८ वैशाख २०८१ शनिबार
राजनीति

तीन सय कर्मचारीको विदेश भ्रमण अनिश्चित

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले विदेश भ्रमण रोक्न निर्देशन दिएपछि स्वीकृत तीन सयभन्दा बढी कर्मचारीको भ्रमण अनिश्चित बनेको छ। प्रधानमन्त्री देउवाले बिहीबार नवनियुक्त मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीलाई सरकारी कर्मचारीको अनावश्यक विदेश भ्रमण रोक्न निर्देशन दिएका हुन्।

केही साताभित्रै केही सचिवसहित कम्तीमा ३ सय २३ कर्मचारी विदेशमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम स्वीकृत भएको थियो। भ्रमण तय भएका केहीले टिकट किन्नुका साथै भिसासमेत लिइसकेका छन्।

प्रधानमन्त्रीको निर्देशनले कति भ्रमण प्रभावित हुन्छन् भनेर निश्चित भएको छैन। प्रधानमन्त्री देउवाले द्वीपक्षीय सम्बन्धलाई सुदृढ पार्ने वा देशलाई फाइदा पुग्ने कार्यक्रमबाहेक अन्य भ्रमण रोक्न मुख्यसचिवलाई निर्देशन दिएको उनका प्रेससंयोजक गोविन्द परियारले नागरिकसँग बताए।

'प्रधानमन्त्रीले अनावश्यक भ्रमण रोक्न कडा निर्देशन दिनुभएको छ,' परियारले भने। स्पष्ट मापदण्ड नबनाइएका कारण आवश्यक र अनावश्यक भ्रमण छुट्टाउन भने गाह्रो छ।

नागरिक दैनिकले सरकारी कर्मचारी अनियमित विदेश भ्रमणबारे समाचार प्रकाशित गरेपछि प्रधानमन्त्रीबाट यस्तो निर्देशन आएको हो।

यसैबीच नवनियुक्त मुख्यसचिव क्षेत्रीले पनि विदेश भ्रमणको आलोचना भएको भन्दै रोक्न सचिवहरूलाई निर्देशन दिएका छन्। पदभार ग्रहणलगत्तै सचिवहरूसँगको बैठकमा क्षेत्रीले भने, 'यो भन्दैमा फेरि विदेश नजाने भनेको होइन। काम गर्नेलाई एक्स्पोजर चाहिन्छ तर कुनमा जाने, कस्तोमा कस्तोलाई पठाउने हो त्यसमा तपाईंले विवेक पुर्‍याउनुपर्छ।'

जेठयता मात्रै १ हजार ४ सय भ्रमणको स्वीकृति भएको छ। तीमध्ये अधिकांश भ्रमण भइसकेका छन् भने केही अर्को सातासम्म हुनेछन्।

स्वीकृत भएर पनि भ्रमण बाँकी रहेकामा कृषि मन्त्रालयका करिब चार दर्जन अधिकारी छन्। त्यसैगरी प्रधानमन्त्री कार्यालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, अर्थ मन्त्रालय, शिक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयका भ्रमण पनि बाँकी छन्। भौतिक योजना तथा यातायात, स्वास्थ्य, उद्योग तथा राष्ट्रिय महिला आयोगका केही भ्रमण पनि हुन बाँकी छ।

भ्रमण सूचीमा केही सचिवसमेत छन्। खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीम उपाध्याय, प्रधानमन्त्री कार्यालयका सचिव गोपीनाथ मैनाली र शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठको अस्ट्रेलिया भ्रमण स्वीकृत भएको छ। महिला आयोगका सचिव तुलसीराम सेढाई अमेरिका र सिँचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव इटली जाने कार्यक्रम छ। उपाध्याय साउन १७ देखि २१ गतेसम्म हुने फन्ड रिजनल लर्निङ एन्ड रिफ्लेक्सन नामक कार्यक्रममा र मैनाली सघीय प्रणालीको अध्ययन भ्रमणका लागि असार ३१ देखि साउन ६ गतेसम्म विदेश भ्रमण जान लागेका हुन्। शिक्षा सचिव श्रेष्ठ हाइलेभल एक्सपोजर भिजिटमा असार ३१ देखि साउन ७ गतेसम्म जान लागेका हुन्। त्यसैगरी यादव पहाडी सिचाइ प्रणालीको दिगो व्यवस्थापन कार्यक्रममा पनि साउन ८–२१ गतेसम्म विदेश भ्रमण जान लागेका हुन्। सेढाइ साउन १ देखि ७ गतेसम्म द ग्लोबल मिटिङ फर नेपाल इन्टिग्रेटेड प्लेटफर्म अन जेन्डर बेस्ड भ्याइलेन्स प्रिभेन्सन एन्ड रेस्पोन्स प्रजोक्ट एन्ड एक्स्पोजर भिजिटमा अमेरिका जान लागेका हुन्।

 'यस्ता भ्रमण पूर्ण रुपमा काम नलाग्ने छन् र पैसाको बर्बादी मात्रै हो', प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने।

प्रकाशित: ३० असार २०७४ ०६:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App