coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

साउनसँगै मेहन्दी

साउन लागेसँगै धेरैजसो महिला हरियो पोते, हरियो चुरा अनि रातो  सारीमा  सजिन्छन्। राजधानीका सपिङ मलदेखि गाउँघरका मठमन्दिरमा  मेहन्दी लाउने र लगाउनेको भिड लाग्छ। स–सना केटाकेटीदेखि अधवैंशे महिलासम्म हरिया चुराको छनछन र मेहन्दीको गाढा रङमा रमाउँदै छन्। मेहन्दीलाई मायाको प्रतीक मान्दै रङ गाढा रहेमा माया पनि गाढा रहने कतिपयको विश्वास छ। विभिन्न डिजाइनका मेहन्दी लगाएर सहरबजार गर्ने गरेका युवायुवतीको संख्या बढ्दो छ।

'मेहन्दीको रङ गाढा भए माया पनि गाढा हुन्छ रे,' कक्षा १२ मा अध्यनरत कोटेश्वरकी संगीता थापाले हास्दै भनिन्, 'त्यसैले सोमबार साथीहरुसँगै पशुपति गएको बेला मेहन्दी लगायौं।' साउनमा मेहन्दी नलगाउँदा खल्लो महसुस हुने उनले सुनाइन्।

यो महिनामा माछामासु नखाई, हरियो चुरा र मेहेन्दी लगाई बस्दा अविवाहित महिलाहरुले राम्ा्रो वर र विवाहितहरुले आफ्नो पतिको आयु लामो हुने तथा परिवारमा सुख शान्ति र अटल सौभाग्य प्राप्त हुने कतिपयको विश्वास छ। 'पतिको सुखशान्ति र दीर्घायुको लागि हरियो चुरा र मेहन्दी लगाएको हुँ,' पशुपतिमा भेटिएकी नर्मदा सिलवालले भनिन्, 'विगत एक दशकदेखि साउन महिनामा यसैगरी हरियो चुरा र मेहन्दी लगाउँदै आएको छु।'

साउन महिनामा पार्वतीले शिवलाई पाउनका लागि व्रत बसेको र व्रतकै कारण पार्वतीले शिवजी पाएको धार्मिक विश्वासका कारण पनि महिलाहरुमा यो महिनाप्रति विशेष श्रद्धा रहेको पाइन्छ।

मेहन्दीको रङको गाढापनसँगै मायाको सम्बन्धलाई जोडिने गरेका कारण रङ नजाने मेहन्दी लगाइदिन कतिपयले अनुरोध गर्नेगरेको पसले सुनाउँछन्। राजधानीका सुपरमार्केटदेखि मन्दिरका छेउछाउ बस्ने पसलेले उनीहरुको रोजाइ अनुसार बुट्टा भरेर मेहन्दी लगाइदिने गरेका छन्। 'साउनमा मेहन्दी लगाउनेको भिड हुन्छ,' पशुपतिमा भेटिएकी अनिता श्राणले सुनाइन्,' हामी उनीहरुको रोजाइ अनुसारको मेहन्दीको बुट्टा भर्छौं।' मेहन्दीको डिजाइन र त्यसको क्षेत्रफल अनुसार ५० रुपैयाँदेखि २ सय रुपैयाँसम्म लिने गरेको उनले सुनाइन्।

नेपाली महिलाले मेहन्दी लगाएको देेखेर कतिपय पर्यटकले समेत हात रङ्गाउन थालेका छन्। साउन महिनामा हरियो चुरा र पोते लगाउने प्रचलनका विÈयमा कुनै तथ्य नभए पनि पछिल्लो समयमा यो एउटा फेसनको रुपमा विकास भइरहेको संस्कृतिविद् गोविन्द टण्डन बताउँछन्। हरियो चुरा र पोते लगाउने धार्मिक तथा सांस्कृतिक महत्व नदेखिए पनि पछिल्लो डेढ दशकयता यो सुन्दरता र फेसनको रुपमा यसको प्रयोग भइरहेको उनले सुनाए ।   

प्रकाशित: ८ श्रावण २०७३ ०५:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App