१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

प्रसंग संविधान संशोधनको

नेपाल अहिले इतिहासको अत्यन्तै गम्भीर मोडमा फसेको छ। राष्ट्र टुक्र्याएर आफूमा मिलाउन एउटा छिमेकीले पहाडे र मधेसी नेपालीबीच ठूलो चिर्का खडा गराएको छ। खासगरी भारतबाट बसाइँ सरेर आएका आप्रवासी भारतीयलाई उचालेर तिनै आप्रवासीले नेपालमा वितण्डा मच्चाएको हालै प्रकाशित चीनको ग्लोबल टाइम्स पत्रिकामा थिङ्कट्याङ्क लोङ सिडचुनले उल्लेख गरेका छन् (२७ असारको एक दैनिकको समाचार)। सो पत्रिकामा भारतले नेपाललाई सिक्किम बनाउन खोजेको आरोप लगाइएको छ। यो चीनको भारतप्रतिको दृष्टिकोण हो।

नेपालमा पुष्पकमल दाहालको उदयपछि मात्रै कम्युनिस्ट नाममा घोर अवसरवादी पनि हुने रहेछन् भन्न थालियो। एमाले नेता ओलीले भारतको सशक्त प्रतिकार गरेर नेपाललाई दलदलबाट बचाउन ठूलो उपलब्धि पाएका छन्।

२०६३ सालपछि विदेशी साजिसमा नेपालमा मौसमी काम गर्ने विदेशीसमेतलाई तीनजनाले 'यो नेपालमा बसेको धेरै वर्ष भयो' भनेर सिफारिस गरेका आधारमा लाखौं भारतीयलाई नेपालको नागरिकता दिलाइयो। नेपालको तराईको चुनावमा उथलपुथल गराउन ती नक्कली नागरिकता लिएका भारतको, बिहार, बङ्गाल, उत्तर प्रदेशका बासिन्दा नेपाल पस्ने गरेका छन्। विदेशीलाई अन्धाधुन्ध नागरिकता दिन नै राजसंस्था र हिन्दु धर्म हटाइएको जगजाहेर छ।

 अधिकांश बाहिरबाटै पसेका र बिहे गरेर ल्याइएका समेत थुप्रै नरनारी नेपाल छिरेको भोलिपल्ट नै नागरिकता लिन, मतदान गर्ने र उम्मेदवार हुन योग्य ठहरिन्छन्। हाम्रो नेपालको तराई भूमिमा जन्मिएका यहाँका हाम्रा छोरीमध्ये एकजनामात्र सांसद र मन्त्री भइन् भने बीसजनाभन्दा बढी आयातीत महिला नेपालका सांसद, मन्त्री र अन्य संवैधानिक अङ्गमा समावेश भइसकेका छन्। सम्पूर्ण तराई क्षेत्रबाट मन्त्री हुनेहरूमा चित्रलेखा यादवबाहेक प्रायशः पूर्वबिहारी नै छन्। अहिलेको नेपाल समाजवादी पार्टीका अधिकांश नेता आयातीत नेपाली नै बढी छन्। यिनीहरूले ल्याएको संविधान संशोधनको प्रस्तावमा संसारका कुनै पनि देशले दिन नसक्नेखालका मागसमेत छन्। नेपालमा बिहेवारी भएर आएकी भारतीय चेलीले आफ्नो मातृदेशको नागरिकता त्यागेको कारवाही चलाएपछि तुरुन्तै नेपालको नागरिकता दिनुपर्छ भन्नेसमेत छ। नागरिकता त्यागिसकेको पनि हुनु नपर्ने माग छ।

 भारतलगायत संसारका अरु देशमा त्यस देशमा ७ वर्ष बसोबास नभएको कसैले पनि नागरिकता पाउँदैनन्। विवाह गरेर आएका विदेशीलाई ७ वर्षसम्म अस्थायी परिचयपत्र दिएर चालचलन हेरी सात वर्षपछि मात्रै नागरिकता दिने कानुन हुन्छ। भारतीयहरूलाई नेपाल प्रवेश गर्न पनि सीमामा अनुमति दिने नगरे एक दुई वर्षमा नेपालको तराईसमेतमा हाम्रो तराईको जनसंख्याभन्दा दोब्बर देशीहरू हुने निश्चितजस्तै छ। तराईमा भारतबाट आएकालाई देशी भनिन्छ।

 नेपाल समाजवादी नामले खुलेको नयाँ पार्टीको अर्को अनौठो माग छ– अब संविधानमा वंशज र अङ्गीकृत नागरिक भनी छुट्याउन नपाइने बनाउनुपर्छ। संसारभरि नै अङ्गीकृत र 'वंशज' मा भिन्नता हुन्छ। दोहोरो नागरिकताका लागि खुकुलो प्रावधान भएको अमेरिकामा पनि राष्ट्रपति, उपराष्ट्रपति, सैनिक प्रमुख, सुप्रिम कोर्टका न्यायाधीशसमेतका संवेदनशील पद अरू देशबाट आउनेलाई दिइँदैन। हेनरी किसिन्जर जस्ता विश्वविख्यात कूटनीतिज्ञ र परराष्ट्रमन्त्री पनि अमेरिकामा उल्लिखित ठूलो पदमा जान दिइँदैन। तर अब भारतीय आप्रवासीलाई सभामुख, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रधानसेनापति बन्न रोक्न नपाइने उनीहरूको माग छ। सेनापतिलगायत सबै पदमा रोक्न नपाइने संवैधानिक व्यवस्था हुनुपर्ने माग छ। प्रधानमन्त्री देउवा, पूर्वप्रम दाहालसमेत जनता पार्टीको सो माग पूरा गराउन संविधान संशोधन गर्न हात धोएर लागेका छन्। यिनीहरूको देशभक्ति संशययुक्त छ। अर्को ठूलो उनीहरूको माग मधेसमा दुई प्रदेश हुनुपर्नेछ। जसले नेपाललाई विधिवत्रूपमै विभाजन गरेको हुनेछ। ९९ प्रतिशत तराईका जनताको सो मागमा समर्थन छैन।

 भारतमा सोनिया गान्धी कांग्रेस पार्टीको अध्यक्ष र प्रभावशाली सांसद भइन्। तर उनलाई प्रधानमन्त्री बन्न दिइएन। मनमोहन सिंहले उनका छायाँ प्रधानमन्त्रीका रूपमा दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री बन्नुपर्‍यो। नेपालको तराईबाट विवाह गरेर भारत पसेका हजारौं नेपाली चेलीलाई सात वर्षसम्म नागरिकता दिइँदैन। भारत गएका कुनै पनि नेपाली चेलीहरू भारतमा सांसदसम्म भएका छैनन्।

 नेपालको राजनीतिमा अर्को ठूलो विडम्बना देखिएको छ। आफूलाई जन्मजात राष्ट्रवादी भन्ने पूर्वराष्ट्रवादी विद्यार्थी मण्डलका नेता कमल थापा सभापति भएको पार्टी सत्ता प्राप्तिका लागि जीउ छाडेर देउवा र प्रचण्डको आग्रहमा संविधान संशोधनको प्रस्तावमा जाने कसरत गर्दैछ। आशा गरौँ, त्यो पार्टीमा थुप्रै सांसद कमल थापा जस्ता सदाबहार पदप्रति लोलुप छैनन्। नेपाली कांग्रेस र माओवादीको माथिल्लो नेतृत्व हेर्दा विदेशीको लाचार छायाँ जस्तो देखिन्छ। त्यहाँ पनि दश–बीस जना देशभक्त होलान् नै। माओवादीको नेतृत्व भारतको कठपुतली भए पनि त्यहाँ पनि त राष्ट्रवादीहरू हुनुपर्ने हो। भियतनामका नेता होचिमिन्हले राष्ट्रवादले गर्दा नै आफू कम्युनिस्ट भएको लेखेका छन्। टिटो, किमइल सुङ, फिडेल क्यास्ट्रो, होचिमिन्ह, माओ सबै नेता राष्ट्रवादी थिए। नेपालमा पनि पुष्पकमल दाहालको उदयपछि मात्रै कम्युनिस्ट नाममा घोर अवसरवादी पनि हुने रहेछन् भन्न थालियो। नारायणमान बिजुक्छे, चित्रबहादुर केसी, सिपी मैनाली पनि साना देशका भए पनि राष्ट्रवादी पोस्चरका नेता छन्। माओवादी पार्टीभित्र पनि त राष्ट्रवादीहरू केही त होलान् नि? एमाले नेता ओलीले भारतको सशक्त प्रतिकार गरेर नेपाललाई दलदलबाट बचाउन ठूलो उपलब्धि पाएका छन्।

 प्रायशः पार्टीहरू कांग्रेस, माओवादी केन्द्र, राप्रपामा ठूलो अवसरवादी नेतृत्व देखिए पनि ती पार्टीभित्रका देशभक्तहरूले देशका लागि बलिदान गर्ने समय आएको देखिन्छ। तराईका पार्टीहरूमा पनि देशै आयातीत भारतीयहरूको पाउमा राख्नुहुन्न भन्ने देशभक्तहरूको पहिचान खुल्न बाँकी नै छ। के संसद्भित्रका कांग्रेस, माओवादी, तराई, पहाड र हिमालका सांसदहरू तुरुन्तै नेपाल सिक्किम भएको हेर्न चाहन्छन्? तराईका धेरै कांग्रेस राजनीतिकर्मीहरू अहिलेको पदलोलुप नेतृत्वलाई आफ्नो आदर्श मान्दैनन्। धेरैको मनमा बिपी कोइराला विद्यमान छन्। कोइराला परिवारका बिपीको नाम भजाएर नेता भएकाहरू सत्ताका लागि कति तल गिर्छन् हेर्नुपर्ने हुन्छ।

नेपाली राजनीतिमा राम्रो इमेज बनाएका कांग्रेसका रामचन्द्र पौडेल, नरहरि आचार्य, केवी गुरुङ, रामशरण महत, धनराज गुरुङ, सुरेन्द्र चौधरी, चन्द्र भण्डारी, महेश आचार्य, मिनेन्द्र रिजाल, गुरु घिमिरेहरू सत्ताको लोभमा बत्तीमा आत्मदाह गर्छन् कि के गर्छन्, नेपालको ठूलो देशभक्त तप्का निगरानी गर्दैछ। तराईका नेताहरू उपेन्द्र यादव र विजय गच्छदारले देशै टुक्रन सक्ने मूल्यमा राप्रपाभित्रका अघिल्लो पटक संसद्मा अनुपस्थितहरूले कमल थापाको सुगरकोटेड ट्याब्लेटको विष खान्छन् जस्तो त लाग्दैन। उनको अरण्यरोदन 'त्यै केटी चाहिन्छ' शैलीको नै देखिन्छ। उपेन्द्र यादव र विजय गच्छदारहरूले महतो र ठाकुरको भारतीय जुत्तामा टेक्छन् कि मौलिक नेपाली जुत्तामा? आमजनता हेर्दैछ।

जे भए पनि, गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा नेपाल भित्रिएको मन्द 'विष' ठूलो राष्ट्रिय रुढीका रूपमा अहिले नेपाल प्रवेश गरेको छ। नेपाली जनताका केही सही जनप्रतिनिधिले त्यसलाई असफल बनाउने आशा गरौँ। देशको पत्रकारितारूपी चौथो अङ्गले पनि सही सूचना दिएर उचित भूमिका निर्वाह गरिरहेको र गर्नेछ भन्ने आशा गरौँ। पछिल्लो समय नेपाली प्रेसले खेलेको भूमिका स्तुत्य र निर्भिक रहँदै आएको छ। पश्चिमा र भारतीयले गरेको साजिसले नेपालको राष्ट्र, राष्ट्रियता र देशभक्ति विदेशी बन्धकमा पर्ने छैन भन्ने आशा गरौँ। आगे समयले नै बताउनेछ।

प्रकाशित: ३० असार २०७४ ०२:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App