६ वैशाख २०८१ बिहीबार
खेल

मैदानमा फर्किँदै एनआरटी

काठमाडौं- आठ दशक लामो इतिहास बोकेको न्युरोड टिम (एनआरटी) पुनः प्रतिस्पर्धात्मक फुटबलमा फर्कने भएको छ। साधारणसभाले फुटबल खेलेर क्लब ऋण तिर्न नसक्ने निर्णय गर्दै फुटबलबाट अलग भएको एनआरटी ऋणमुक्त भएर फुटबलमा फर्कन लागेको हो।

एनआरटी अखिल नेपाल फुटबल संघ (एन्फा) ले भदौ पहिलो साता आयोजना गर्ने सहिद स्मारक 'बी' डिभिजनमा भाग लिने तयारीमा जुटेको छ।

'हामी २०७० मा ए डिभिजनको हैसियतमा रहँदा क्लबको ऋण १ करोड ८३ लाख पुगिसकेको थियो। फुटबल खेल्दा र ब्याजले गर्दा ऋण बढेको बढ्यै भएकाले त्यति बेला हाम्रो साधारणसभाले पहिला ऋण तिर्ने अनि फुटबल खेल्ने निर्णय लियो। अहिले हेर्दा त्यो निर्णय सही देखिएको छ,' एनआरटीका अध्यक्ष दीपकहर्ष वज्राचार्यले भने, 'अब हामी ऋणमुक्त भएर पुनः फुटबलमा आएका छौं। अहिले आर्थिक समस्या छैन।'

त्रिपुरेश्वरस्थित आफ्नै चारवटा भवन भएको एनआरटी नेपालकै धनी क्लबमा पर्दछ। २०७० को 'ए' डिभिजन लिग नखेलेपछि एन्फा नियमानुसार एनआरटी स्वतः घटुवामा परेको थियो। त्यसयता पहिलोपटक आयोजना हुन लागेको 'बी' डिभिजनमा एनआरटीसहित १४ क्लबको सहभागिता रहनेछ।

ए डिभिजन लिग उक्लने लक्ष्यसाथ यसपटक एनआरटीले तयारी थालेको अध्यक्ष वज्राचार्यले बताए। 'श्याम मालीको नेतृत्वमा तीनजना प्रशिक्षक राखेका छौं। छुट्टै फुटबल समिति बनाएर काम गरेका छौं,' अध्यक्ष बज्राचार्यले भने, 'लिग खेल्न २५ खेलाडीसँग सम्झौता गरेका छौं।' यसपटक बी लिग खेल्दा ३५ लाख रुपैयाँ खर्च हुने एनआरटीको अनुमान छ।

एन्फाका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठको उपस्थितिमा एन्फा मुख्यालय सातदोबाटोमा सहभागी १४ क्लबका अध्यक्ष र महासचिवको संयुक्त बैठकले भदौ ५ गते बाट 'बी' डिभिजन लिग सुरु गर्ने निर्णय गरेको हो। राउन्ड रोबिन लिगमा हुने लिगमा जम्मा ९१ खेल हुनेछ।

कार्यवाहक अध्यक्ष श्रेष्ठले सहभागी टोलीलाई तयारीका लागि बल हस्तान्तरण गरेका थिए। तयारीवापत एन्फाले ४ लाख नगद र १ लाख बराबरको सिजनल टिकट उपलब्ध गराउने एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर जानकारी दिए। तुलाधरका अनुसार बी डिभिजनको च्याम्पियनले ट्रफीसहित ५ लाख  र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछन्।

तेस्रो टोलीले १ लाख ५० हजार र चौथो हुने टोलीले ७५ हजार रुपैयाँ पाउने छन्।

एनआरटीसहित २०७० मा ए डिभिजनबाट घटुवा भएका रानीपोखरी कर्नर टिम र ब्वाइज युनियन क्लबले पनि 'बी' लिगमा प्रतिस्पर्धा गर्नेछन्। 'बी' डिभिजनका अन्य क्लबमा मध्यपुर युथ, सामाजिक, नयाँबस्ती, सातदोबाटो, महावीर, टुसाल, च्यासल, श्रीकुमारी, पुल्चोक स्पोर्टस, बाँसबारी र खुमलटार रहेका छन्।

प्रकाशित: ८ श्रावण २०७३ ०४:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App