यहाँ यही भइरहेको छ। हामी र हाम्रो परिवेश मधुमेही गुरुहरूको राजनीतिबाट ग्रसित हुन पुगेको छ। र, त परजीवी गिलासमा नैतिकता राखेर खल्लो उपलब्धि सुर्क्याइरहनुपरेको छ हामीले। राजनीतिक खेती र समुल मुलुकको उन्नति एवं उत्पादन वृद्धिमा राजनीतिक गुरुहरूको गठजोड जसरी मिल्नुपर्छ उसैगरी कृषि मेरुदण्डको फसलका खातिर नारिने गोरुहरूको पनि जोडी मिल्नैपर्थ्यो। छिटो हिँड्ने र थचक्क बस्ने हल–गोरुको काम थिएन। दुर्भाग्य पछिल्लो परिदृश्यमा यही मेलोलाई 'सहमति–सहकार्य र एकता'को नाममा नारिने काम भयो। जसका कारण दिनहरूमात्र बितेका छन्। बितेका दिन अहम्पूर्ण र स्मरणीय छैनन्।

यही दिन बित्ने क्रममा पिताजीको ८४ पूजा गर्नुछ यसपटक। संविधानले जुनसुकै 'धर्म' ग्रहण गरोस्। एउटा संस्कृतिको संवाहनमा मैले दायित्व पूरा गर्नुछ। एउटा अनुशासित जीवनशैलीको शृंखलामा चल्नुभएका पिताजीलाई मैले अन्याय गर्नुहुँदैन। उहाँले कहिल्यै धर्म अन्धता र कट्टरतामा जनैको शिखा समाउनुभएन। सात्विक भोजन, नियमित व्यायाम र धार्मिक लौह उपासना र उपवासले होला उहाँलाई न 'सुगर' छ, न त सुग्घरबिना फोहर बस्नुहुन्छ। शरीरजस्तै मनस्थिति दह्रो छ उहाँको। आफूले सोचेको परिवर्तन र सैद्धान्तिक धरातलले ठाउँ नपाउँदा पनि उहाँ कहिल्यै थाक्नुभएन। बरु आफूलाई सामाजिक न्यायको पक्षमा उहाँले सधैँ उभ्याइरहनुभयो। उहाँको आधा उमेरका कयौँ चेलाले अप्राप्तिपछि पलायनयात्रामा उन्मुख भएको मैले देखेको छु।

संयोग, पिताजीको यही संवादताका एक नेताले राजधानीको एउटा रेस्टुराँमा भेटघाट कार्यक्रमको आयोजना गरेका थिए। जिल्लाबासी हुनुको नातासँगै पिताजीको सामीप्यका कारण भेलामा म पुगेको थिएँ। १४ वर्षको वनबासमा थाकेका रामचन्द्रझैँ ती नेताले अन्तरपार्टी न्यायिक प्रसंग उठान हृदयस्पर्शीरूपमा गरे। लोकतान्त्रिक पार्टीभित्रका मनपर्दीमा दुखेसो पोखे। बहुदलीय शासनको उद्भवपछि सधैँ सानदार कुर्चीमा रहेका ती नेता सबैथोक पाएर रमाउन नसक्ने मृगतृष्णित र दुःखी पात्रभन्दा किमार्थ फरक लागेन। उनको हालत र प्रस्तुति दयनीय देखिए पनि क्षमाशील थिएन। सांसारिक सत्यभित्र टिप्न नसकिएको अंगुर अमिलो हुने तथ्यबोध मलाई थियो। तर, पोल्टाभरि रहेको स्याउ लुकाएर कसरी नास्पाती रोदनको राजनीति चल्दोरहेछ, मैले पहिलो पटक नजिकबाट देखेँ। मन परुञ्जेल दाह्री भद्रताको भजन गाएर अरुलाई ठाउँ नदिनेहरूले आफ्नो पदको खातिर कसरी दासत्वको निहँु उठाएर दाह्रा किट्दा रहेछन् मैले आँखैअगाडि देखेँ। नजन्मँदै हिँड्न चाहने र नहिँड्दै दौडन खोज्ने आजको राजनीति र नेताबीच उनले विगतमा गरेको दुःखका कारण थोरै शंकाको लाभ दिन सकिन्छ। यद्यपि, राजनीति जब दुःखी आत्मारूपी नेताको नेतृत्वमा अघि बढ्छ त्यहाँ मुलुक र नागरिकले सुशासनको अनुभूति होइन, सामान्य सहानुभूति पनि पाउँदैनन्। यही भएको छ। हरुवा –जुवाडेको नियतिमा 'कोरम' पुर्‍याउन जुट्ने नेताहरूबाट आमअपेक्षा पूरा हुनै सक्दैन। नागरिकलाई दिनुपर्दा भाग गर्ने र आफूले असुल्न गुणा गर्ने उल्टो हरहिसाबको पत्तो सबैलाई छ। भूकम्पपीडामा चुहाइएका आँसुमा नेताले जतिसुकै सुकसुकाइ गरे पनि गोही–सूत्रमा नागरिकले उनीहरूलाई अब 'आदर्श गुरु' मान्ने छैनन्। गम्सा र दौराको कित्तामा बाँडिएको विसंगत वर्तमानको पहिरनमा खल्ती नै नभएपछि त्यसको भरिभराउ अवस्थाको परिकल्पना गर्नु बेकार छ।

हो, यस्तै छ अहिले सर्वत्र अवस्था। सबैका मनभरि प्रश्नैप्रश्नको उफान छ। उत्तरको खोजीमा निरुत्तर छोराहरूसँग संवाद गर्ने काम मात्र हो पिताहरूको। मजस्ता धेरै छोरा छन्, जोसँग उत्तर छैन। पढ्ने–पढाउने अनुशासित गुरुकूल पद्धतिको जस्तो गुरु–समर्पणका विपरीत र भक्तिभन्दा आशक्तिको 'गिफ्ट' र चक्लेटको 'त्वम् शरणम्' हावी छ। चक्लेट खाने बानी लागेका गुरुहरूले यथार्थ–समीक्ष्यको तीतो–सत्य पक्कै बताउँदैनन्। दायित्वको कक्षा कोठाभन्दा स्वार्थको ट्युसन पढाउन उनीहरू उद्यत् छन्। 

एक वर्षपछि अहिले पिताजीसँग गुरुपूर्णिमाका दिन सम्पर्क–संवाद हुनेछ। यसपटक पक्कै हामी संविधानका कुरा गर्ने छैनौँ। संविधानलाई डढेको–धान स्वरूपमा स्वीकारेर हामीले फेरि आशा र अपेक्षाको नयाँ 'ब्याड' राख्ने सरसल्लाह गर्नेछौँ। पिताजीरूपी गुरुबाट मैले केही न केही आगतका लागि नवीन बाटो र आदर्श पाउनेछु। कुनै अर्थको पनि गुरुदक्षिणा दिनुनपर्ने र कहिल्यै उत्तर–दक्षिणको हावाबाट प्रभावित नहुने 'पिता–गुरु' भएकै कारण यो सम्बन्ध क्रियाशील र जीवन्त छ। अन्यथा, तथाकथित 'गुरु'सँगको संवाद र सम्पर्क भएको भए उनीहरूले उहिल्यै 'गुरु–चेला' सम्बन्धलाई बिट मारिसकेका हुन्थे।   

प्रकाशित: ८ श्रावण २०७३ ०७:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App