coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

चिसो ‘आइस’ गोला

गर्मीमा शरीरको तापक्रम नियमित बनाई शितल महसुस गर्न विभिन्न खानेकुरा उपभोग गरिन्छ । गर्मीमा शरीरलाई शीतल बनाउन खाइने खानेकुरामा अचेल लोकप्रिय बनेको छ – आइस गोला । पिसेको बरफको डल्लोमा विभिन्न स्वाद हाली ‘आइस’ गोला बनाइन्छ । यो चुस्की हो । 

तुरुन्तै गर्मी भगाउन खाइने आइस गोला ‘स्ट्रिट फुड’ हो । काठमाडौंका विभिन्न ठाउँमा अचेल बालबालिका र युवायुवती ‘आइस’ गोला चुसिरहेको देख्न सकिन्छ । 

नीलम श्रेष्ठका ८ वर्षका छोरा काठमाडौं मलमा ‘आइस’ गोला चुसिरहेका थिए । बजार निस्किँदा छोराले सधैं ‘आइस’ गोला खान मन पराउने गरेको नीलमले बताइन् । उनले भनिन्, ‘एकपल्ट आफैंले खान दिएकी थिएँ । त्यसपछि उसलाई अति मन परेछ । त्यहि भएर खुवाएकी हुँ ।’ 

छोरालाई बेलाबेला ‘आइस’ गोला खान दिए पनि ‘आइस’ गोला कसरी बन्छ भन्ने आफूलाई थाहा नभएको उनले बताइन् । उनले भनिन्, ‘खै कसरी यस्तो बन्छ भन्ने थाहा भएन । तर, मीठो र शीतल हुने भएकोले छोरालाई खान दिन्छु ।’ छोरालाई खान दिने मात्र होइन, उनी आफैं पनि कहिलेकाहीँ ‘आइस’ गोला चुस्ने गरेकी छिन् । उनलाई काला खट्टा ‘फ्लेभर’को गोला मन पर्ने नीलमले बताइन् । 

काठमाडौं मलको बाहिरपट्टि रहेको एक स्टलमा ‘आइस’ गोला बेच्ने गंगा मगरका अनुसार ‘आइस’ गोला धेरैजसो ‘टिनएजर’ केटाकेटीले मन पराउने गरेका छन् । उनले भनिन्, ‘भर्खरका केटाकेटीले अचेल आइसक्रिमभन्दा गोला नै खान रुचाउँछन् । खानेमा धेरैजसो केटी हुन्छन् ।’ उनका अनुसार बालबालिका पनि ‘आइस’ गोलाका उपभोक्ता हुन् । अभिभावकले नै बालबालिकालाई ‘आइस’ गोला खान दिने गरेको उनले बताइन् । गंगाले भनिन्, ‘यसको रङ नै लोभलाग्दो हुन्छ । त्यसैले बच्चाहरु आकर्षित हुन्छन् । स्वाद थाहा पाएपछि त झन् बालबालिका हुरुक्कै हुन्छन् ।’ 
उनको स्टलमा विभिन्न सात ‘फ्लेभर’का ‘आइस’ गोला उपलब्ध छन् । स्ट्रबेरी, बटर स्कच, काला खट्टा, काँचो आँप, कागती, सुन्तला र आँपका ‘फ्लेभर’ हालेर ग्राहकलाई दिने गरेको उनले सुनाइन् । 

काठमाडौंकी आशा बानियाँ पनि गर्मीका बेला ‘आइस’ गोला खान्छिन् । अत्यधिक गर्मीमा शरीरलाई शीतल बनाउन गोला खाने गरेको उनी सुनाउँछिन् । भनिन्, ‘गर्मीमा कुनै न कुनै चिसो पिइन्छ । आइस गोला मीठो पनि चिसो पनि हुने भएकोले खान्छु ।’ 

गर्मी मौसम विभिन्न चिसो खानेकुराको व्यापार सँगसँगै लिएर आउँछ । गर्मीमा विभिन्न खालका चिसो पेय पदार्थको प्रयोग सामान्य बनेको छ । पछिल्लो समय गर्मीमा चिसो पदार्थका रूपमा ‘आइस’ गोलाको उपभोग बढेको स्वयम्भुमा ‘आइस’ गोला बेच्ने चन्दन साह बताउँछन् । पहिले लेमन सोडा बेच्ने उनी अघिल्लो वर्षदेखि ‘आइस’ गोला बेच्न थालेको बताए ।  

सिभिल मलको एउटा स्टलमा ‘आइस’ गोला बेचिरहेको दिपेन चौधरीका अनुसार जाडो सक्न नपाउँदै युवा गोला खोज्दै आउने गरेका छन् । उनको स्टलमा सात फ्लेभरका ‘आइस’ गोला पाइन्छ । चिनी, पानी, ‘फ्लेभर सिरप’, मसला, बिरे नुन हालेर बनाइएको ‘सिरप’ मा ‘क्रस्ड’ बरफको डल्ला डुबाएर ‘आइस’ गोला दिइने चौधरीले बताए । 

धेरै युवाको आकर्षण भए पनि कसैले पनि ‘आइस’ गोला बन्ने प्रक्रियाबारे नसोधेको चौधरीले बताए । ‘खाएर जान्छन्, केबाट बन्छ भनेर कसैले अहिलेसम्म सोधेको छैन,’ उनले भने । ‘फ्लेभर’ अनुसारको रङको आकर्षणले मात्र पनि कतिपयले ‘आइस’ गोला खाने गरेको उनको भनाइ छ । 

ध्यान दिनुपर्ने कुरा
लहडमै ‘आइस’ गोला उपभोग गर्दा स्वास्थ्यलाई हानी पुग्न सक्नेबारे भने सचेत हुनुपर्ने खाद्य प्राविधिज्ञ सुमन धिताल बताउँछन् । खाद्य रङले उपभोग गर्दा स्वास्थ्यलाई कुनै असर नगर्ने भए पनि ‘फ्लेभर सिरप’ बनाउँदा कति मात्रामा हालिन्छ भन्ने कुराले फरक पर्छ । प्राविधिज्ञ धितालले भने, ‘दुई सय पिपिएमभन्दा बढी कडा रङ प्रयोग हानीकारक हुन सक्छ । त्यो मापदण्ड कायम गरेनगरेको थाहा नहुने भएकोले यसबारे सचेत हुनुपर्छ ।’ उनका अनुसार कृत्रिम रङको अत्यधिक प्रयोगबाट बालबालिकामा ‘हाइपरएक्टिभिटी’ जस्ता स्वास्थ्य समस्या समेत हुन सक्ने अध्ययनले देखाएको छ । 

गोला बनाउन प्रयोग गरिने पानीको गुणस्तरमा समेत उपभोक्ता सचेत हुनुपर्ने उनले बताए । साथै खुला ठाउँमा बेचिने खाद्यवस्तुबाट विभिन्न संक्रमण हुन सक्ने भएकोले स्वच्छतामा समेत ध्यान दिइनुपर्ने प्राविधिज्ञ धितालले बताए । 

प्रकाशित: १९ असार २०७४ ०७:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App