८ वैशाख २०८१ शनिबार
अन्य

‘उपत्यका नै राम्रो लाग्छ’

बेनिशा हमाल, अभिनेत्री

तपाईंलाई मनपर्ने सहर कुन हो ?
नेपालका सहरमध्ये पोखरा मनपर्छ । हावापानी र जनसंख्या बनोटले पोखरा आकर्षक छ । नेपालका अरु सहर त्यति राम्रा र व्यवस्थित छैनन् । भवन निर्माण र जनसंख्याको चापले काठमाडौं अहिले अव्यवस्थित बनेको छ । व्यवस्थापन गर्ने हो भने काठमाडौं विश्वको नमुना सहर बन्न सक्छ । काठमाडौंमा पाइने विषेशता अन्यत्रका सहरमा पाइन्न । जनसंख्याको चाप र प्रदूषणले काठमाडौं फोहोर बन्दै गइरहेको छ । मैले विभिन्न मुलुकका सहर घुमेकी छु । जापानको नागोया एकदमै मनपर्‍यो । त्यो सहर पर्यटकलाई लक्षित गरेर बनाइएको रहेछ । हाम्रा सहरलाई पनि त्यसैगरी विकास गर्ने हो भने नेपाल पर्यटन क्षेत्रका अघि बढ्न सक्छ । 

सहर कस्तो हुनुपर्छ ?
हामीलाई सहर भन्नेबित्तिकै स्वच्छ, रमणीय, सुरक्षित र सुविधायुक्त हुनुपर्छ जस्तो लाग्छ । यी सेवा भए भने मात्रै हामीले सहर राम्रो छ भन्न सक्छौं । सहरमा सबैखाले सेवा सुविधा हुनुपर्छ । सहरवासीले आफूले चाहेका सेवा सुविधा लिनका लागि भौतारिनु नपर्ने हो तर, हाम्रा सहर त्यति व्यवस्थित छन् जस्तो लाग्दैन ।

अरु देशसँग तुलना गर्दा हाम्रा सहर कस्ता लाग्छन् ?
अरु देशका सहरसँग हाम्रा सहरलाई तुलना गर्नै मिल्दैन । किनभने नेपालका सहरको सुगन्ध अरु देशका सहरमा पाइँदैन । अरु देशका सहर पर्यटक केन्द्रित र बनावटी हुन्छन् । हाम्रा सहर प्राकृतिक रूपमै सुन्दर छन् । यहाँको मौलिकता र प्राकृतिक सौंन्दर्यता अरु सहरमा पाउन सकिँदैन । काठमाडौं थोरै प्रदूषित भए पनि अन्य कुरामा धेरै राम्रो छ । विकास निर्माणले गर्दा अहिले उपत्यका प्रदूषित र अव्यवस्थित देखिए पनि अबको छोटो समयमै उपत्यका सुन्दर बन्छ जस्तो लाग्छ ।  

नेपाली सहरको राम्रो पक्ष के हो ? 
नेपालका हरेक सहरको आफ्नै मौलिकता र विशेषता छन् । यहाँका सहरमा प्राकृतिक सौन्र्दयदेखि मौलिक संस्कृतिको रस पाइन्छ । काठमाडौं, पोखरा, विराटनगर, बुटवल सबै सहरका मौलिकता र पहिचान फरक देखिन्छ । यी सहरमा घुम्न जाने पर्यटकले सहरपिच्छे फरक स्वाद लिन पाउँछन् । 

उपत्यकाको नराम्रो पक्ष के हो ? 
धुवाँधुलो, ट्राफिक जाम, पार्किङ, फुटपाथ, जनसंख्याको चाप नै यहाँका नराम्रा पक्ष हुन् । यी विषयलाई ध्यानमा राखेर विकास निर्माण गर्ने हो भने उपत्यका राम्रो बन्न सक्छ । यहाँको मौसम र विकास निर्माण भइरहेको देख्दा उपत्यका अब राम्रो बन्दैछ जस्तो लाग्छ । 

सहरलाई व्यवस्थित पार्न के गर्नुपर्ला ? 
सरकार मात्रै होइन, सहरलाई राम्रो बनाउन नागरिक पनि जिम्मेवार हुनुपर्छ । विकास निर्माणमा नागरिकले सरकारलाई सहयोग पुर्‍याउनुपर्छ । उपत्यकाको सरसफाइ, बाटोघाटो निर्माण, व्यवस्थित पार्क, ट्राफिक व्यवस्थापन, धुवाँधुलो रोकथाम, लगायत विषयलाई केन्द्रमा राखेर काम गर्ने हो भने समस्या तुरुन्तै समाधान हुन सक्छ । 

तपाईं काठमाडौंको प्रमुख बनेको भए के गर्नुहुन्थ्यो ?
सबैभन्दा पहिले त यहाँका सरसफाइलाई नै ध्यानमा राख्थें । ट्राफिक जाम समाधान र जनताको राय बुझेर काम गर्थे । बाटोघाटो निर्माण, ट्राफिक व्यवस्थापन, धुवाँधुलो रोकथाम जस्ता विषयलाई केन्द्रमा राखेर काम गर्थें ।

प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: १९ असार २०७४ ०७:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App