१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सिन्धुपाल्चोकमा यस्तो छ दलीय हैसियत

सिन्धुपाल्चोक- दलहरूले उम्मेदवार नपाउँदा तीन दलित महिला सदस्य पद खाली भएको छ। दलित महिला सदस्य खाली हुँदा स्थानीय तह निर्वाचनबाट सिन्धुपाल्चोकमा पाँच सय ६६ जनप्रतिनिधि चयन हुनुपर्नेमा पाँच सय ६३ मात्र निर्वाचित भएका छन्।

'दलित महिला सदस्यमा उम्मेदवारी नपरे उक्त पद रिक्त रहने व्यवस्था स्थानीय तह निर्वाचन ऐन २०७३ मा छ,’ जिल्ला निर्वाचन अधिकृत सविनकुमार कार्कीले भने। कार्यालयका अनुसार उम्मेदवारी नपर्दा माझी, दनुवार समुदाय रहेको इन्द्रावती गाउँपालिका–११, तामाङ समुदाय बाहुल्य लिसंखुपाखर गाउँपालिका–१ र ह्योल्मोलगायत जनजाति बाहुल्य हेलम्बु गाउँपालिका–५ मा दलित महिला सदस्य निर्वाचित हुन नसकेका हुन्।

 यी वडामा दलित समुदायको बसोबासै नरहेकाले उम्मेदवारी नै नपर्दा उनीहरूको प्रतिनिधित्व हुन नसकेको हो। जिल्लामा रहेका एक सय तीन वटा वडाबाट एक सय दलित महिला मात्र सदस्यमा निर्वाचित भएका छन्। एकल उम्मेदवारी परेका इन्द्रावती गाउँपालिका–११, मेलम्ची नगरपालिका–४, लिसंखुपाखर–३ र ५ मा दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका थिए। एमालेले दुई र कांग्रेस, माओवादी केन्द्रबाट एक/एक दलित सदस्य निर्वाचित भएका हुन्।

वडामै दलित समुदायको एक/एक मात्र परिवार रहेकोमा सबैभन्दा पहिला प्रयास गर्दे दलले उम्मेवदार भेट्टाएका थिए। उम्मेदवारी मनोनयनका बेला दलहरूलाई दलित महिला सदस्य जुटाउन हम्मे परेको थियो। दलित समुदायको बसोबासै कम रहेको, मतदाता रहेका दलित उम्मेवारै बन्न नचाहेका कारण कतिपय वडामा कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाबाट एकै परिवारका सदस्य उम्मेदवार उठाएका थिए।

 यही कारण गाउँ र नगरसभाबाट दलित/अल्पसंख्यक सदस्यको निर्वाचनमा दलितको उचित प्रतिनिधित्व हुन नसकेन। उनीहरूको स्थान अल्पसंख्यकले लिए। नगर, गाउँसभाबाट निर्वाचित २७ सदस्यमा अल्पसंख्यकबाट १८ सदस्य र दलित समुदायबाट नौ जना छन्।

एमालेबाट ४४ प्रतिशत सदस्य

 दुई नगरपालिहकासहित सात स्थानीय तहको प्रमुख, उपप्रमुख जितेर जिल्लामा पहिलो दल बनेको एमालेबाट सबैभन्दा ४४.४ प्रतिशत सदस्य निर्वाचित भएका छन्। ४३ वटा वडा जितेको एमालेबाट दुई सय ५० सदस्य निर्वाचित भएका हुन्।

 तीन गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष जितेर दोस्रो दल बनेको कांग्रेसले ३८ वडासहित एक सय ८४ सदस्य जितेको छ। उसले स्थानीय तहमा साढे ३४ प्रतिशत सदस्य जितेको हो। एक नगर र एक गाउँपालिकाको प्रमुख, उपप्रमुख जित्ने क्रममा २० वडाध्यक्ष जिताएको माओवादी केन्द्र तेस्रो ठूलो दल बनेको छ। एक सय आठ सदस्य जिताएको केन्द्रबाट जिल्लाको स्थानीय तहमा १९.२ प्रतिशत प्रतिनिधित्व छ।

 २०६४ को पहिलो संविधानसभा निर्वाचनअघिसम्म सिन्धुपाल्चोकलाई आफ्नो 'किल्ला’ दाबी गर्दै आएको राप्रपा एक दशकमै पतनको संघारमा पुगेको छ। स्थानीय तहमा राप्रपा ११ सदस्यमा खुम्चिएको छ। दुई वडामा प्यानलसहित जिल्ला स्थानीय तहमा उसको प्रतिनिधित्व १.९ प्रतिशत मात्र छ।

कुल भोटमा एमाले, मत सुधारमा कांग्रेस अघि

सात स्थानीय तह र सबैभन्दा बढी सदस्य जित्दै जिल्लामा पहिलो दल बनेको एमालेले भोट पनि सबैभन्दा बढी पाएको छ। जिल्लाका १२ वटै स्थानीय तहमा गाउँ, नगर अध्यक्ष/प्रमुखले प्राप्त गरेको मत दलको मान्दा एमालेले ४९ हजार एक सय ८३ भोट पाएको छ।

 एमालेभन्दा चार हजार कम मत प्राप्त गरेको कांग्रेसका पक्षमा ४५ हजार एक सय २७ भोट खसेको छ। माओवादी केन्द्रले ३३ हजार आठ सय ३८ मत पुर्‍याउँदा राप्रपा १२ हजार दुई सय १२ भोटमा खुम्चिएको छ। संविधानसभाको दोस्रो निर्वाचन २०७० मा दलले सामानुपातितर्फ ल्याएको भोटका आधारमा कांग्रेसले सबैभन्दा बढी झन्डै १९ हजार मत बढाएको पाइन्छ। एमाले पछ्याउँदै माओवादी केन्द्रले समान नौ हजार भोट बढाउँदा राप्रपाको झन्डै सात हजार मत घटेको छ। 

समन्वय समितिमा एमालेको एकलौटी

जिल्ला समन्वय समिति एमालेले एकलौटी जित्ने दखिएको छ। जिल्लाका १२ तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष सम्मिलित २४ पदेन सदस्य रहने जिल्ला सभाले समन्वय समितिमा मतदान गर्न पाउँछन्। सात तह जितेको एमालेसँग १४ सदस्य अर्थात् भोट छ। कांग्रेस र माओवादी मिल्दा पनि एमालेलाई हराउन चार भोट पुग्दैन। पाँच तह जितेका उनीहरूसँग १० भोट मात्र छ।

 केही साताअघि बसेको पहिलो जिल्ला सभाले नौ सदस्यीय समन्वय समति गठन गर्ने निर्णय गरेको छ। समन्वय समिति गठनमा एमालेमा दुई धार देखिएको छ। काम गर्न सहज हुने र सबै दलको प्रतिनिधित्वसमेत हुने भन्दै अध्यक्ष र उपाध्यक्षसहित बहुमत सदस्य लिएर अरू बाँड्ने तर्क एउटा पक्षको छ भने अर्को पक्ष समन्वय समिति 'क्लिन स्विप’ गर्नुपर्ने अडानमा छ। निर्णयमा भने पुगिनसकेको एक जिल्ला नेताले बताए।

प्रकाशित: १ श्रावण २०७४ ०३:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App