coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कवाडी बने महँगा कार

काठमाडौं- राजपरिवारका पूर्वसदस्य, पूर्वप्रधानमन्त्री तथा अन्य विशिष्ट व्यक्तिले प्रयोग गरेका महँगा मोटर सरकारी कार्यालयमा थन्किएका छन्। विभिन्न मन्त्रालयमा थन्क्याइएका मर्सिडिजसहितका करिब दुई दर्जन मोटर हालकै अवस्थामा सञ्चालनमा ल्याउन सकिने अवस्थामा छन्।

अन्य सवारी साधन भने मर्मत गरी संचालनमा ल्याउन सकिने अवस्थामा भएपनि त्यसतर्फ चासो देखिदैन। बरु, नयाँ सवारी खरिदमा ध्यान गएको पाइन्छ। अहिले राष्ट्रपतिको सवारी चलाउन राष्ट्रपति कार्यालयले सरकारसँग नयाँ गाडी किन्न प्रस्ताव गरेको विषयलाई एउटा उदाहरणको रुपमा लिन सकिन्छ।

रक्षा मन्त्रालयले १६ करोड रुपैयाको नयाँ मोटर किन्ने राष्ट्रपति कार्यालयको प्रस्तावमाथि मूल्यांकन गरिरहेको छ। गत साता राष्ट्रपति कार्यालयले मन्त्रालयलाई पत्र लेख्दै नयाँ मोटर किन्न १२ करोड रुपैयाँ थप्न प्रस्ताव गरेको हो जवकि यसअघि नै सरकारले ४ करोड रुपैयाँ दिने प्रतिवद्धता व्यक्त गरेको थियो।

राष्ट्रपति कार्यालयबाट प्रस्तावित कार खरिद गरिएमा त्यो उच्च सुरक्षा संवेदनशीलता भएको देशका सरकार तथा राष्ट्रप्रमुखले चढ्नेभन्दा पनि महँगो सवारीसाधन हुनेछ। पूर्व विशिष्ट अधिकारीले प्रयोग गरेका मोटर विदेश मन्त्रालय, प्रधानमन्त्री कार्यालय तथा नारायणहिटी दरबार र नेपाली सेनाको मुख्यालयका ग्यारेजमा थन्किएका छन्। स्रोतहरुले राष्ट्रपति कार्यालयलाई मोटर अभाव नभएको दाबी गरेका छन्। सो कार्यालयमा ८ वटा विलासी कार छन् जसमध्ये सबै सञ्चालन हुनसक्ने अवस्थामा छन्। राष्ट्रपति भण्डारीले दुई बुलेट प्रुफ गाडी मर्सिडिज बेन्ज इ क्लास डब्लु टु टेन र जुकार एजे आलोपालो चढ्दै आएकी छिन्।

'राष्ट्रपतिले पूर्वराष्ट्रपति रामवरण यादवले प्रयोग गरेको सवारीसाधन प्रयोग गदर्ैै आउनुभएको छ। राष्ट्रपति कार्यालयमा नयाँ कार छैन,' राष्ट्रपति कार्यालयको व्यवस्थापन महाशाखाका प्रमुख हरि दवाडीले भने।

यता कतार र दक्षिण कोरियाले दिएका कम्तीमा दस विलासी मोटर प्रयोग नगरी परराष्ट्रमा राखिएको छ। नेपाल सरकारको आग्रहमा गत वर्षको वैशाखमा कतार सरकारले ८ वटा मर्सिडिज बेन्ज इ क्लास कार र मर्सिडिज बेन्ज जिप उपहार दिएको थियो।

नारायणहिटी दरबार परिसरमा थन्क्याएर राखिएका दुई दर्जन गाडीमध्ये ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनका समयमा सवारी चलाउन किनिएको ६ वटा बुलेट प्रुफ कारसमेत छन्। २०६१ सालमा २८ करोड रुपैयाँ खर्च गरेर नौ वटा बुलेट प्रुफ कार किनिएको थियो। तीमध्ये अहिले तीनवटा मात्रै प्रयोगमा छन्।

अर्थ मन्त्रालयका अधिकारीले सिंहदरबारको विभिन्न कुनामा धेरै महँगा मोटर त्यसै थन्क्याएर राखिएको बताए।  यस्ता मोटर मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने अवस्थामा रहेको ती अधिकारीको भनाई  छ। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र सूर्यबहादुर थापासहितका पूर्ववरिष्ठ अधिकारीले प्रयोग गरेका यस्ता कारको संख्या एक सयभन्दा बढी रहेको अर्थ स्रोतले बतायो। 'सामान्य मर्मत सम्भार गरेको आधारमा यस्ता कार प्रयोग गर्न सकिन्छ तर सबै नयाँ कार चाहन्छन्। हाम्रो मन्त्रालय कारको पुनः प्रयोगका लागि बजेट दिन चाहन्छ तर कोही पनि लिन चाहँदैनन्,' मन्त्रालयका एक अधिकारीले भने।

प्रकाशित: २६ असार २०७४ ०३:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App