८ वैशाख २०८१ शनिबार
राजनीति

विद्युतीय मतदान मेसिन अध्ययन गर्न आयोग टोली भारतमा

काठमाडौं- प्रादेशिक र संघीय संसद्को निर्वाचन प्रयोजनका लागि आवश्यक विद्युतीय मतदान यन्त्र (इभिएम) अध्ययनका लागि निर्वाचन आयोगको एक टोली भारत पुगेको छ। आयोगको सूचना प्रविधि महाशाखाका प्रमुख लक्ष्मीप्रसाद यादवको नेतृत्वमा गएको चार सदस्यीय टोलीले भारतमा निर्मित विद्युतीय मतदान यन्त्र आगामी चुनावमा प्रयोग गर्न उपयुक्त हुने/नहुने विषयमा अध्ययन गर्नेछ। टोलीमा आयोगका वैदेशिक सम्बन्ध महाशाखा प्रमुख नवराज ढकाल, कम्प्युटर इन्जिनियर समीर थापा र उपसचिव देशबन्धु अधिकारी छन्।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार टोली बैंगलोरस्थित भारत इलेक्ट्रोनिक लिमिटेड र हैदराबादमा रहेको इलेक्ट्रोनिक कर्पोरेसन अफ इन्डियाले उत्पादन गरेका विद्युतीय मतदान यन्त्रको अध्ययन गरी एक साताभित्र काठमाडौं फर्कने छ। २०६४ सालको संविधानसभा निर्वाचनमा यी कम्पनीबाट उत्पादित विद्युतीय मतदान यन्त्रको प्रयोग भएको थियो। सोही कम्पनीबाट उत्पादित विद्युतीय मतदान यन्त्रले आगामी चुनावमा प्रतिस्पर्धा गर्ने राजनीतिक दललाई समावेश गर्नसके  यसपटक आयोगले आगामी प्रादेशिक र संघीय संसदको निर्वाचनमा सोही कम्पनीबाट उत्पादित विद्युतीय मतदान यन्त्रको प्रयोग गर्नसकिने जनाएको छ। 'हाम्रो टोली अध्ययनका लागि भारत गएको छ फर्किएलगत्तै प्रतिवेदन बुझाउनेछ, त्यसका आधारमा हामी निर्णय लिन्छौं', प्रवक्ता शर्माले भने।

स्थानीय तह निर्वाचनअघि आयोगले बेलायतको स्मार्टम्याटिक कम्पनीबाट उत्पादित विद्युतीय मतदान यन्त्र खरिद गर्ने योजना बनाएको थियो। आयोगकै आयुक्तबीच मत नमिल्दा सो प्रस्ताव अन्तिम समयमा स्थगित गरिएको थियो। मतपत्रको आधारमा निर्वाचन गर्न झन्झटिलो र खर्चिलो भएका कारण निर्वाचन आयुक्तहरू आगामी प्रादेशिक र संघीय संसद्को निर्वाचनमा भारतमा उत्पादित विद्युतीय मतदान यन्त्रको प्रयोग गर्ने निष्कर्षमा पुगेका छन्। डेढ वर्षअघि प्रमुख निर्वाचन आयुक्त अयोाधीप्रसाद यादवले पनि ती कम्पनीको भ्रमण गरी अध्ययन गरेका थिए।

अध्ययन टोली भारत जानुअघि नै भारतीय निर्वाचन आयोगले उनीहरूलाई अध्ययनका लागि स्वीकृति दिएको थियो। ती दुवै कम्पनी भारतीय निर्वाचन आयोगद्वारा विद्युतीय मतदानका लागि प्रमाणित हुन् । २०६४ सालको संविधानसभा निर्वाचनमा भारतले सहयोगस्वरुप १२ सय थान विद्युतीय मतदान मेसिन नेपाललाई उपलब्ध गराएको थियो। आयोगले काठमाडौ क्षेत्र  नम्बर १ मा  ती विद्युतीय  मतदान मेसिनको सफल प्रयोग गरेको थियो। त्यसपछि भएका छ वटै क्षेत्रका उपनिर्वाचनमा पनि तिनै मेसिनबाट मतदान गराइएको थियो। २०७० सालको संविधानसभा निर्वाचनमा ती मेसिन प्रयोग प्रयास गरिए पनि राजनीतिक दलको संख्या धेरै भएका कारण मतपत्रबाटै निर्वाचन गरिएको थियो। त्यतिबेला ती मेसिनले अधिकतम ६४ राजनीतिक दललाई मात्रै समेटन सक्ने भएका कारण प्रयोग गर्न सम्भव भएको थिएन। अहिले १२८ वटा दललाईसम्म समेट्न सक्नेगरी विद्युतीय मतदान यन्त्र निर्माण गरिएका कारण प्रयोग सम्भव हुनसक्ने निर्वाचन आयुक्तहरूको भनाइ छ।

प्रकाशित: २९ असार २०७४ ०३:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App