७ वैशाख २०८१ शुक्रबार
अर्थ

किसानलाई करोड अनुदान

पर्वत- जिल्लाका किसानले अघिल्लो आर्थिक वर्ष झन्डै करोड रुपैयाँ अनुदान पाएका छन्। गाई, भैंसी, बंगुर, बाख्रा, कुखुरापालक किसानका साथै डेरी उद्योगले अनुदान पाएका हुन्। जिल्ला पशु सेवा कार्यालयले सबै पशुपालक किसान, दुग्ध तथा मासुजन्य व्यवसायीलाई गरी ९८ लाख ६३ हजार रुपैयाँ अनुदान वितरण गरेको हो।

अनुदान पाएकामध्ये केही किसान नभई करोडपति व्यापारी पनि छन्। पशु सेवा कार्यालयले सबैभन्दा बढी बाख्रापालक किसानलाई अनुदान दिएको छ। बाख्रापालकलाई ३५ लाख ३० हजार रुपैयाँ अनुदान दिएको कार्यालयले जनाएको छ। बाख्रा खरिद, बोका खरिद, खोर सुधार लगायत कामका लागि त्यो रकम वितरण गरिएको कार्यालय प्रमुख डा. सुधीर थापाले बताए।

त्यस्तै कुखुरापालनतर्फ नौ लाख ७५ हजार, बंगुरतर्फ १६ लाख ७० हजार अनुदान दिइएको छ। पशुजन्य उद्योग प्रवर्द्धन र विकासमा समेत अनुदान दिइएको कार्यालयले जनाएको छ। यसरी अनुदान पाउनेमा करोडपति व्यापारी समेत छन्। जय दुर्गाभवानी शरणम कुराउनी उद्योग, शीतल डेरी उद्योग र पर्वत दुग्धडेरी उद्योगलाई दुई/दुई लाख रुपैयाँ अनुदान दिइएको छ। पशु विकास विभागकै टोली आएर यी तीन उद्योगलाई अनुदानका लागि छनोट गरेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ।

'हामीले छनोट गरेको होइन, विभागकै टोली आएर तीन उद्योगलाई छनोट गरेको हो।' पशु विकास अधिकृत विष्णुबहादुर पाण्डेले भने। उनका अनुसार यो कार्यक्रमअर्न्तगत तीनवटा मात्रै प्रस्ताव परेका थिए। प्रस्ताव हालेका तीनै उद्योगलाई समान रकम प्रदान गरिएको हो।

यता राँगा ढुवानी, पाडापाडी संरक्षणका लागि दुई लाख ३२ हजार रुपैयाँ प्रदान गरिएको छ। पशु सेवा कार्यालयले वर्सेनि करोड रुपैयाँ अनुदान दिए पनि एक पटक अनुदान पाएका किसानले फेरि पाउन नसक्दा समस्या भएको गुनासो गरेका छन्। एकपटक अनुदान दिएपछि फार्मलाई बीचैमा छाड्ने प्रवृत्ति बढी छ।

विशेषगरी पर्वतको दक्षिण भेगमा अनुदानले बंगुरपालन किसान निकै बढेका छन्। बंगुरपालक किसान बढ्दै गएपछि बजारको समस्या हुन थालेको छ। 'एउटै बंगुरको मासु दुई सय किलोभन्दा बढी हुने गरेको छ तर हुवास र त्रिवेणी क्षेत्रमा एक सय किलो बंगुरको मासु बिक्री गर्न कठिने हुन्छ,' हुवासमा बंगुरपालन गर्दै आएका सूर्यबहादुर रानाले भने, 'बजार प्रमुख समस्या भएको छ।'

अहिले पर्वतको सरौखोला, हुवास, त्रिवेणी, बेउलीबास बंगुर पकेट क्षेत्रका रुपमा चिनिन्छन्। त्यस्तै बाँसखर्क, भुकताङ्ले, क्याङ, लेखफाँट, देउपुर, धाइरिङ, सालिजा, आर्थर बाख्रा, कुश्मा, कटुवाचौपारीलगायत क्षेत्र गाईपालन पकेट क्षेत्रका रुपमा रहेको पशु सेवा कार्यालयले जनाएको छ।

६ हजार पशुको बिमा

पर्वतमा ६ हजारभन्दा बढी पशुको बिमा गरिएको छ। अहिलेसम्म ६ हजार दुई सय १२ वटा पशुको बिमा गरिएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ। गत आर्थिक वर्षको प्रगति सार्वजनिक गर्दै कार्यालयले गाई, भैंसी, बाख्रा, बंगुर र कुखुरा गरी यो संख्यामा बिमा गरिएको हो। 'अहिले पशुपालक किसान नै पशु बिमाप्रति आकर्षित हुँदै गइरहेका छन्,' जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. थापाले भने, 'चालु आर्थिक वर्षमा पशु बिमा अझै बढ्ने अनुमान गरेका छौं।'

पर्वतमा सबैभन्दा बढी बिमा बाख्राको भएको छ। थापाका अनुसार सात सय ५६ गाई, एक सय २७ भैसी, तीन हजार एक सय १२ बाख्रा, दुई हजार कुखुरा, दुई सय १७ बंगुरको बिमा गरिएको छ। बिमा रकममध्ये किसानले १० लाख ९४ हजार रुपैयाँ बुझाएका छन्। बिमा रकममध्ये २५ प्रतिशत किसान र बाँकी सरकारले तिरिदिने व्यवस्था छ।

प्रकाशित: ८ श्रावण २०७३ ०५:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App