७ वैशाख २०८१ शुक्रबार
विचार

नसोचेको विकास नेपालमा

'नेताहरूले देश खत्तम बनाइसके, जताततै भ्रष्टाचारै भ्रष्टाचारले नेपाल खोक्रो भइसक्यो, घूस नपाइकन त कर्मचारीले कागजमा कलमले छुन पनि छुँदैनन् नि।'

विदेशबाट नेपाललाई हेरिँदै आएका दृष्टान्त यी र यस्तै छन्। जताततै अभाव, गरिबी त यसै पनि व्याप्त छँदै थियो। दुई वर्षअघिको भुइँचालो र त्यसपछि भारतले थोपरेको नाकाबन्दीले असहज भएको अवस्थामा बाहिरबाट अनुमान गरिएको नेपालको कल्पनाचित्र भनेको 'चारैतिर खत्तम' भन्दा अरु केही छैन। तर यो हेराइ र नेपालको यथार्थ भने निकै फरक रहेछ। यसपटक मेरो पुग/नपुग दुई महिनाको नेपाल बसाइँले यही भन्यो।

यसबीच मातृभूमि नजिकबाट नियाल्ने अवसर पाएँ। पूर्व मेचीको झापा, इलामदेखि पश्चिम नेपालको पाल्पा, गुल्मीसम्म पुग्दा देखेको नेपाल र यता अमेरिका, युरोप र अस्ट्रेलियाबाट साथीहरूले अनुमान गर्दै आएका नेपालमा धेरै फेरबदल आइसकेको भोगाइ रह्यो। हुन त पछिल्ला केही वर्षयता मेरो बसाइँ अमेरिकाभन्दा पनि नेपालमा धेरै हुँदै आएको छ। तर फरक यति भयो कि पहिले नेपाल पुग्दा धेरै समय काठमाडौँमै बित्थ्यो। धन्न टाढा पुगे चितवन र पोखरा। तर यसपटक धेरै जिल्लाको भ्रमण गर्ने पाएँ। जुन साइत स्थानीय निर्वाचनले जुराइदिएको थियो।

म नेपाली कांग्रेसको महासमिति सदस्यसमेत रहेकाले पार्टी सभापति शेरबहादुर देउवालगायत अन्य नेतासँग प्रचारका क्रममा धेरै ठाउँको यात्रा गरेँ। यो यात्राले मेरो सोचाइमा समेत परिवर्तन ल्यायो। जबकि म सोच्थे– नेपालमा विकासै भएको छैन। जनता गरिब छन्। दुई छाक खान पनि पाएका छैनन् आदि। कुरो उल्टो भइसकेछ। मोटरबाटो नपुगेका ठाउँ छैनन्। गाउँमा पैसा गएको छ। जसबाट सडक बनाइएको छ। काठमाडौंबाट गाउँगाउँमा सहजरूपमा सामान पुगेका छन्। स्वास्थ्य केन्› खुलेका छन्। हातहातमा मोबाइल छन्। युवा पुस्ता त स्मार्टफोनमा उक्लेको छ। जसबाट छिनछिनमा संसारको कुनाकाप्चा नियाल्न सक्षम भएका छन्। मतलव परिवर्तन निकै भएछ।

२० वर्षपछि हुन लागेकाले होला, स्थानीय चुनावप्रति उत्तिकै उत्साह थियो। सामान्य सिफारिस आवश्यक पर्दासमेत कर्मचारी डराउने, नदिने, अझै कतिपय ठाउँमा हाकाहाकी घूस माग्ने परिपाटीले जनता आक्रान्त थिए। सबैभन्दा मुख्य कुरा राजनीतिको माध्यमबाट जनताको सेवा गर्छु भन्नेहरूले दुई दशकदेखि अवसर पाएका थिएनन्। धेरै युवा एकैपटक प्रौढ राजनीतिकर्मीमा परिणत भएका थिए। अब त्यो अध्याय समाप्त हुने आशा मतदातामा देखियो। चुनावपछि भने गाउँगाउँमा लोकतन्त्र र गणतन्त्रको मर्म पुग्ने विश्वास सबैमा दरिलो छ।

मेलम्ची आयोजनाले पाइप बिछ्याउन भत्काएको काठमाडौंका सडकमात्र हेर्दा 'लौ खत्तम भएछ' भन्ने लाग्न सक्छ। तर नेपाल भनेको काठमाडौंमात्र कदापि होइन। दूरदराजमा पुग्ने हो भने परिवर्तनको महसुस जो/कोहीले पनि गर्नसक्ने अवस्था छ। मुलुकमा वास्तविक प्रजातन्त्रको अभ्यास लामो समय हुन पाएको छैन। तर २०४८ देखि ७३ सालसम्मको मात्र अवस्था हेर्ने हो भने नेपालमा केही भएन भन्न मिल्ने अवस्था अब रहेन। २०४८ सालमा गरिबीको रेखामुनि रहेका नेपाली ४९ प्रतिशत थिए भने यो २१ मा झर्नुले पनि सकारात्मक परिवर्तन पुष्टि हुन्छ।

साक्षरता प्रतिशत ५० बाट ९०,शिशु मृत्युदर प्रतिहजारमा १०८ रहेकामा ३३, पिउने पानीको सुविधा २०४८ सालमा ३६ प्रशितमा रहेकामा अहिले ८४, कालोपत्रे र ग्राबेल सडक ४ हजार ६ सय १६ किलोमिटर रहेकामा अहिले ३२ हजार ६ सय ३९ किलोमिटर,  औसत आयु ५४ बाट ७१ वर्ष पुग्नु जस्ता तथ्यांकले परिवर्तनको प्रमाण पेश गरिरहेका छन्।

यसरी हेर्दा राजनीतिक अन्योल, अस्थिर सरकार र अस्थिर व्यवस्थाबीच पनि शिक्षा, स्वास्थ्य, पिउने पानी, जलविद्युत्, विकासको क्षेत्रमा भएको उपलब्धि उल्लेखनीय छ। अझ राजनीतिक स्थिरता भइदिएको भए योभन्दा कति बढी उपलब्धि हासिल हुन्थ्यो होला?– मेरो दिमागमा पटकपटक आइरहने प्रश्न बनेको छ यतिबेला। र, स्थानीय जनप्रतिनिधिले विदेशमा स्थापित नेपाली जनशक्तिलाई नेपालमै आकर्षित गर्ने वातावरण बनाउने हो भने हाम्रै पुस्तामा नेपालले समृध्दि हासिल गर्ने संकेतका रूपमा पनि लिएको छु मैले यो पछिल्लो परिवर्तनलाई।

नेका महासमिति सदस्य तथा जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्य

प्रकाशित: २९ असार २०७४ ०३:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App