७ वैशाख २०८१ शुक्रबार
राजनीति

मेयर नै पराजुलीको ‘लक्ष्य’

विराटनगर- स्थानीय तह पुनःसंरचना गर्दा जनसंख्या नपुगेर विराटनगर महानगरपालिका बन्न सकेन। एक ाका मुलुककै दोस्रो ठूलो सहर विराटनगर महानगर बन्न नसक्दा यहाँका नागरिक दुःखी भए। प्रदेश नम्बर १ को प्रस्तावित राजधानी विराटनगरलाई महानगरपालिका बनाउन राजनीतिक दलले फेरि पहल थाले।

सरल स्वभावका पराजुलीले पार्टीभित्र पनि विराटनगरबाहिरको पद कहिल्यै ताकेनन्। दुईपटक नगर सभापति भइसकेका पराजुलीको राजनीतिक लक्ष्य विराटनगर बनिरहयो।

स्थानीय तहको निर्वाचन नजिकिएकाले दलले ‘महानगर’ लाई चुनावी हतियार बनाउन खोजे। एकअर्कामाथि दोष लगाउँदै दलले महानगर बनाउन लबिङ तीव्र पारे। कांग्रेसभित्र महानगर बनाउने विषयमा एकमत देखिएन। विराटनगरमा गाभिने थप भूगोलका कारण कांग्रेसका केही नेता महानगर बनाउने विषयमा अनुदार देखिए। पार्टीकै उपल्ला नेता असन्तुष्ट हुँदा पनि कांग्रेसका नगर सभापति भीम पराजुलीले भने महानगरपालिका बनाउन अभियान नै थाले।

पराजुलीको अभियानलाई युवाले साथ दिए। उनले महानगरपालिका बनाउन विराटनगरदेखि काठमाडौंसम्मको दौडधूप तीव्र बनाए, पार्टीका नेतालाई ‘कन्भिन्स’ गरे। मन्त्रिपरिषद्को निर्णयबाट विराटनगर महानगरपालिका भयो। चुनाव पनि नजिकै आइसकेको थियो। पराजुलीले मेयरमा उम्मेदवार बन्ने इच्छा विराटनगर उपमहानगर हुँदा नै पार्टीमा व्यक्त गरेका थिए। महानगर भएपछि मेयरका आकांक्षी कांग्रेसमै दर्जनभन्दा बढी भए। त्यसमा 'हेभिवेट' नेता पनि मिसिए।

कोइराला परिवारको 'लिगेसी' जोडिएको विराटनगरमा मेयरको उम्मेदवार बन्नु ‘पहाड छिचोल्नु’ जत्तिकै हो। डा. शेखर कोइराला, सुजाता कोइराला, महेश आचार्य, मीनेन्द्र रिजाल र अमृत अर्याल, कांग्रेसका यी सबै नेताका ‘नजिक’ काले मेयरमा उम्मेदवार बन्ने आकांक्षा राखे। अर्याल त आफैं पनि उम्मेदवार बन्न खोजे। पार्टी सभापति शेरबहादुर देउवा पक्षका आकांक्षी पनि थुप्रै थिए। एउटै दलभित्र यति बढी मेयरका आकांक्षी हुनुमा विराटनगर महानगरपालिका बनेकाले पनि थियो। टिकट सिफारिसको अन्तिमतिर पराजुलीको पक्षमा युवाले विशाल समर्थन जनाए, टिकटका लागि दललाई दबाब दिए।

कांग्रेेसभित्रको जनमत र युवाको दबाबपछि पार्टीले पराजुलीलाई उम्मेदवार बनायो। दोस्रो चरणको स्थानीय तह निर्वाचनमा महानगर विराटनगरमात्र थियो। पहिलो चरणको चुनावमा ललितपुरबाहेक तीन महानगर गुमाइसकेको कांग्रेसलाई ‘आफ्नो आधार क्षेत्र’ भए पनि विराटनगरसमेत गुम्ने चिन्ता थियो।

मेयर आकांक्षीमध्ये पराजुली कांग्रेसमा राजनीतिक यात्रा र उमेरमा पनि कान्छा हुन् तर उनको लोकप्रियताको उचाइ भने विराटनगरमा अरुको भन्दा अग्लो छ। ‘मैले प्रचारप्रसारभन्दा बढी कसरत टिकटकै लागि गर्नुपर्‍यो,’ केही दिनअघि पराजुलीले भनेका थिए, ‘मतदातासँग त प्रत्यक्ष भेट्न नै पाइनँ। चुनावअघिकै भेटघाट र कामलाई मूल्यांकन गरेर जनताले मत दिएका हुन्।’ सरल स्वभावका पराजुलीले पार्टीभित्र पनि विराटनगरबाहिरको पद कहिल्यै ताकेनन्। दुईपटक नगर सभापति भइसकेका पराजुलीको राजनीतिक लक्ष्य विराटनगर बनिरहयो। ‘मैले चाहेको भए पार्टीको जिल्ला वा अन्य तहमा पनि काम गर्न सक्थें,’ उनले भने, ‘तर विराटनगरले मलाई बाँधिरह्यो।’

विराटनगरमा क्रियाशील राजनीतिक, सामाजिक, धार्मिक, शिक्षा र खेलकुदसँग सम्बन्धित २४ वटा संस्थामा उनी त अध्यक्ष नै हुन्। राजनीतिबाहेक धर्मकर्ममा बढी रुचि राख्ने पराजुलीको हस्ताक्षर रहेको बधाई र संवेदनापत्र विराटनगरका ५ हजारभन्दा बढी घरमा छन्। ‘अबेर राति पनि कहींकतै समस्या परे उनी हिँडिहाल्छन्,’ पराजुलीका छिमेकी पुष्पविक्रम बस्नेतले भने, ‘विराटनगरका लागि उनी सुखदुःखका सारथि नै बनेका छन्।’

एकै थलोमा नेता उभ्याउन सफल

मोरङको राजनीतिमा नेपाली कांग्रेसका नेता कहिल्यै एउटै थलोमा उभिएका छैनन्। विराटनगर महानगरपालिकामा टिकट वितरणअघि पनि नेताको ‘मुख’ चारतिर थियो।

मेयरका आकांक्षी पनि एउटाएउटा नेतालाई समातेर आफ्नो लबिङ गरिरहेका थिए। टिकट वितरणको अन्तिमतिर अमृत अर्याल, डिला संग्रौला र भीम पराजुलीमध्ये एक छान्न पार्टीभित्र दबाब बढ्यो। जिल्ला कमिटीले विराटनगरमै बसेर निर्णय गर्न सकेन। सिफारिसको सबै फाइल बोकेर जिल्ला कमिटी नै काठमाडौं हिँड्यो। आकांक्षी पनि काठमाडौं पुगे। डा. शेखर, सुजाता, महेश र मीनेन्द्र मेयरमा पराजुलीलाई टिकट दिनुपर्ने पक्षमा उभिए।

टिकट वितरणपछि मधेसी, मारवाडी, मुस्लिम र थारु समुदायलाई नसमेटेकोमा कांग्रेसभित्र तीव्र असन्तुष्टि देखियो। कांग्रेसले चुनावका लागि नेता विमलेन्द्र निधिलाई मोरङको कमान्डर तोक्यो। पराजुलीले निधि आएको मौका छोपेर दलका सबै नेतालाई एकै थलोमा डाके। त्यसले कांग्रेसभित्र एकताको सन्देश प्रवाह भयो। नेता निधिले एक साता विराटनगरमै बसेर असन्तुष्टलाई फकाए। डा. शेखरले महिना दिनसम्म यहीं बसेर चुनावी अभियानलाई अगाडि बढाए।

कांग्रेसलाई तालमेलको फाइदा

 राजनीति र आर्थिक विरासतसँग जोडिएको विराटनगर महानगरपालिकाको चुनावलाई सबै दलले ‘प्रतिष्ठा’ सँग जोडेर हेरेका थिए। त्यही भएर चुनावी अभियानको बेला सबै दलका शीर्ष नेताले यहाँ विशेष कसरत गरेका थिए।

 विराटनगरमा चुनाव जित्न चार ठूला दलबीच तालमेल भयो। नेकपा एमाले र नेपाल लोकतान्त्रिक फोरम तथा संघीय समाजवादी फोरम र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल भयो। एमालेबाट मेयरमा मोरङका अध्यक्ष विनोद ढकाल र उपमेयरमा लोकतान्त्रिक फोरमकी सुचि चौधरी उम्मेदवार बने। एमालेका ढकाल विराटनगरका चर्चित नेता हुन्। फोरमकी चौधरीको राजनीतिक यात्रा उपमेयरको उम्मेदवार बनेरै सुरु भएको हो। संघीय फोरमबाट पूर्वजिल्ला अध्यक्ष उमेश यादव मेयरमा र माओवादी केन्द्रबाट नमिता न्यौपाने उपमेयरमा उम्मेदवार भए।

 कांग्रेस चुनावमा एक्लै उत्रियो। तालमेल गरेका चारवटै दल र उम्मेदवार कांग्रेसका लागि चुनौती नै थिए। प्रतिद्वन्द्वीको बलियो गठबन्धनले कांग्रेसभित्र तरंग नै ल्यायो। तर, मेयरका उम्मेदवार पराजुली ‘आशावादी’ नै देखिन्थे। ‘विराटनगरको हरेक घरमा पुगेको छु, सबैको सुखदुःखमा सरिक भएको हुन्छु,’ उनले भने, ‘त्यसैले मतदाताले मलाई जिताउँछन् भन्ने लागेको थियो।’

चार ठूला दलबीचको तालमेलले ती दलभित्र देखिएको असन्तुष्टिको फाइदा पनि पराजुलीलाई नै भयो। धेरैको असन्तुष्टि मतपत्रमै देखियो। अर्को फाइदा, दलबीच तालमेल भएपनि चुनाव चिह्न फरकफरक भएकाले प्रतिद्वन्द्वीको धेरै मत बदर भयो।

१ लाख १३ हजार मतदाता रहेको विराटनगरमा १४ असारमा भएको चुनावमा ८० हजार ४ सय ७७ मत खसेको थियो, जसमा मेयरमा ६१ हजार २ सय ७० मत सदर भएको छ। मेयरमा मात्रै १९ हजार २ सय ७ मत बदर भएको छ। मेयरमा बदर भएको बढी मत तालमेल गरेकै दलका उम्मेदवारको रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उपमेयरमा खसेको कुल मतमा ४७ हजार ९ मतमात्रै सदर भएको छ।

महानगरमा कांग्रेसलाई बहुमत

१९ वडा रहेको विराटनगरमा कांग्रेसले मेयर र उपमेयरसहित सातवटा वडा जितेको छ। संघीय फोरमले ६, एमालेले ३, माओवादी केन्द्रले १ र स्वतन्त्र उम्मेदवारले २ वडा जितेका छन्। मेयरमा पराजुलीले २३ हजार ३१ मत र उपमेयरमा इन्दिरा कार्की २० हजार १ सय ४६ मत ल्याएर विजयी भए।

शनिबार राति अबेर घोषणा गरिएको अन्तिम परिणामअनुसार एमालेका मेयर उम्मेदवार ढकालले १७ हजार ३ सय २१ र उपमेयरमा लोकतान्त्रिक फोरमकी चौधरीले १० हजार ५ सय ३६ मत ल्याए। संघीय फोरमका मेयर उम्मेदवार यादवले १४ हजार ९ सय ५८ र उपमेयरमा माओवादी केन्द्रकी न्यौपानेले ११ हजार ५ सय २४ मत ल्याए।

कांग्रेसले विराटनगरका वडा नम्बर १, ३, ४, ७, ८, ९ र १६, संघीय फोरमले १२, १३, १४, १५, १७ र १८, एमालेले २, ५ र ११, माओवादी केन्द्रले ६ तथा स्वतन्त्र उम्मेदवारले १० र १९ नम्बर वडाध्यक्ष जितेका छन्।

प्रकाशित: २६ असार २०७४ ०२:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App