५ वैशाख २०८१ बुधबार
राजनीति

जोगिएन ‘हेभिवेट’ को विरासत

झापा – ‘हेभिवेट’ नेताहरूकै  गृहनगर र क्षेत्रमा विपक्षीले जितको झन्डा फहराएर उनीहरूको आगामी राजनीतिक यात्रा चुनौतिपूर्ण बनाइदिएका छन् ।  यसपटकको स्थानीय तह निर्वाचनमा झापाका धेरै प्रभावशाली नेताले आफ्नै साख जोगाउन सकेनन् । झापाबाट उठेर केन्द्रीय राजनीतिमा स्थापित बनेका प्रभावशाली नेताहरूकै क्षेत्र र नगरमा विपक्षीले जितको झन्डा फहराएका हुन् । 

कांग्रेस नेता कृष्णप्रसाद सिटौला, केशवकुमार बुढाथोकी, सुधीर शिवाकोटी, एमाले नेताहरू अग्नि खरेल, दीपक कार्की, हिक्मत कार्की, रबिन कोइरालालगायतका नेताहरूकै क्षेत्रमा विपक्षीले जितेपछि उनीहरूको राजनीतिक साख र प्रभाव आफ्नै ठाउँमा कमजोर देखिएको छ । ‘गाउँबाट उठेर केन्द्रीय राजनीतिमा बलियो ठाउँ बनाएकाकै क्षेत्रमा  विपक्षीले जित्नु भनेको उनीहरूप्रति जनभरोसा घटेको प्रमाण हो’, राजनीतिशास्त्री चक्र पौडेलले भने, ‘झापाको चुनावी नतिजाले यही देखाएको छ ।’ 

उम्मेदवार चयन विवादरहित भएका कारण एमाले चुनावी अभियानमा आक्रामक रूपमा लाग्यो । कांग्रेस घरझगडामै अलमलियो । अझ बागी उम्मेदवारी पनि पर्‍याे । चुनावभन्दा साताअघि नै आएर विवाद साम्य पार्न रातदिन खटिएका कृष्णप्रसाद सिटौलाको प्रयास सफल भएन । फलतः नतिजा एमालेका पक्षमा गयो ।

यसपटक सबैभन्दा ठूलो क्षति कांग्रेस प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले  व्यहोर्नुपरेको छ । पछिल्लो महाधिवेशनमा तेस्रो गुट जन्माउँदै संस्थापनको सहयोगी बनेर पार्टीमा झन्–झन् प्रभाव बढाउँदै लगेका सिटौला आफ्नै निर्वाचन क्षेत्रमा भने कमजोर बनेका छन् । झापा ३ का निर्वाचित सांसद उनको निर्वाचन क्षेत्रमा पर्ने एउटा नगरपालिका र एउटा गाउँपालिका दुवैमा कांग्रेसले स्थानीय चुनाव हारेपछि सिटौलाको प्रभाव आफ्नै क्षेत्रमा कमजोर देखिएको छ । सिटौलाको क्षेत्रमा पर्ने भद्रपुर नगरमा एमालेले र कचनकवलमा राप्रपाले कांग्रेसभन्दा दोब्बर मतले जित हात पारेपछि झापा कांग्रेसमा खैलाबैला पनि सुरु भएको छ । 

२०४८ , २०४९ र ०६४  बाहेकका अधिकांश चुनाव सिटौलाकै नेतृत्वमा जितेको कांग्रेसले यसपटक उनकै नेतृत्वमा पनि बिरासत जोगाउन सकेन । यसका पछाडि गृह क्षेत्रमै सिटौलाविरुद्ध बलियो हुँदै गएको पार्टीभित्रको मोर्चाबन्दीले मुख्य रूपमा काम गरेको छ । ‘यसपटक कांग्रेसका अधिकांश साथीहरू सिटौलालाई हारको स्वाद चखाउन लागे’, भद्रपुरको हारलगत्तै झापा ३ का एक पदाधिकारीले भने, ‘बलियो अवस्थाबाट एकैचोटि तल झर्नुको मुख्य कारण यही हो ।’ उनका अनुसार यो अवस्थाका लागि सिटौला आफैं जिम्मेवार छन् । उनले संकेत गरेको सिटौलाको ‘कमजोरी’ थाहा पाउन चुनावअघिको रस्साकस्सीतिर फर्किनुपर्छ । 

यसपटकको स्थानीय तह निर्वाचनमा झापामा सबैभन्दा बढी तनावमा थिए कांग्रेस नेता सिटौला । त्यसको सुरुआत मनोमानी टिकट बाँडेर उनी आफैंले गरेका थिए । वडा, नगर र क्षेत्रको सिफारिस लत्याउँदै सिटौलाले आफ्नो दाहिने हात मानिने गणेश पोखरेललाई मेयरको टिकट दिए । मेयरमा मात्रै होइन, वडाध्यक्ष र सदस्यसम्म पनि उनकै सिफारिस चल्यो । त्यसलगत्तै भद्रपुर कांग्रेसमा विद्रोह सुरु भयो । 

पुराना नेताहरू राजेन्द्र घिमिरे, जितबहादुर पुरीलगायतको ठूलो समूह सिटौलाले मनोमानी गरेको भन्दै हस्ताक्षर अभियानमा हिँडे । चुनावताका भद्रपुरमा कांग्रेसको दुईटा टोली घरदैलोमा थियो । एउटा टोली पार्टीका उम्मेदवारलाई मत माग्दै थिए भने अर्को टोली निर्णयविरुद्ध हस्ताक्षर संकलन गर्दै थिए । असन्तुष्ट समूहका नेताहरूका अनुसार हस्ताक्षरसहित निर्णय बदल्न आग्रह गर्दा सिटौलाले ‘आकाश खस्दा र पृथ्वी भासिँदा पनि अब परिवर्तन हुँदैन’ भन्ने जबाफ फर्काएका थिए । उनको जबाफले रुष्ट नगरका धेरै कार्यकर्ता चुनावमा निष्क्रिय बसे । मुलुकको निर्णायक ठाउँमा धेरैपटक हुँदा पनि आफ्नो क्षेत्रमा केही गर्न नसकेको आरोप सिटौलामाथि बाक्लै लागिरहन्छ । त्यही कुरा बुझेका कार्यकर्ताले सिटौलाकै टिमबाहिरका मान्छेलाई उम्मेदवार बनाउन दबाब दिएका थिए ।

एमालेले भने नगरकै पूर्वउपप्रमुख रहिसकेका र बलियो जनाधार भएका नेता जीवनकुमार श्रेष्ठलाई उम्मेदवार बनायो । श्रेष्ठ भद्रपुरमा लोकप्रिय मानिन्छन् । पार्टीको कुनै जिम्मेवारीमा नहुँदा पनि निरन्तर जनसम्पर्कमै रहने उनी विजेता बने । उनले ११ हजार ४५ मत प्राप्त गर्दा कांग्रेसका पोखरेलले ७ हजार २ सय १५ मतमात्रै पाए । उपप्रमुखमा पनि एमालेकी चन्द्रा श्रेष्ठले १० हजार ६ सय ५० मत पाउँदा कांग्रेसकी तारादेवी भूर्तेलले ६ हजार ४ सय ९८ मत पाइन् । 

उम्मेदवार चयन विवादरहित भएका कारण एमाले आक्रामक रूपमा चुनावी अभियानमा लाग्यो । कांग्रेस घरझगडामै अलमलियो । अझ बागी उम्मेदवारी पनि प¥यो । चुनावभन्दा साताअघि नै आएर विवाद साम्य पार्न रातदिन खटिएका सिटौलाको प्रयास सफल भएन । फलतः नतिजा एमालेका पक्षमा गयो । 

‘विधिसम्मत पमा टिकट बाँडौं, आफ्नै वरिपरिकालाई मात्रै अवसर दिन हुँदैन भन्ने कुरा उहाँले सुन्न चाहनुभएन,’ कांग्रेसका असन्तुष्ट समूहका एक नेताले भने, ‘मत परिणाम त्यसैको नतिजा हो ।’ 

आफ्नो क्षेत्र र गृहनगर गुमाउने सिटौला एक्लो नेता होइनन् । एमालेका नेता अग्नि खरेल, सांसद दीपक कार्की, केन्द्रीय सदस्य हिक्मत कार्कीको क्षेत्र हो झापा ६ । त्यहाँको गौरादह नगर एमालेको पुरानो र बलियो किल्ला मानिन्थ्यो । तर, यसपटक गौरादहमा कांग्रेसले प्रमुख पदमा विजयको झन्डा फहरायो । कांग्रेसका रोहित साह प्रमुखमा जित्दा एमालेका जिल्ला सचिव मदन अधिकारीले हारे । उनको हारपछि झापा ६ मा एमालेभित्र आरोपप्रत्यारोप सुरु भएको छ । 

विगतका सबै चुनाव जितेका सांसद कार्की र उनका भाइ हिक्मत कार्की ओली गुटकै नेता हुन् । तर, ओली गुटकै अर्का नेता अग्नि खरेलसँग उनीहरूको सम्बन्ध पानी बाराबारजस्तै छ । खरेल र कार्की दाजुभाइको फरक उपगुटको लडाइँ झापा ६ मा पुरानै हो । अहिलेको हारका लागि दुवै समूहले एकअर्कालाई दोषारोपण गर्न थालेका छन् । पराजित बनेका अधिकारीचाहिँ माधव नेपाल गुटका नेता हुन् । 

‘ओली गुटका ठूला नेताहरू एकअर्कालाई सिध्याउन लाग्दा यस्तो भयो’, नेपाल गुटका एक नेताले भने ‘अग्नि खरेल र कार्की समूहको लडाइँले हारियो ।’ सांसद कार्कीकै क्षेत्रमा पर्ने गौरीगन्ज राप्रपाले जितेको छ ।

संविधानसभाको पहिलो चुनावमा काँग्रेस सबैतिर हार्दा पनि झापा ५ जितेर साख जोगाएका नेता केशवकुमार बुढाथोकीको बलियो आधार क्षेत्र मानिने शिवसताक्षी नगर एमालेले जितेको छ । कुनै बेला एमालेको बलियो किल्ला मानिने यो ठाउँमा बुढाथोकीको आगमन भएपछि कांग्रेस सबैभन्दा बलियो बनेको थियो । तर, यसपटक शिवसताक्षीमा एमालेले प्रमुखमा चन्द्रकुमार शेर्मा, उपप्रमुखमा भोजकुमारी नेपाल र ११ मध्ये ९ वटा वडामा एमाले प्यानलै विजयी भएको छ । कांग्रेस सांसद सुधिरकुमार शिवाकोटीकै गृहनगर बिर्तामोडमा पनि एमालेले जितेको छ । प्रमुखमा ध्रुव शिवाकोटी र उपप्रमुखमा पवित्रा महतारा प्रसाईले जितेका छन् । 

झापा १ का सांसद तथा एमाले केन्द्रीय नेता रबिन कोइरालाको क्षेत्रमा पर्ने मेचीनगर र बुद्धशान्ति गाउँपालिका एमालेको पुरानो गढ क्षेत्र मानिन्थ्यो । तर, दुवै ठाउँमा एमाले पराजित भएको छ । संविधानसभा चुनावमा कांग्रेस नेता विश्वप्रकाश शर्मालाई पराजित गरेका कोइरालाको क्षेत्रमा कांग्रेसले विश्वप्रकाशकै नेतृत्वमा चुनाव जितेको छ । बुद्धशान्ति गाउँमा त एमाले जिल्ला अध्यक्ष चिन्तन पाठक नै पराजित भएका छन् ।  यी दुवै नतिजाले कोइरालाको क्षेत्र पनि कांग्रेसले खोसेको छ । एमाले अध्यक्ष केपी ओलीको गृहनगरमा चाहिँ उनको बिरासत जोगिएको छ । नगरका प्रमुख–उपप्रमुखसहित ५२ मध्ये ४९ पद एमालेले जितेको छ । कांग्रेस र माओवादी शून्य बनेको नगरमा राप्रपाले दुई वडाअध्यक्षसहित ३ पद जितेको छ ।

प्रकाशित: २५ असार २०७४ ०२:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App