७ वैशाख २०८१ शुक्रबार
अन्य

‘धुलोमुक्त सहर बनाउँथेँ’

मेनुका प्रधान, अभिनेत्री

तपाईंलाई मनपर्ने सहर कुन हो ?
धेरै देश घुमेँ तर मलाई नेपालकै सहर राम्रा लाग्छन् । राम्रो लाग्न सहर नै हुनुपर्छ भन्ने छैन । गाउँ पनि सुन्दर हुन्छन् । देशभित्र घुमेका ठाउँमध्ये मलाई मुगु राम्रो लाग्यो । त्यहाँ पुराना कलाकृति जीवितै भेटिन्छन् । नेपालीपन र पहिलेका मानिसको जीवनशैलीका कलाकृति नियाल्न पाउँदा एकदमै आनन्द आउँछ । 

तपाईंलाई आफ्नो सपनाको सहर कस्तो होस् भन्ने लाग्छ ?
देशभित्रै मेरो सपना होस् भन्ने लाग्छ तर धेरै कारणले हाम्रा सहर सफा, सुन्दर र व्यवस्थित हुन सकेका छैनन् । हाम्रा जुनसुकै सहरमा नेपालीपन छ । यहाँको वातावरण पनि उत्तिकै मिल्दो र आनन्ददायी छ । विदेशमा घुमेका धेरै सहर बरु मलाई बनावटी लाग्यो । तिनकोे इतिहास पनि खासै पुरानो छैन । हाम्रा सहरको इतिहास र महत्त्व बेग्लै छन् । यहाँका वनपाखा, डाँडाकाँडा, हरियाली, वातावरणीय अनुकूलता, कलकल बग्ने पानी, झरना र ऐतिहासिक मठ–मन्दिर अन्यत्र पाइँदैन । नेपाल नै स्वर्ग हो, हामीले आफ्नो ठाउँलाई चिन्न र राम्रो बनाउनु जरुरी छ ।

बनावटी भए पनि अरु मुलुकका सहर चर्चित छन्, हाम्रो मुलुकका सहरमा यतिधेरै विशेषता हुँदाहुँदै पनि कतै चर्चा नहुनुको कारण के होला ? 
हाम्रो देशका सहर र सुन्दर स्थानबारे विश्वका धेरै मानिसलाई थाहा छैन । कतिपयले त नेपालको नाम पनि नसुनेको मैले पाएँ । हाम्रा सहरलाई अरु देशमा चिनाउन र पर्यटन विकास गर्न सरकारले नीति ल्याएर काम गर्नुपर्छ जस्तो लाग्छ । बनाउने हो भने हाम्रा सहर विश्वकै उत्कृष्ट सहर बन्न सक्छन् । प्राकृतिक सुन्दरता भए पनि विकास निर्माणका कामले सोचेजस्तो गति लिन नसक्दा हामी पछि परेका हौँ । 

सहरलाई सफा र सुन्दर बनाउन के गर्नुपर्ला ? 
सहरलाई चिटिक्क राख्न सरकार मात्रै होइन, नागरिक पनि जागरुक हुनुपर्छ । जथाभावी फोहोर फाल्ने प्रवृत्ति हटाउनुपर्छ । सरकारले सबैखाले सेवा–सुविधा दिएर सहरवासीको दिकदारी हटाउन जरुरी छ । सहरमा बस्ने अधिकांश मानिस यहाँको भद्रगोल र झन्झटदेखि हैरान छन् । धुँवाधुलो, ट्राफिक जाम, पार्किङलगायत विषयलाई केन्द्रमा राखेर जिम्मेवार निकायले काम गर्नुपर्छ ।

सहरको मनपर्ने र मननपर्ने पक्ष के–के हुन् ?
मैले घुमेका विदेशी सहरभन्दा हाम्रा सहर राम्रा छन् । हाम्रा हरेक सहरमा मौलिकता भेटिन्छ । अरु देशका सहरमा मौलिकता खासै हुँदैन । हाम्रा सहरको नराम्रो पक्ष भीडभाड हो । मलाई यहाँको मौसम, हावापानी र मठ–मन्दिर राम्रो लाग्छ । यहाँको मननपर्ने पक्ष भनेको धुँवाधुलो, ट्राफिक जाम र अव्यवस्थित पार्किङ हो ।

तपाईं काठमाडौंको मेयर बन्न पाए के गर्नुहुन्थ्यो ?
राजधानीवासीले भोग्दै आएका साझा समस्यालाई समाधान गर्थें । सडक निर्माणलाई चाँडै सकाएर धुलोमुक्त सहर बनाउँथेँ । यसबाहेक समय–समयमा स्थानीयसँग अन्तक्र्रिया गर्दै उहाँहरूका समस्या समाधान गर्थें ।
प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: २६ असार २०७४ ०६:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App