coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रपतिलाई कार किन्न १६ करोड माग

काठमाडौं – राष्ट्रपति कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका लागि गाडी किन्न सरकारसँग १६ करोड रुपैयाँ माग गरेको छ। 

त्यसो त सरकारले मोटर खरिदका लागि चार करोड रुपैयाँ उपलब्ध गराए पनि राष्ट्रपतिको चाहनाअनुसार रकम अपुग भएको भन्दै कार्यालयले गत साता रक्षा मन्त्रालयसँग थप १२ करोड रुपैयाँको माग गरेको हो । 

राष्ट्रपति कार्यालयले नेपाली सेनामार्फत गाडी खरिद गर्न लागेको हो । सेनाको प्रारम्भिक अनुमान अनुसार राष्ट्रपतिको सवारीका लागि गाडी किन्न १६ करोड रुपैयाँ चाहिन्छ । सेनाले केही कार उत्पादन गर्ने कम्पनीसँग गरेको प्रारिम्भक छलफलका आधारमा यो निष्कर्ष निकालेको बताइएको छ । 

‘राष्ट्रपति कार्यालयले अर्थमन्त्रालयबाट आएको ४ करोड रुपैयाँको प्रतिबद्धता कार खरिदका लागि पर्याप्त नभएको भन्दै त्यसमा १२ करोड रुपैयाँ थप मागेको हो,’ रक्षा मन्त्रालय उच्च स्रोतले भन्यो । 

राष्ट्रिपति कार्यालय र सेना दुवैले मोटर खरिद विषयमा मन्त्रालयमा पत्र पठाएको पुष्टि रक्षाका प्रवक्ता उत्तमप्रसाद नगिलाले गरे । उनले भने, ‘मन्त्रालयले यसमा  के गर्ने भनेर चाँडै निर्णय गर्ने छ ।’

उनका अनुसार राष्ट्रपतिको सवारीका लागि बुलेट प्रुफ कारसहित सुरक्षाका लागि २ कार, एम्बुलेन्स, बस र मोटरसाइकल किन्न भनेर थप रकम मागिएको छ । ‘चिठी भर्खरै मात्रै सम्बन्धित विभागमा पुगेको छ । यसको आवश्यकताबारे सुरुमा अध्ययन हुने र त्यसपछि मात्रै थप बजेट अर्थमन्त्रालयसँग माग्ने वा नमाग्नेबारे निर्णय हुनेछ,’ उनले भने । 

राष्ट्रपतिको सबारीका लागि सेनाले कुन कम्पनी र कुन मोडलका कार खरिद गर्न चाहेको हो त्यो भने स्पष्ट भएको छैन । सेनाका प्रवक्ता झंकरबहादुर कठायतले यस विषयमा आफू अनभिज्ञ रहेको बताए । तर विभिन्न स्रोतले राष्ट्रपतिका लागि प्रस्ताव गरिएको कार किन्न ८ करोड रुपैयाँभन्दा बढी पर्ने जनाएका छन् । प्रस्तावित कार खरिद गरिए त्यो राष्ट्रपतिले चढ्ने कार चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्यादिमिर पुटिन र इसाई धर्मगुरु पोप फ्रान्सिसले चढ्ने कारभन्दा महंगो हुनेछ । चिनियाँ राष्ट्रपति सी आफ्नै देशमा बनेको ‘होङ्गी रेड फ्लाग’ कार चढ्छन् । जसको मूल्य ८ करोड २५ लाख रुपैयाँ पर्छ । रुसी राष्ट्रपति पुटिन चढ्ने मर्सिडिज एस सी लिमोसिन कारको मूल्य २ करोड ५९ लाख रुपैयाँ पर्छ । पोप फ्रान्सिसले चढ्ने मार्सिडिज बेन्ज एम क्लास कारको मूल्य ५ करोड ४० लाख ७३ हजार रुपैयाँ पर्छ । 

सरकारका वरिष्ठ अधिकारीले भूकम्पपीडित अस्थायी टहरामा बसिरहेको समयमा राष्ट्रपतिलाई यति महंगो कार किन आवश्यक प¥यो भन्दै प्रश्न गरेका छन् । ‘राष्ट्रपतिको सवारीका  लागि हामीसँग अहिले एक सेट मोटर छन् । नयाँ किनेपछि अहिलेकालाई के गर्ने ? साथै, पूर्व राजपरिवारका सदस्य तथा पूर्वप्रधानमन्त्रीले चढ्ने गरेका विलासी कार विभिन्न सरकारी कार्यालयमा धुलो जमेर बसेका छन्,’ अर्थमन्त्रालयका एक अधिकारीले भने, ‘आफूले चढ्ने कार कार्यकाल सकिएपछि राष्ट्रपतिले सँगै लैजाने चाहना हो कि ?’ ती अधिकारीले अर्थ मन्त्रालयमा प्रस्ताव आएपछि यस विषयमा उचित निर्णय लिने बताए । 

धेरैले सेनामार्फत राष्ट्रपतिको सवारीका लागि गाडी खरिद गर्ने प्रस्तावको उद्देश्यमा समेत प्रश्न गरेका छन् । राष्ट्रपति कार्यालयको व्यवस्थापन उपशाखाका प्रमुख हरि दवाडीले कार्यालयले थप रकम मागेर रक्षामा पठाएको पत्रबारे आफूलाई जानकारी नभएको बताए । नेपाली सेनामार्फत मोटर खरिद गर्न लागिएको विषयमा उनले भने, ‘सुरक्षाका दृष्टिले कस्तो मोटर उपयुक्त हुन्छ भनेर सेनालाई बढी जानकारी हुने भएकाले  ऊमार्फत खरिद गर्न लागिएको हो ।’

उनले यो विषय मोटर खरिद मात्रै नभएर अति विशिष्टको सुरक्षासँग सम्बन्धित भएको पनि बताए । ‘यस्ता (प्रस्तावित) मोटर बजारमा पाइँदैनन् । उत्पादक कम्पनीलाई सुरक्षा आवश्यकताअनुसार अर्डर दिने हो,’ उनले भने, ‘सेनालाई अतिविशिष्टहरूको सुरक्षा संवेदनशीलताबारे बढी जानकारी भएकाले  कस्तो मोटर उपयुक्त हुन्छ भनेर जानकारी हुन्छ।’ 

प्रकाशित: २५ असार २०७४ ०१:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App