coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

दुर्गन्धले हैरान जनता

विश्व सम्पदा सूचीमा सूचिकृत बौद्धनाथ स्तुपबाट पाँच सय मिटर अघि बढेपछि बायाँतिर तीनचुली जाने सडक आउँछ। तीनचुली सडक भएर दुई मिटर अगाडि बढेपछि नाकै फुट्ला जस्तोगरी आउँछ ह्वासै दुर्गन्ध।

वरीपरी घरहरू पनि छन्। ती घरमा पनि उसैगरी पुग्छ दुर्गन्ध। दुर्गन्ध आएको हो, फोहोर संकलन केन्द्रबाट। काठमाडौं महानगरपालिका वडा नम्बर ६ मा पर्ने तीनचुली बीचमा बौद्ध सरसफाइ केन्द्रले फोहोर संकलन केन्द्र बनाएको छ।

‘रुघाखोकी, वाकवाकी लाग्ने भइरहन्छ,’ दाहालले भने, ‘यसरी घर वरपर फोहर संकलन केन्द्र राखेर हामीमाथि ठूलो अन्याय गरेको छ।’

केन्द्रका सञ्चालक धर्मराज लामाका अनुसार निश्चित रकम लिएर टोलटोलबाट फोहोर उठाएर ल्याइन्छ। यसरी उठाएको फोहर सिधै डम्पिङमा लैजाँदा गाडीमा थोरै अट्छ। ‘टोलबाट उठाएर सिधै डम्पिङ साइटमा लैजाँदा गाडीमा कति पनि फोहर अट्दैन्,’ उनले भने, ‘केन्द्रमा ल्याएर थुर्पादा पुनःप्रयोग हुने कवाडी छान्न पनि सकिने र डम्पिङ साइटमा लैजाने गाडीमा मिलाएर धेरै फोहोर अटाउन सकिन्छ।’

लामाले १० वर्षदेखि केन्द्र चलाइरहेका छन्। केन्द्रको दुर्गन्धबारे भने स्थानीयबाट बारम्बार विरोध आइरहेको लामा बताउँछन्। केन्द्रमा थुपारेको फोहोरको दुर्गन्धले केन्द्र आसपास हिँडिसक्नु छैन। यात्रु मात्रै होइन, स्थानीय सबैभन्दा बढी पीडित छन्।

‘दुर्गन्ध फैलियो यहाँ नराख भनौं भने केन्द्रले उल्टै धम्काउँछ,’ नाम नबताउने सर्तमा केन्द्रनजिकै घर रहेकी एक महिलाले भनिन्, ‘यो केन्द्रले गर्दा श्वास फेर्दा जहिल्यै दुर्गन्धित हावा लिनुपरेको छ।’ उनी मात्रै होइन, केन्द्र आसपासका दर्जन भन्दा बढी घरमा बस्नेको गुनासो उस्तै छ।

त्यसो त तीनचुलीको केन्द्रले मात्रै होइन, अन्य ठाउँमा रहेका केन्द्रले पनि उतिकै दुर्गन्ध फैलाएका छन्। जोरपाटी क्षेत्रमै पनि माकलबारी पुल, जम्बुडाडाँ लगायतका ठाउँमा  फोहोर संकलन केन्द्र बनाइएको छ। बाक्लो बस्ती बीचका फोहोर संकलन केन्द्रबाट आउने दुर्गन्धले बटुवा, स्थानीय सबै आजित छन्।

महानगरपालिका वडा नं. ८ गुह्येश्वरीमा पनि फोहर संकलन केन्द्र छ। बाग्मती करिडोरसँगै रहेको केन्द्रका कारण पशुपतिनाथको दर्शन गर्न आउनेदेखि करिडोर प्रयोगकर्ता सबै दुर्गन्धले हैरान छन्। केन्द्र आसपास बस्नेहरू दुर्गन्धको मार खेपिरहेका छन्।

‘बिहान बेलुका जतिबेला पनि डुङ्डुङ्ती गन्ध आइरन्छ,’ केन्द्रनजिकै कोठा भाडामा लिएर बस्ने रमिला खड्काले भनिन्, ‘कोठा सर्न पनि भेटिन्न, नसर्दा पनि गन्धले मरिएला जस्तो भइसक्यो।’

चावहिल गोपीकृष्ण हल अगाडि भेटिएका राजन दाहालको पनि गुनासो उस्तै छ। हलको पारिपट्टी रहेको फोहोर संकलन केन्द्रको दुर्गन्धले हिँडडुल गर्नै समस्या भएको दाहालले सुनाए। ‘रुघाखोकी, वाकवाकी लाग्ने भइरहन्छ,’ दाहालले भने, ‘यसरी घर वरपर फोहर संकलन केन्द्र राखेर हामीमाथि ठूलो अन्याय गरेको छ।’

तीनचुली, गुह्येश्वरी, गोपीकृष्ण छेउका केन्द्रले मात्रै होइन, चावहिल पुरानो मालपोत कार्यालय नजिक रहेको केन्द्र, रातोपुलको आडमा रहेको केन्द्रलगायतले दुर्गन्ध फैलाएका छन्।

टुकुचामा सडकमै फोहर

प्रदर्शनीमार्गको सडकमै …बि एन्ड पी क्लिनिङ सर्भिस'ले फोहर संकलन केन्द्र राखेको छ। संकलित फोहर बिहान सडकमै थुपारेर राखिन्छ। सडकमै थुपारेर राखेको फोहोरले क्याम्पस पढ्न आउने विद्यार्थी मारमा छन्। त्यहाँको फोहर ८ बजेतिर मात्रै टि्रपर आएर उठाउने गरेको छ।

उसो त सहरमा चोकचोकमा फोहर केन्द्र छन्। महानगरपालिकाले निजी क्षेत्रलाई फोहर संकलन गर्न दिएका कम्पनीले पुनःप्रयोग हुने सामग्री छान्नका लागि बस्तीबाट फोहर संकलन गरेर ल्याएर केन्द्रमा छान्ने गरेका छन्। यसरी केन्द्रमा छान्दा दुर्गन्धले भने सर्वसाधारण आजित छन्। उनीहरूले पटक–पटक काठमाडौं महानगरपालिकामा गुनासोसमेत गरेको महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए। सरसफाइको जिम्मेवार निकाय महानगरपालिकाको कमजोरीका कारण सर्वसाधारण दुर्गन्धले हैरान बनेका हुन्।

‘निजी क्षेत्रले मनलागी ढंगले फोहर संकलन गरिरहेका छन्,’ प्रवक्ता कार्कीले भने, ‘ठाउँठाउँमा केन्द्र बनाएर फोहर छान्ने कार्यले स्थानीय दुर्गन्धको मारमा छन्।' यसबारे गुनासो धेरै आएकोले कसरी यसलाई व्यवस्थित गर्ने भनेर छलफल भइरहेको कार्कीले बताए।

महानगरपालिका कार्यकारी अधिकृत ईश्वरप्रसाद पौडेलले पनि फोहर संकलन गरेर जथाभावी राखिएका केन्द्र बन्द गराउन महानगर सक्रिय रहेको जनाए।

‘निजी क्षेत्रको महानगरसँग कुनै सम्झौता नगरी फोहरको व्यवसाय चलाइरहको छ,’ कार्यकारी अधिकृत पौडेलले भने, ‘अब यसरी जथाभावी व्यवसाय चलाउन पाइन्न, यसरी चलाएका केन्द्रलाई बन्द गराउँदै जानेछौं भने व्यवसायलाई नियमन गर्दै लैजाने छौं।’

महानगरपालिकालगायत उपत्यकाका अधिकांश स्थानीय तहमा फोहर उठाउन निजी क्षेत्र सक्रिय छ। निजी क्षेत्रले व्यवसायको लागि फोहर उठाउने गरेको बताउँदै पौडेलले व्यवसायलाई नियमन गर्न आवश्यक भूमिका महानगरपालिकाले खेल्ने जनाए।

‘हामीले नियमन गरे पनि केन्द्र राख्न भने कतै पाइने छैन,’ उनले भने, ‘केन्द्रको दुर्गन्धले आसपासमा बस्नै नसकिने गुनासो धेरै आएपछि यस्ता केन्द्र हटाउने योजनामा महानगर रहेको छ।’ फोहरमा पुनःप्रयोग हुने वस्तु छान्न परे पनि सिधै सिसडोल लगेर छान्नुपर्ने उनले बताए।

प्रकाशित: २३ असार २०७४ ०८:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App