७ वैशाख २०८१ शुक्रबार
राजनीति

अन्तरघातीलाई कारबाही

मेयरमा पराजित पूर्वसांसदद्वय दाङका गेहेन्द्र गिरी र रोल्पाका लेखनाथ आचार्य ।

दाङ – जिल्ला पार्टी सभापतिका रूपमा दोस्रो कार्यकाल नसकिँदै दाङ कांग्रेसका नेता गेहेन्द्र गिरीले २०५६ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुने अवसर पाए । त्यस बेलाको कमजोर प्रतिस्पर्धी एमालेलाई सहजै पराजित गरेका गिरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ मा प्रत्यासीभन्दा दोब्बर मतले विजयी भएका थिए । गिरीले उति बेला १६ हजार मत ल्याउँदा उनका प्रत्यासीको मत ८ हजार थियो । 

०६४ को संविधानसभा निर्वाचनमा पनि गिरीले जित दोहो¥याउन चाहन्थे । तर, पार्टीले उनलाई उम्मेदवार बनाएन । २०७० को संविधानसभा निर्वाचनमा उनी टिकटको दौडमै पराजित भए । एकपटक सांसद भएका गिरी संविधानसभामा प्रवेश गर्ने दुईपटककै सम्भावनाबाट चुकेपछि यसपालि आफ्नो पुरानै चुनावी क्षेत्रभित्रको तुलसीपुर उपमहानगरपालिकाको मेयरमा लडे । 


अन्तरघातका कारण स्थानीय तह निर्वाचनमा तुलसीपुर उपमहानगरपालिकाको नेतृत्व लिनबाट चुकेका पूर्वसांसद गेहेन्द्र गिरी चुनावमा पराजित गराउन भूमिका खेल्नेहरूसँग ‘हिसाबकिताब’ लिने मुडमा छन् । 

उनी कुनै बेला निर्वाचित भएको क्षेत्रकै उपमहानगरपालिकामा नेतृत्वको प्रतिस्पर्धी रहेकाले पहिलेकै मतान्तरमा स्थानीय सरकारको नेतृत्व लिने कसरतमा थिए । तर, उनको अनुकूलतामा जनमत प्राप्त भएन । एमालेका घनश्याम पाण्डेले उनलाई झन्डै ४ हजार मतले हराइदिए । पाण्डे २२ हजार ८ सय ५७ मत प्राप्त गर्दै विजयी हुँदा गिरी १८ हजार ९ सय ३ मतमा समेटिए । उनले भने, ‘कांग्रेसको माहोल पूरै बिग्रियो र स्थानीय सरकारको नेतृत्व गर्ने मिसनमा फेल भएँ ।’ 

२०४९ सालदेखि दाङ कांग्रेसको दुई कार्यकालसम्म सभापति बनेका उनी यहाँको कांग्रेस वृत्तमा निर्णायक भूमिकामा रहँदै आएका छन् । उनी अहिलेसम्मका धेरैवटा निर्वाचनमा संलग्न भए । कुनै चुनावमा आफैं उम्मेदवार भए भने केहीमा पार्टीका उम्मेदवारलाई जिताउने बिँडो थामे । यसपटक उनको चुनावी अनुभव पहिलाभन्दा फरक रह्यो । उनले भने, ‘कांग्रेसमा चरम अन्तरघात भयो, जसको सिकार म पनि भएँ ।’ 

उनका अनुसार तुलसीपुर उपमहानगरका १९ वटै वडाबाट कांग्रेसका वडास्तरीय उम्मेदवारभन्दा मेयर र उपमेयरका लागि पार्टी उम्मेदवारले निकै कम मत पाएका छन् । ‘दिनभर साथमै प्रचार गर्न हिँड्नेले पनि बेलुकापख फरक पार्टीलाई सघाउन हिँडेको पाइयो,’ उनले भने, ‘पार्टीमा योभन्दा ठूलो बदमासी अरू के हुन सक्छ ?’ स्थानीय निर्वाचनमा एमालेबाट पराजित पूर्वसांसद गिरीले अब आफ्नै पार्टीभित्र जित निकाल्ने रणनीति बनाएका छन् । अब उनको ‘कोसिस’ पार्टीका अन्तरघातीलाई कारबाही गर्ने मिसनमा केन्द्रित रहनेछ ।  

गिरीले आफू अरूका कारणले पराजित नभई पार्टीभित्रकै व्यक्तिबाट पराजित गराइएको भन्दै यसको ‘हिसाबकिताब’ खोजेरै छाड्ने बताउँछन् । यसो गर्न नसकिए प्रदेशस्तरीय निर्वाचन कांग्रेसका लागि झनै ‘घातक’ हुने उनको बुझाइ छ । उनले भने, ‘पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध लाग्नेलाई कांग्रेसीको बिल्ला भिराइनुहुन्न भन्नेमा अब नेतृत्व गम्भीर हुनुपर्छ ।’

संसद्मा प्रतिनिधित्व जनाइसकेका राप्तीकै अर्का एक पूर्वसांसद पनि यसपटकको स्थानीय तह निर्वाचनमा चिप्लिएका छन् । दाङका गिरीजस्तै जनप्रतिनिधि बन्ने दौडमा थलिएका अर्का पूर्वसांंसद हुन् रोल्पाका कांग्रेस नेता लेखनाथ आचार्य । मूलधारको राजनीतिमा माओवादीको प्रवेश भएयता जिल्लाका चुनावी प्रतिस्पर्धा उनका लागि कहिल्यै फलदायी भएन । 

२०५६ को संसदीय निर्वाचनमा रोल्पा क्षेत्र नम्बर १ बाट ६ हजार ६ सय ९५ मत प्राप्त गर्दै उनी सांसद निर्वाचित भए । पहिलो संविधानसभा निर्वाचनमा कांग्रेसलाई जित दिलाउन चुनावी मैदानबाट बाहिरै रहेका उनि पछिल्लो संविधानसभा निर्वाचनमा भने उम्मेदवार तोकिए । तर, बलिया प्रतिस्पर्धी माओवादीका कृष्णबहादुर महरालाई उछिन्न सकेनन् । तीन हजार मतको अन्तरमा पछि परेका आचार्यले ८ हजार ४ सय ९ मत प्राप्त गरे भने महराले ११ हजार ४ सय ७ मत प्राप्त गरेर विजयी भए । संविधानसभा निर्वाचनमा माओवादी नेता महरासँग पराजित आचार्य यसपटकको स्थानीय तह निर्वाचनमा पनि रोल्पा नगरपालिकाको मेयरका लागि उम्मेदवार भए । संयोग, संविधानसभा निर्वाचनमा हराएका उनै महराका ज्वाइँँ पुरण क्षेत्री उनका प्रतिस्पर्धी थिए । आचार्य स्थानीय तह निर्वाचनमा पुरणसँग पराजित भएका छन् । महराका ज्वाइँ पुरणले ५ हजार ६  सय ३४ मत ल्याइ विजयी हुँदा आचार्यले ३ हजार ८ सय २७ मत प्राप्त गरे । ‘माओवादीले उम्मेदवार जिताउन धेरै मिहिनेत ग¥यो तर हाम्रो प्रयास सुस्त रह्यो,’ आचार्यले भने । उनका अनुसार माओवादीका एकसेएक शीर्ष नेता जन्माएको रोल्पामा चुनावी अभियानमा ठूला नेता नै खटिए । तर, कांग्रेसले कुनै शीर्ष नेतालाई उतार्न सकेन । ‘कांग्रेसका शीर्ष नेताहरूले पाइलो टेकेका भए त्यसको प्रभाव धेरै पर्ने थियो,’ उनले भने ।

उनका अनुसार रोल्पा नगरपालिकामा पार्टीको वर्चस्वका लागि महरा, वर्षमान पुनलगायतका नेता खटिएका थिए । तिनै शीर्ष नेताको चलखेलले स्थानीय सरकारको नेतृत्व पाउनबाट वञ्चित हुनुपरेको आचार्यको बुझाइ छ । निर्वाचनमा यसपटक अन्तरघात नभए पनि रोल्पाका केही गाउँपालिकामा भने कांग्रेस अन्तरघातको चंगुलबाट जोगिन सकेन । रोल्पाका सुकीदह र रुन्टिगढी गाउँपालिकामा अन्तरघातका कारण पार्टीले पराजय बेहोर्नुपरेको पूर्वसांसद आचार्यले जनाए । 

 

प्रकाशित: २५ असार २०७४ ०२:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App