५ वैशाख २०८१ बुधबार
राजनीति

धरानमा एमालेले मतान्तर बढाउँदै, तीन दिनपछि 'फाइनल रिजल्ट'

धरान- प्रदेश नं १ अर्न्तगत धरान उपमहानगरपालिकाको अन्तिम मतपरिणाम आउन अझै ३ दिन लाग्ने अनुमान छ। वडा नं ९ र १० को नतिजा घोषणाअघि विवाद उत्पन्न भएर २ दिनसम्म गणना कार्य रोकिएको कारण धरानबासीहरुले नयाँ मेयर र उपमेयर पाउन ढिलाई भएको हो।

निर्वाचन अधिकृतको कार्यालयले अनुभवी गणक कर्मचारीहरु थपेर मतगणना कार्यलाई तीब्रता दिए पनि गणनाको अन्तिम नतिजा आउन ३ दिन लाग्नसक्ने जनाएको छ। निर्वाचन कार्यालयले विवादित दुई वडाको पुनःमतगणना गर्ने निर्णय गरेपछि दलहरुको सहमतिमा सोमबार रातीदेखि गणनाले तीब्रता पाएको हो।

अहिले वडा ९ र १० को पुनःमतगणनासँगै वडा ११, १५, १६, १७, १८ र १९ को पनि गणना भइरहेको छ। 'अहिले दलहरु, प्रहरी प्रशासन सबैबाट पनि सहयोग पाइराखेका छौं, गणनामा कुनै विवाद छैन,' निर्वाचन अधिकृत कमलबहादुर थापाले भने, 'गणकहरु थप गरेर गणनालाई तीब्रता दिइरहेका छौं।'

कार्यालयका अनुसार आइतबार दिउँसोसम्म धरानको ११ वटा वडाको गणना सम्पन्न भइसकेको थियो भने ९ वटाको गणना जारी थियो। त्यसबेलासम्म खसेको मतमध्ये करिब ३८ हजारको हाराहारीमा मतगणना भएको अधिकृत थापाको भनाई छ। असार १४ गतेको निर्वाचनमा धरानमा ५३ हजार ८ सय १२ मत खसेको थियो। निर्वाचन कार्यालयका अनुसार गणकहरु थपेर ९ वटा समूह बनाएर मतगणनालाई तीब्रता दिइएको छ। 'पर्सी मंगलबार मध्याह्नसम्म मतगणनाको अन्तिम नतिजा आइसक्छ भन्ने अनुमान छ, त्यसको लागि ५४ गणक कर्मचारी ल्याएर ९ वटा टिममा गणना गरिरहेका छौं,' अधिकृत थापाले भने।

आइतबार साँझसम्मको मतपरिणाम अनुसार कांग्रेसले ४ वडा र एमालेले ८ वडामा प्यानल जित पाएको छ। कांग्रेसले १, २, ५ र १४ मा प्यानल जित्दा एमालेले ३, ४, ६, ७, ८, १२, १३ र २० वडामा प्यानल जित पाएको छ। माओवादी केन्द्र, संघीय समाजवादी फोरम गठबन्धनले भने कुनै पनि वडामा जित्न सकेको छैन।

गणना भइरहेको ९ वटा वडामध्ये १८ मात्र कांग्रेसको प्यानल र १७ मा वडाअध्यक्षमा माओवादीको बाहेक अन्य वडामा पनि एमाले उम्मेदवारकै अग्रता छ।

मेयर, उपमेयरमा एमालेको फराकिलो अन्तर

धरान उपमहानगरको जारी मतगणनामा मेयर र उपमेयरमा एमाले उम्मेदवारको मतान्तर बढ्दै गएको छ। आइतबार साँझसम्मको पछिल्लो मतपरिणाम अनुसार एमालेका मेयर उम्मेदवार तारा सुब्बाले कांग्रेसका उम्मेदवार तिलक राई भन्दा ३ हजार १ सय मतले अग्रता लिएका छन्।

गणना सम्पन्न भइसकेको १२ वटा वडा र मतगणना जारी रहेको ८ वटा वडाको पछिल्लो मतपरिणाम अनुसार एमालेका मेयर उम्मेदवार सुब्बाले १४ हजार ७ सय २० मत पाएका छन् भने कांग्रेसका उम्मेदवार राईले ११ हजार ६ सय २० मत छ। यस्तै, तेस्रो स्थानमा रहेको माओवादी केन्द्रका उम्मेदवार अइन्द्रबिक्रम बेघाले ६ हजार ८ सय ९४ मत पाएका छन्।

उपमेयरमा पनि एमालेकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले कांग्रेसकी उम्मेदवार श्यामा रेग्मी भन्दा ४ हजार २ सय ५ मतले अग्रता लिएकी छिन्। एमालेकी भण्डारीले १४ हजार ९सय ६४ मत पाउदा कांग्रेसकी रेग्मीले १० हजार ७ सय ५३ मत पाएकी छिन्। यस्तै, माओवादी समाजवादी गठबन्धनका उपमेयर उम्मेदवार पारस राईले ३ हजार ८ मत मात्र पाएका छन्।

प्रकाशित: २५ असार २०७४ १३:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App