सुख, दुःख के हो सोध मलाई
तृष्णा, इच्छा, चाहना के हो यहाँ अर्थ छैन कसैलाई...
नेपाली कथानक चलचित्र धनपतिका यी गीत पंक्तिले नेपाली निम्न मध्यमवर्गीय परिवारका उच्छ्वासलाई उजागर गर्छन् । मुलुकभित्र परिवर्तनका प्रत्येक पदचापलाई साथ दिने यो वर्गको सक्रियता यही छटपटीको प्रतिबिम्ब हो ।
अंग्रेजीमा ‘अन्डरडग’ भनिने यो वर्गलाई राजनीतिले कसरी धोका दिन्छ भन्ने सन्देश बोकेको यो सिनेमाले फेरि पनि नागरिकलाई स्वान्तः सुखायकै निम्ति काम गर्न आह्वान पनि गर्छ । राजनीतिको काम आफैं मात्र बन्ने हो भने त्यसमा लाग्न धेरैलाई यसले प्रेरित पनि गर्दैन ।
बलिउड सिनेमाजस्तो राजनीतिक व्यक्तिहरूले दिएको धोकाका निम्ति धुलाइ गर्न हाम्रा सिनेमाले थालिसकेका छैनन् । तर, अब ‘धनपति’ को निर्माणउता राजनीतिक व्यक्तिहरूले धुलाई गरिने खलनायकका रूपमा चित्रित हुने समय आउन सक्छ । त्यस्ता मसला भएका सिनेमाको अपेक्षा आम दर्शकको हुन पनि थाल्छ ।
बलिउड सिनेमाको मुख्य तारो त्यहाँका राजनीतिक प्राणी हुने गर्छन् । ‘रङ दे वसन्ती’ जस्ता सिनेमा युवाका छटपटीलाई उजागर गर्न र सामयिक राजनीतिले तिनका सपना पूरा हुन नसकेको सन्देश दिनकै निम्ति बनाइएका हुन् । र, भारतमा राजनीति गर्ने व्यक्तिलाई प्रायः खलपात्रका रूपमा देखाइँदै आएको छ । हामीकहाँ भने अहिलेसम्म परिवर्तन भइहाल्ला कि भन्ने अपेक्षाले पनि केही समय कुराएको हो ।
राजनीतिलाई माध्यम बनाएर वास्तविक जीवनमा रजगज गरिरहेका समाजका वास्तविक ‘भिलेन’ हरूलाई रामधुलाइ गरेका दृश्यले दुःखको पहाडले किचेका सर्वसाधारणको ‘कलेजो ठन्डा’ हुन्छ । अर्थात् तिनले एकैछिन भए पनि सन्तोषको सास फेर्छन् । सिनेमाका दृश्य देखेर ती सुधारिएको भने देखिन्न । त्यही भएर हाम्रो ‘धनपति’ ले राजनीति गर्नेविरुद्ध कुनै प्रतिक्रिया व्यक्त नगरी आफ्नै दैनिकीमा फर्कनुपरेको छ । यथार्थमा यो अवस्था रामधुलाइ गर्नेभन्दा खतरनाक हो । भोलि कथं परिस्थिति बदलियो भने पनि तिनलाई उद्धार गर्न ‘धनपति’ हरू फर्केर आउने छैनन् ।
‘नायक’ जस्तो सिनेमामा देखाइएका एक दिनका मुख्यमन्त्रीले सर्वसाधारणका चाहनालाई सिनेमाको पर्दामा उजागर गर्छन् । ‘दबंग’, ‘रावडी राठोर’ वा यस्तै अन्य सिनेमामा रहेका खल पात्रसँगको राजनीतिक व्यक्तिहरूको सम्बन्ध र प्रहरीले खेलेको भूमिका त्यहाँको समाजको चाहना हो । राजनीतिक व्यक्तिलाई नायक नबनाई प्रहरीलाई बनाउनुको पछाडि समाजमा गुन्डागर्दीको ‘स्पेस’ राजनीतिले बनाएको हुनाले नै हो ।
बिस्तारै हामीकहाँ पनि ‘गुन्डानाइके’ हरूको बढोत्तरी हुँदै ‘अन्डरवल्र्ड’ सम्म पुग्ने बेलामा त्यही अवस्था आउँछ । त्यसैले राजनीतिलाई आफ्नो पक्षमा लाग्न प्रयोग गर्छ । हामीकहाँ अहिलेसम्मको अवस्था भने कुनै परिस्थितिमा पनि राजनीतिक व्यक्तिहरू बलियो हुनु हो । राजनीतिलाई बलिउडमा जस्तो गुन्डा नाइकेले चलाउँदैन बरु गुन्डा नाइकेलाई तिनले चलाउँछन् ।
त्यही भएर हामीकहाँ पनि बेलाबेलामा ‘दबंग’ प्रहरीको अपेक्षा हुन्छ । यदाकदा निस्किन्छन् पनि र तिनले नायकत्व लिएको पनि देखिन्छ । फेरि तिनलाई खुम्च्याउने तŒव राजनीति हुन्छ । झन् हामीकहाँ तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई रातारात महाभियोग लगाएर कुर्सीबाट गलत्याइएको इतिहास पनि बनिसकेको छ । राजनीतिक व्यक्तिका अगाडि सबैले थर्किएर काम गर्नुपर्ने अवस्था समाजमा आउन थालेपछि तिनलाई ‘भिलेन’ बनाउने प्रक्रिया सिनेमा संसारमा सुरु हुन्छ ।
त्यो ‘रिल लाइफ’ (सिनेमा संसार) हो, तर ‘रियल लाइफ’ (वास्तविक संसार) भने त्यस्तो हुँदैन । समाजमा अनेकानेक ‘भिलेन’ को दबदबा रहिरहन्छ । लोकतान्त्रिक शासनको ७० वर्षे इतिहासमा भारतका सर्वसाधारण ज्यादै पिसिएका छन् । र, तिनले बेलाबेलामा बलिउड सिनेमा वा अन्य सिर्जनामार्फत विरोध प्रकट गर्छन् ।
हामीकहाँ पनि लोकतन्त्र तीन दशक पुग्न लाग्दैछ । यी वर्षमा हाम्रो समाजमा उदाएको राजनीतिक वर्ग भने चारैतिरबाट गाली खानेमध्येमा परेको छ । बिस्तारै हाम्रा सिनेमाहरूले हिजोको क्रान्तिकारी र समाजसेवी राजनीतिक छविका ठाउँमा लोभी, स्वार्थी र पैसामुखी अनुहारलाई उजागर गर्न थालेको छ । राजनीतिको वास्तविक उद्देश्य निम्न वर्गका व्यक्तिको जीवनमा उज्यालो ल्याउने हो । तर, त्यसमा हाम्रो राजनीति अक्षम साबित भइरहेको छ ।
खगेन्द्र लामिछाने लिखित तथा दीपेन्द्र के खनाल निर्मित पछिल्लो नेपाली सिनेमा ‘धनपति’ ले समाजको राजनीतिक वितृष्णाको त्यही पाटोलाई मुखरित गरेको अनुभव भएको छ । राजनीति बिस्तारै व्यवसाय बन्दै गएको छ । कुनै व्यापार व्यवसायबिनै दलका कार्यकर्ता र युवा नेताहरूले सुखद जीवन बिताइरहेका छन् । तर, राजनीतिले सर्वसाधारणको कठिन जीवनलाई सहज बनाउन सकेको छैन ।
हामीले छोटो कालखण्डमा धेरै उतारचढाव देखेका छौं । यो छोटो समयमा आएका राजनीतिक परिवर्तनले हाम्रो जीवन सुखमय होला भन्ने अपेक्षा पनि उत्तिकै थियो । तर, यी सबै सपना तुहिएका छन् । सर्वसाधारणका जीवनका कठिनाइ झनै विकराल भएका छन् । परिवर्तन सत्ताको भ¥याङ बनेको छ । र, त्यो परिवर्तन आएको राजनीति गर्नेहरूका निम्ति मात्र हो भन्ने जस्तो भान अहिले परिरहेको छ ।
२०४६ सालको जनआन्दोलनपछि आएका परिवर्तनबाट अपेक्षित प्रतिफल देशले पाउन सकेको छैन । सर्वसाधारण त पीडित भइहाले । त्यति मात्र होइन, सरकारमा रहने प्रत्येकजसो दल र व्यक्तिहरूको ध्यान कमिसनमा मात्र रहेको अनुभव पनि भइरहेको छ । वीर अस्पतालको सिटिस्क्यान मेसिन किन्नदेखि सडकको पिच गर्दासमेत कमिसन खाने चलन सुरु भइसकेको छ । अझ त्यसमा नेताका परिवार र नातागोता लागेको देखेर जग हाँसिरहेको छ । मानिसहरूले केही भनेका छैनन्, उनीहरू भने कसैले केही थाहा पाएको छैन झैं गरेर कमाइमा सक्रिय छन् । राजनीति मुलुकको सेवाका निम्ति भन्दा पनि व्यक्तिगत मेवाकै निम्ति हो भन्ने पक्का भइसकेको छ ।
मुलुकले १० वर्ष लामो सशस्त्र द्वन्द्वबाट गुज्रिनुप¥यो । शान्तिकालमा आएपछि पनि संक्रमणले नागरिकको जीवनमा कठिनाइ थपिरह्यो । द्वन्द्वकालमा आफ्ना परिवार सदस्य मारिएका व्यक्तिले न्याय पाउनु त कहाँ हो आफूमाथि अन्याय गर्नेहरूकै पक्षमा लागेर काम गर्नुपर्ने बाध्यात्मक अवस्था पनि देखियो । यो कटु यथार्थलाई धनपतिमार्फत देखाउने प्रयास भएको छ ।
हिजो जसले नाजायज चन्दा दिन अस्वीकार गरे ती मारिए । त्यो बेला जीवन जोगाउन महिनैपिच्छे लेबीरूपी ‘प्रिमियम’ बुझाउने वा एकमुष्ठ रकम दिनेहरूले जीवनदान पाए । मुक्तिनाथ अधिकारीजस्ता शिक्षक, गोपाल गिरीजस्ता नगर प्रमुखको ‘निर्दोष हत्या’ को पुष्टि हुन सकेको छैन । ‘पशुपति प्रसाद’ देखि ‘धनपति’ सम्म आइपुग्दा समाजको त्यही दमित पात्रमाथिको चित्रणले अब बलिउडमा भन्दा पनि कठोर कटाक्ष हुने गरी सिनेमा आउन थालेको सन्देश पनि दिएका छन् ।
धनपतिले राजनीतिबाट फर्केर पहिलेकै जीवनलाई सुचारु गरे पनि एउटा गम्भीर राजनीति सुरु गरिसकेको छ । धनपतिमा गाइएको गीत ‘सुख दुःख के हो सोध मलाई’ ले त्यही तहको संवेदना बोकेको छ, जुन इन्डियन ओसन ब्यान्डको ‘पिपली लाइभ’ मा प्रस्तुत गीतले बोकेको छ :
सुखे नयना रुखी अखियाँ धुंदला धुंदला सपना
आँशु भि नमकिन है प्यारे जो टपके सो चखना...
प्रकाशित: २५ असार २०७४ ०४:०९ आइतबार