coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

निर्णायक दुई 'बागी' उम्मेदवार

दाङ- चुनावअघि लमही नगरपालिकाका मेयर 'कांग्रेस बागी' उम्मेदवार डिल्लीबहादुर खड्काले नागरिकसँग भनेका थिए, 'म हराउनलाई हैन, जित्नका लागि चुनाव लड्दैछु।' परिणाम उनी मेयरका लागि भने निकै 'अयोग्य' उम्मेदवार साबित भए। कुल १९ हजार सात सय १९ मतमध्ये उनले दुई सय ३९ मत पाए। झिनो मत प्राप्त गरेर हार व्यहोरेका उनै खड्काको २ सय ३९ मत कांग्रेसका लागि भने निकै चोटिलो बन्यो। खड्का आफूले जित्न त सकेनन् तर कांग्रेसलाई हराउने मिसनमा भने उनी 'हिरो' बनिदिए। खड्काले काटिदिएको २ सय ३९ मत कांग्रेसकै पोल्टामा जान सकेको भए लमही नगरको नेतृत्व कांग्रेसले गरेको हुन्थ्यो। तर कांग्रेसका आधिकारिक उम्मेदवार जोगराज चौधरी आफ्ना प्रतिस्पर्धी एमालेका कुलबहादुर केसीभन्दा ८३ भोटले पराजित बने। 'उहाँ (खड्का) बागी नउठिदिएको भएमात्रै कांग्रेसको जित सुनिश्चित थियो,' कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले भने, 'खड्काले काटेको मत पूरै कांग्रेसीकै हो, त्यो मत खापिएको भए अहिले लमही नगरको नेतृत्व कांग्रेसले गरेको हुन्थ्यो।' 

खड्का न आफू उत्रन सके न त कांग्रेसलाई जितको मुखमा पुग्न दिए। कांग्रेसलाई हराएर आफूले हारेका उनी आफ्नो मिसनमा सफल भएका छन्। यसर्थ उनलाई आफूले हारेको पीडाभन्दा कांग्रेसले हारेको खुसी पक्कै भएकै हुनुपर्छ। कांग्रेसले खड्कालाई टिकट नदिएको परिणाम थियो, लमही कांग्रेसको हार। खड्काको आक्रोश टिकट वितरणका 'हिरो' आफ्नै काका खुमबहादुर खड्कामाथिको हो। लामो आश्वासनपछि खुमबहादुरले आफूलाई टिकट नदिएपछि डिल्लीबहादुरले 'बागी बनेर देखाइदिने' धम्की दिएर काठमाडौंबाट दाङ झरेका थिए। नभन्दै उनले निर्वाचनमा कांग्रेसलाई हार खुवाइदिए। यसर्थ टिकट वितरणका 'हिरो' खुमबहादुरलाई हराउन सक्ने सामर्थ्य प्रस्तुत गरेर भतिजा डिल्लीबहादुर झनै 'हिरो' साबित भएका छन्।

'म कसैको पकेटबाट चल्ने पार्टीको गलत संस्कारविरुद्ध चुनावमा स्वतन्त्र रूपमा भिडेको हुँ,' उनले भने, 'पार्टी कसैको पेवा हैन, हामी कार्यकर्ताको पनि हो कांग्रेस।'

स्थानीय तह निर्वाचनमा जिल्लामा ८६ जना स्वतन्त्र उम्मेदवार जनप्रतिनिधि बन्ने रेसमा उत्रिए।  यीमध्ये अधिकांश कांग्रेसदेखि असन्तुष्ट थिए। सामान्यतया बागीहरू आफू जित्नका लागि भन्दा पनि हराउन खतरनाक साबित हुन्छन्। कांग्रेसबाट उठेका सबै बागीले 'जित्ने वा हराउने' सामर्थ्य राख्न त सकेनन्। तर दुई बागी भने 'हिरो' कहलिए। उनीहरूले आफ्नै पार्टीलाई हार खुवाइदिए। एक हुन् लमहीका डिल्लीबहादुर खड्का र अर्का हुन् बबई गाउँपालिका ७ का कांग्रेसका बागी महावीर चौधरी।

डिल्लीले कांग्रेसलाई हराउन मात्रै सके, तर महावीरले कांग्रेस र एमालेलाई पछार्दै सहज जित निकालेर 'महावीर' बने। कांग्रेसलाई उनै महावीरले तेस्रो स्थानमा पुर्‍याइदिए।

बबई गाउँपालिका ७ को वडाध्यक्षका लागि बागी उठेका उनी विजयी भएका हुन्। यो वडामा एमाले दोस्रो स्थानमा रह्यो भने कांग्रेस तेस्रो स्थानमा पुगेको थियो। बागी उम्मेदवार चौधरीले ४ सय ४४ मतका साथ विजयी प्राप्त गर्दा एमालेका उम्मेदवार ६ मतले पछि परे भने कांग्रेसका उम्मेदवार २४ मतले पछि परे।  'म नउठेको भए कांग्रेसको जित सुनिश्चित थियो,' उनले भने, 'पार्टीमा भएको एकल निर्णयको विरोधमा मलाई बागी उठ्नैपर्ने बाध्यता आइलाग्यो।'

'तेस्रोमा रहेको कांग्रेस र चुनाव जितेका बागीको मत एकमुष्ट बन्न सकेको भए त कांग्रेसको जित सुनिश्चित हो नि,' लेखक विपुल पोख्रेलले भने, 'कांग्रेसभित्रको असन्तुष्टिलाई प्रचार गरेर बागीले उही कांग्रेसकै भोट तानेका हुन्।'

वडाध्यक्षमा निर्वाचित चौधरी पनि टिकट वितरणप्रति असन्तुष्ट भई बागी उठेका थिए। सुरुमा उनलाई वडाध्यक्षको टिकट दिने सहमति बनेको थियो। तर उनलाई अध्यक्षको टिकट दिलाउने निर्णयको चर्को विरोध भयो र पार्टीको आधिकारिक टिकट उनीबाट खोसियो। आफ्नो पक्षमा आइसकेको टिकट खोसिएको भन्दै रुष्ट उनी बागी बनेरै लड्ने योजनामा पुगेका हुन्। 'सुरुमा मलाई टिकट आइसकेको थियो,' उनले भने, 'तर मेरो चर्को विरोध गरेर टिकट खोसियो, अनि म बागी बनेरै जित्ने योजनामा लागेको हुँ।'

यी दुई तहमा निर्णायक बनेका बागीका कारण कांग्रेसले भोग्नुपरेको पराजयको मूल कारण कांग्रेस अभिभावकविहीन अवस्थामा चुनावमा होमिनु हो। 'कांग्रेसले यो चुनावमा अभिभावक पाउन सकेन,' पोख्रेलले भने 'पार्टीभित्रको असन्तुष्टि सम्बोधन गर्ने अभिभावक भइदिएको भएमात्रै बागी उठ्ने अवस्था आउने थिएन।'

प्रकाशित: २७ असार २०७४ ०३:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App