७ वैशाख २०८१ शुक्रबार
अन्य

५४ वटा योजना अधुरै

इटहरी- वर्षभरिमा खर्च हुन नसकेको बजेट आर्थिक वर्ष ०७२/०७३ को अन्तिममा सक्न इटहरी–१९ मा लोकतान्त्रिक कल्भर्ट निर्माणनिम्ति असार ५ गते सम्झौता भयो। ५ दिनभित्रमा काम सक्नेगरी उक्त सम्झौता भएको थियो। तर, अहिले सम्झौताको २५ दिन बितिसक्दा पनि काम पूरा हुन सकेको छैन।

 असार मसान्तसम्ममा काम सक्नेगरी सम्झौता भएपनि असार सुरुआतदेखि नै पानी परेकाले काम पूरा हुन नसकेको निर्माण पक्षले जनाएको छ।

हाल इटहरी–२० मै डे्रन निर्माण कार्य चलिरहेको  छ। ४ लाख ९२ हजार रुपैयाँमा ड्रेन निर्माण गर्न जेठ १२ गते महिनादिनभित्रमा काम सक्नेगरी सम्झौता भएको थियो।  अहिलेसम्म त्यो पनि पूरा हुन सकेको छैन। ड्रेन निर्माण गर्न उपमहानगरपालिकाले ३ लाख ८० हजार रकम भुक्तानी गरिसकेको छ।

इटहरी उपमहानगरपालिकाले असार मसान्तसम्म काम सक्नेगरी सम्झौता गरेका यी २ वटा योजना त केवल उदाहरणमात्र हुन्। यीबाहेक सुनसरीमा छिटो–छिटो विकास गर्ने प्रवृत्तिले असार मसान्तसम्ममा सक्नुपर्ने ५४ वटा योजना पूरा भएका छैनन्। १९ वटा योजनाको काम पूरा भएपनि ती योजनाको समेत अनुगमन गरिएको छैन। योजना पूरा भएपछि कर्मचारीले अनुगमन गरेर स्वीकृत गर्नुपर्छ।

योजना पूरा हुन बाँकी रहेका १४ वटा योजनाको काम ७० प्रतिशत सकिएपनि अरू बाँकी ४० वटा योजनाको काम ३५ प्रतिशतमात्र सकिएको छ। पूरा नभएका योजनामा बाँध निर्माण, ड्रेन निर्माण, सामुदायिक स्कुलको भवन मर्मत, कल्भर्ट, तटबन्ध, सडक कालोपत्रेलगायत छन्। यी योजनाको लागत १ लाखदेखि २० लाख रुपैयाँसम्म रहेको छ। उपमहानगरपालिकाको योजना शाखाका अनुसार, अहिले काम युद्धस्तरमा भइरहेको छ। तर, स्थानीयले भने विकासका नाममा बजेट पानीमा बगाएको  गुनासो गर्दै आइरहेका छन्।

पूरा गर्न बाँकी रहेका योजनाको सम्झौतामा ढिलाइ भएको र असार पहिलो सातादेखि पानी परिरहेकाले काम नसकिएको उपमहानगरपालिकाका इन्जिनियर जीवन घिमिरेले बताए। इटहरी नगरपालिकाबाट उपमहानगरपालिका बन्दा मिसिएका साबिक गाविसहरू खनार, एकम्बा, पकली र हाँसपोसा क्षेत्रका थुप्रै स्थानमा स्थानीयले योजना पूरा गर्न लगानी लगाउन नसक्दा पनि काममा ढिलाइ भएको उनको जिकिर छ।

 'पहिला इटहरी नगरपालिका छँदा ९ वडामात्र हुँदा सरकारी ५० र स्थानीय उपभोक्ताले ५० प्रतिशत लगानी गर्नुपर्ने नियम थियो। अहिले उपमहानगरपालिका भएपछि न्यूनतम् १५ प्रतिशत उपभोक्ताले लगानी लगाउनुपर्ने छ,' उनले भने, 'तर, कतिपय बस्तीमा स्थानीयले पैसा जुटाउन समय लागेकाले पनि काम समयमै पूरा नभएको हो।' उनले अधुरा योजना आन्तरिक स्रोतबाट सञ्चालन गर्नुपर्ने भएकाले कठिनाइ भएको बताए। इटहरीमा अधुरा सबै योजनाको सम्झौता वैशाखयता भएका हुन्।

यसैबीच, दुहबी नगरपालिकाका २ वटा योजना पनि अधुरै छन्। वडा नम्बर ६ र ७ को सरस्वती उच्च माविदेखि हस्पिटल चोकसम्मको पक्की नाला निर्माण गर्ने ३० लाख रुपैयाँको योजना पूरा हुन सकेको छैन। नाला निर्माण असार दोस्रो सातासम्म सक्नुपर्ने भएपनि वर्षाका कारण निर्माण कहिले पूरा हुने भन्ने टुंगो छैन। नाला निर्माण गर्न माटो खनेर सडकमा राखेकाले अहिले त्यो सडकमा हिँड्डुल गर्न समेत असहज भएको छ। 'पक्की सडकमाथि नाला खनेको माटो राख्दा अहिले पूरै हिलाम्य भएको छ,' स्थानीय होटल सञ्चालक अशोक जैसवालले भने।

असार मसान्तसम्ममा पूरा गर्नुपर्ने दुहवी–भलुवा–१ बाट प्रर्साटोकी जाने १ किलोमिटर सडक पनि काम बाँकी  छ। यो कालोपत्रे गर्न ३० लाख रुपैयाँ छुट्याइएको छ।

प्रकाशित: ७ श्रावण २०७३ ०५:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App