७ वैशाख २०८१ शुक्रबार
अर्थ

एनआरएनको संयुक्त लगानी मोडल : कृषिदेखि सुपरमार्केटसम्म ५० करोड लगानी

काठमाडौं– गैरआवासीय नेपाली (एनआरएन)को एक समूहले नेपालमा रोजगारी सिर्जना गर्नका लागि करिब ५० करोड रुपैयाँ लगानी गर्ने भएको छ। व्यावसायिक कृषि उद्यम, पर्यटन, शिक्षा, सुपरमार्केटमार्फत रोजगारी सिर्जना गर्नका लागि लगानी सुरु गरेकोे छ।

युरोप, अमेरिका, क्यानाडा, अस्ट्रेलिया, बेलायत लगायत विभिन्न मुलुकमा काम गरिरहेका करिब ४० जना एनआरएनको समूहले नेपालमा माउन्ट एभरेस्ट (एमई) ग्रुप कम्पनी दर्ता गरेर लगानी गरेका हुन्।

युरोप, अमेरिका, क्यानाडा, अस्ट्रेलिया, बेलायत लगायत विभिन्न मुलुकमा काम गरिरहेका करिब ४० जना एनआरएनको समूहले नेपालमा माउन्ट एभरेस्ट (एमई) ग्रुप कम्पनी दर्ता गरेर लगानी गरेका हुन्।

पहिलो चरणमा काठमाडौंमा ट्राभल एन्ड टुर्स र चितवनमा कृषि उद्यम सुरुवात गरेको एमई समूहका अध्यक्ष कमलराज अधिकारीले बताए। ‘सन् २०१७ मै करिब ५० करोड लगानी गर्ने योजनासहित परियोजना तयार गरेका छौं,’ अधिकारीले भने, ‘सन् २०२५ सम्ममा  प्रत्यक्षऔ-अप्रत्यक्ष पाँच हजारलाई रोजगारी सिर्जना गर्ने लक्ष्य छ।’

अमेरिकामा रहेका एनआरएन खगेन्द्र जिसि, क्यानाडाका तुलसी पौडेल, नेदरल्यान्डमा रहेका सुदेश श्रेष्ठ लगायत विभिन्न देशमा छरिएका एनआरएनले एमई समूहमा लगानी गरेका हुन्। विदेशमा रहेका एनआरएनलाई संगठित गर्दै लगानी बढाउँदै लैजाने योजना रहेको उनले बताए। ‘युवाहरुलाई विदेशिनु भन्दा स्वदेशमै रोजगारी सिर्जना गर्ने मुख्य लक्ष्य हो,’ अध्यक्ष अधिकारीले भने, ‘सामूहिक लगानीमा उद्यमशीलता बढाउने योजना हो।’

विदेशमा सिकेको सीपलाई स्वदेशमा ल्याएर युवाहरुलाई उद्यमशील बनाउने जनाएको छ। पर्यटन प्रवद्र्धनका लागि विभिन्न प्याकेज बनाएको एमई समूहका मार्केटिङ हेड युवक पराजुलीले बताए। ‘मुलुकमा पर्यटनको निकै सम्भावना रहेको छ,’ पराजुलीले भने, ‘विदेशी पर्यटकलाई ल्याएर मुलुकका विभिन्न ठाउँमा घुमाएर पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउनेछौं।’

एनआरएनको सहभागिता रहेकाले विश्वभर रहेका पर्यटकलाई नेपालमा ल्याउन गतिलो माध्यम बन्ने पराजुलीले बताए। ‘नेपालीले विदेशमा आफ्ना चिनजानका साथीहरुलाई यो अभियानमा जोड्न सक्छन्,’ उनले भने, ‘विदेशीमात्र नभएर नेपालबाट विदेश घुम्न जानेलाई पनि प्याकेज बनाएका छौं।’

सो समूहले चितवनमा १० बिघा जमिन लिएर कृषि उद्यम सुरु गरेको छ । माछापालन, भूरा, तरकारी खेती, कुखुरापालन, चल्ला उत्पादन गर्ने तयारी गरेको अध्यक्ष अधिकारीले बताए। एमई गु्रपले चितवनमा एग्रो पर्यटन प्रवद्र्धन गर्नका लागि स्थानीय किसानलाई समेत सहभागी गराई काम सुरु गरेको जिल्ला कृषि विकास कार्यालय, चितवनका वरिष्ठ कृषि विकास अधिकृत सोमनाथ घिमिरेले बताए।

‘चितवनको जगतपुर क्षेत्रमा एग्रो टुरिजम विकास गर्न लगानी गरेर काम सुरु गरेको छ,’ घिमिरेले भने, ‘एनआरएनको समूहले कृषि क्षेत्रमा लगानी गर्नु स्वागतयोग्य छ ।’ माछापालनका लागि पोखरी निर्माणको काम भइरहेको उनले बताए । ‘जगतपुर क्षेत्रमा पर्यटनको निकै सम्भावना छ,’ घिमिरले भने, ‘पर्यटनलाई कृषिसँग जोड्दा नयाँ गन्तव्य बन्न सक्छ ।’

यहाँ उत्पादन गरेको कृषिजन्य वस्तुलाई अर्गानिक उत्पादन गरेर विदेशसमेत निर्यात गर्ने योजना रहेको बताए । एमई समूहमा विदेशमा व्यावसायिक सफलता पाएका, अध्ययन अनुसन्धानमा ख्याती कमाएका व्यक्तिको संलग्नता रहेकाले मोडल परियोजना अघि बढाउने उनीहरुको दाबी छ । ‘नेपालीले विदेशमा पाएको सफलतालाई स्वदेशमा पनि प्रयोगमा गर्न लागेका हौं,’ अध्यक्ष अधिकारीले भने, ‘युवालाई विदेश होइन स्वदेशमै केही गर्न सकिन्छ भनेर प्रेरणा जगाउछौं ।’

यो समूहले बहुराष्ट्रिय कम्पनीको रुपमा विदेशमा समेत शाखा विस्तार गरेर व्यवसाय विस्तार गर्ने जनाएको छ। विदेशमै व्यवसाय गर्न चाहने नेपाली उद्यमीलाई पनि सघाउने योजना अनुसार बहुराष्ट्रिय कम्पनी स्थापना गरेको समूहको भनाइ छ। यसका लागि फ्रान्सको पेरिसमा पनि यसको शाखा विस्तार गरिएको उनले बताए। ‘एमई ग्रुपकै नाममा विदेशमा पनि व्यवसाय विस्तार हुन्छ,’ अधिकारीले भने, ‘विदेशको आम्दानीलाई पनि नेपालमै ल्याएर लगानी बढाउँदै लैजान्छौं।’

पेरिसमा २० करोड रुपैयाँको लगानीमा सुपरमार्केट सुरु गर्न लागेको बताइएको छ । एमई ग्रुपका अध्यक्ष अधिकारीले फ्रान्समा होटल व्यवसाय सञ्चालन गर्दै आएका छन् । एमई ग्रुपको उपराष्ट्रपति नन्दकिशोर पुन, मन्त्री परिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीले गत वैशाखको पहिलो साता शुभारम्भ गरेका थिए।
 

प्रकाशित: २७ असार २०७४ १२:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App