८ वैशाख २०८१ शनिबार
विचार

बिपी र र पुष्पलालको सम्झना

हिजो र अस्ति बिपी र पिएल जयन्ती थियो। मेरा लागि नाम र चेहराले कुनै अर्थ राख्दैैन् तर ती नाम र चेहराले दिने सन्देशले भने ठूलो महत्व राख्छ। कांग्रेस र कम्युनिस्टले पोस्टर बनाइएका बिपी र पिएललाई  कतिपयले सम्झे, कतिपयले कर्मकाण्डीय श्राद्धे पनि गरेर हकवाला सावित गर्ने प्रयत्न  गरे। आखिर के बिपी कांग्रेसको मूल्य, मान्यता, आदर्श, राजनीति, अर्थनीति, संस्कृति अहिलेको कांग्रेसले पछ्याएको त छ? या दर्जनौं खेमा, गुटमा बाँडिएका कम्युनिस्टहरुका चिन्तन, आचरण र भूमिका  पुष्पलालको सोचअनुसार छन् त? जब छैनन् भने नाम र चेहरामात्र सम्झनुको अर्थ के रहन्छ?

समाज परिवर्तनको गम्भीर मोडमा इतिहास सम्झँदै नायकलाई याद गरिनु भनेको उनीहरुको आदर्शीय भूमिका वर्तमानमा झन् खट्किएको संकेत हो। इतिहास अणु पनि हो र परमाणु पनि। वर्तमानका जटिलता हल गर्न इतिहास र नायकले शक्ति र सोच दिन्छन्। सरोकारवालाले पछ्याउने भने कति हो, त्यसैमा इतिहासवोधको मर्म रहन्छ। नायक महामानव वा 'देवता' भने हुँदैनन्, हैनन्। उनीहरुका पनि सीमा र समस्या हुन सक्छन्। तर औसत मान्छेभन्दा ती अग्ला मानव भने हुन्छन् नै। बीसौँ शदीको नेपाली राजनीतिमा बिपी र  पिएल पनि त्यस्तै थिए।

सामान्यजन इतिहासबाट पे्ररणा लिनेभन्दा पनि अध्ययनबाटै आतंकित हुन्छन्। अझ शक्तिशालीहरु इतिहासलाई या पिसाचका कथा भन्छन् या काउसो ठान्छन्। बिपी र पिएल अहिले कांग्रेस र कम्युनिस्टलाई आतंकै बनेका छन्।  नेपाली राजनीतिक पार्टीहरु अहिले दिशाहीन गति पक्रिरहेका छन्। समयको लय, मानक, गति... दिशाहीन हुनै सक्दैन। दिशा निर्देशन सिद्धान्तले गर्छ। तर सुविधाका सिद्धान्त भनेका जुन बेला जे आवश्यकता पर्छ त्यही लिनेमात्र हो।

बीसौँ शताव्दीको नेपाली राजनीतिमा सर्वाधिक महत्व राख्ने नेताहरुमा बिपी कोइराला, पुष्पलाल र राजा महेन्द्र हुन्। अझ सत्ता राजनीतिको असली द्वन्द्व बिपी र महेन्द्रबीच भयो। दुवैको द्वन्द्वमा समकालीन राजनीति मात्रै होइन, क्षेत्रीय शक्ति सन्तुलन साथै शीतयुद्धको झझल्को र रडाको पनि देखिन्थ्यो। तीनै जनाका समान गुण भनेका आआफ्ना सिद्धान्त, संस्कृति, मान्यता र आदर्शअनुरूपको राजनीतिक अभ्यास गर्नु होे। त्यो जीवनको अन्त्यसम्म तीनै जनाले गरे।

सत्ताकेन्द्रित राजनीतिको अभ्यास गरेका हुँदा बिपी र महेन्द्रको चर्चा हुनु स्वाभाविकै हो तर पुष्पलालले सत्ता अभ्यास गर्न भने पाएनन्। सत्तामा टेस्ट हुनै परेन। त्यसैले उनलाई पार्टीको सिद्धान्त, संस्कृति, आचरण, प्रतिबद्धता र संगठन अभ्यासको कसौटीमा मात्र नियाल्न सकिन्छ।

वर्गीय समाजमा सोचजस्तै इतिहासको पनि व्यवस्थापन हुने गर्छ।  राजा महेन्द्र आधुनिककालको सामन्ती सक्रिय राजतन्त्रात्मक सिद्धान्त अभ्यास गर्थे, बिपीको प्रजातान्त्रिक समाजवाद (सोसल डेमोक्रेसी) अभ्यास थियो, पुष्पलालको कम्युनिस्ट। तिनै राजनीतिज्ञले आफ्ना सिद्धान्त, आदर्श र  मान्यतालाई कलापूर्ण अभ्यास गरे र टिकिरहे। प्रजातन्त्र र राष्ट्रियताको नाममा एकअर्काको अन्तरविरोधमा खुब खेल्थे, प्रयोग गर्थे। सिद्धान्तको आदर्शले पार्टीहरु चल्ने, आन्दोलन बन्ने र अन्तर्राष्ट्रिय द्वन्द्व पनि राजनीतिक सिद्धान्तकै कारणले विश्व दुई धु्रवमा बाँडिएको अवस्थामा त्यसको प्रयोग, भूसंवेदनशीलतामा हुनु अन्यथा हुँदैनथ्यो। ती द्वन्द्व अनेकौँ रूपमा देखा पर्थे। ती कार्यनीतिक एकतामा पनि देखिन्थे, मूलतः संर्घषमा। बिपी र राजाको, कांग्रेस र पिएलको सम्बन्ध र सहकार्यलाई कूटनीतिक राजनीतिक अभ्यासको अर्थमा लिन सकिन्छ। उनीहरुका तत्कालीन कथनलाई राजनीतिक वक्तव्यका रूपमा पनि हेरिन आवश्यक हुन्छ।

बिपी अर्थात सान्दाइबारे चर्चा गर्दा समयको नाडी छामेर सिद्धान्तको कार्यनीतिमा आवश्यकताअनुरूप फेरबदल गरिरहन सक्ने र शक्तिको केन्द्रमा आफूलाई नै राख्ने नेताका रूपमा हेर्नुपर्छ। कुनै पनि कार्यनीति असफल हुने लक्षण देख्नेबित्तिकै अर्को तरिका अपनाउनु र शत्रुपक्षसँग पनि कलामय संर्घष गर्नु, दुई सत्रुबीच छान्नुपर्दा राष्ट्रियतालाई प्रधानता दिनु, आन्दोलनको राष्ट्रिय/अन्तर्राष्ट्रिय सम्बन्धको भरपुर उपयोग गर्नुमा कौशलता देखिन्छ। राजा र भारतप्रतिको दृष्टिकोणलाई सुक्ष्म नियाल्ने हो भने यी तथ्य फेला पर्छन्। ७ सालको सशस्त्र संघर्ष, मात्रिका, महेन्द्र र उनीबीचको द्वन्द्व, पहिलो निर्वाचित सरकार, १७ सालको महेन्द्र कु, जेल जीवन र संघर्ष, १८ साल र ओखलढुंगा सशस्त्र संघर्ष, राष्ट्रिय मेलमिलाप, स्वदेश आगमन, अदालती बयान, जनमत संघर्ष जस्ता विषयमा उनको रणनीति मातहत कार्यनीतिलाई जोडेर हेर्नुपर्छ।

उनी पार्टीको प्रत्यक्ष वा परोक्ष वैचारिक र संगठनात्मक सदाबहार केन्द्रमै रहे। साहित्यिक व्यक्तित्व भएकाले सामाजिक संवेदनाको नाडी छाम्न सक्थे भने कार्यकर्ता, मित्र र दुश्मनको मनोविज्ञान बुझेर नीति निर्माण गर्न पनि सक्थे। त्यसैले  सरकार बाहिर, भित्र, प्रवास, जेल, पदहीन वा स्वतन्त्र भूमिकामा पनि पार्टी अन्तरसंर्घषमा होस् या समग्र देशको राजनीतिमा आफूलाई केन्द्रमा राख्न सके। उनको टकराहट एकातर्फ मेहेन्द्रवादी सामन्ती सत्तासँग थियो भने अर्कातर्फ शीतयुद्धको चरमकालमा कम्युनिस्टविरुद्धको उग्रचिन्तन पलायो पनि। त्यसले नेपाली प्रजातान्त्रिक आन्दोलनमा समेत असर पार्‍यो। 

सोभियत रुस समर्थित भारतीय हेपाहा शक्तिको विपक्षमा रहँदा अर्को महाशक्ति अमेरिकाको अघोषित सहयोगी बन्न पुर्‍यायो। यहुदी जातिवादी राष्ट्र इजरायललाई एसियामै पहिलो समर्थन दिन पुग्ो भने इन्डोनेसियाको सैनिक कु र सैन्य तानाशाह सुहार्तोलाई समर्थन र  डिएन अडिट अर्थात कम्युनिस्टको हाउगुजी खडा गर्दा उनको सोसल डमोक्रेट छविमा भने असर पुग्न गयो। अडिट इन्डोनेसियाका बडो समर्पित कम्युनिस्ट नेता थिए। अडिट एवं इजरायलप्रतिको धारणा शीतयुद्धकालीन बिपीको अमेरिकी पक्षधारिता हो भने राष्ट्रिय मेलमिलाप विकसित क्षेत्रीय राजनीतिमा सोभियत समर्थित भारतीय सत्ताको छिमेकीप्रति उग्रचिन्तनको परिणाम अर्थात बंगलादेश र सिक्किम प्रकरण र इन्दिरा गान्धीको आक्रामक छिमेकीप्रतिको नीति।

अब पुष्पलालको चर्चा गरौँ। प्रजातान्त्रिक कांग्रेसबाट राजनीति सुरु गरेका सहिद गंगालालका भाइ पुष्पलाल अर्थात माइला दाइ नेपाली कम्युनिस्ट पार्टीका संस्थापक महासचिव, नेपाली इतिहास र समाजको भौतिकवादी धाराका पहिलो विश्लेषक हुन्। नेपाली समाजको वर्ग विश्लेषण, अन्तरविरोध र सत्रु एवं मित्रको किटान गर्दै संघर्षको दिशा निर्धारक अग्रणी नेता। समय गुज्रँदै जाँदा पार्टीमा स्वत्वका टकराहट बढे, सत्ता संर्घषमा उनलाई हुत्याइँदै गयो तर आन्दोलनबाट हुत्याउन भने नक्कली आदर्शवादीले सकेनन्। कम्युनिस्ट पार्टीभित्रको सामन्ती संस्कृतिको प्रताडना, स्वत्वका टकराहट, अंहकारको छूत रोगले आक्रान्त आन्दोलन अहिलेसम्म त्यसै निरन्तरताको पीडामा छ नै। राजतन्त्रसँगको संघर्ष प्रधान मान्ने पुष्पलाल राजतन्त्रप्रति नरम धारणा राख्ने साड्दाजु मनमोहन अधिकारीसँग उनको जीवनपर्यन्त मेल खाएन। पिएलको  प्रजातान्त्रिक आन्दोलन कांग्रेस र कम्युनिस्ट सहकार्यमा मात्रै समाज रूपान्तरण हुन सक्छ भन्ने धारणा रहिरह्यो। १७ सालको महेन्द्रशाही 'कु' पछाडि त यसमा उनी अझ दृढ रहे। उनी प्रताडित आफन्तबाटै हुँदै गए। मोहनविक्रम सिंहबाट 'गद्धार पुष्पलाल' भनिए, त्यस्तै आरोप र अस्वस्थतामै सहयात्री जीवराज आश्रित, मोदनाथ प्रश्रित, मदन भण्डारी, बामदेव गौतमले मुक्ति मोर्चा समूह बनाएर अलग्गिए। रोहितहरुले पनि साथ छाडे। बिपी राष्ट्रिय मेलमिलाप नीति लिएर फर्किएपछि पिएललाई पनि राजाको राष्ट्रवादी अभियान सहयोग पुर्‍याउन सन्देश लिएर बनारस पुगेका टंकप्रसाद आचार्यको प्रस्ताव उनले स्वीकार्न सकेनन्। पिएलले प्रजातान्त्रिक आन्दोलनमा कांग्रेस–कम्युनिस्ट सहकार्य गर्नुपर्छ भन्ने आफ्नोे विचारको सफलता जीवनकालमै देख्न भने पाएनन्।

बिपीको राजनीतिक यात्रा संघर्ष, सम्झौता र मौन संर्घषले पैदा गर्ने राप र ताप हुँदै निरन्तरतामा बढ्यो भने पिएलको निरन्तर संघर्षमा। दुवैका राजनीति आफ्ना सिद्धान्त निर्देशित आचरण, आदर्शलाई जनताले स्पष्ट अनुभूति गर्न पाएको र त्यसलाई निरन्तरता दिएकाले सार्वजनिक अपिल गर्ने नैतिक हक ती दुवैमा थियो। त्यसैले हिजो गाली गरेर नथाक्नेले समेत उनीहरुलाई पछ्याउनुपर्‍यो। आज नेपाली राजनीतिमा सिद्धान्तहीन, आदर्शहीन सक्रियताले नेताहरुमा सार्वजनिक अपिल गर्न सक्ने नैतिक पँुजी हराउँदै जाँदा बिपी र पिएल नेपाली राजनीति र नेपालीजनले सम्झनु अनिवार्य र सान्दर्भिक भएका हुन्। बिपी र पिएलको समान धारणा भनेको विधिमा टेक्दै विधि भत्काउँदै विधि निर्माण गर्नु हो जसलाई राजनीतिक भाषामा क्रान्ति भनिने गर्छ। नैतिक अपिल गर्न सक्ने र सिद्धान्तबाट निर्देशित राजनीति, त्यसैअनुसारको सांस्कृतिक आचरण भयो भने नेताहरुमा नैतिक अपिल गर्ने पुँजी रहन्छ भन्ने सन्देश नै उहाँको सम्झनाको अर्थ, महत्व र सन्देश हुन्छ। त्यो आजको नेपाली राजनीतिका लागि बिपी र पिएयलको दिशानिर्देश मान्नुपर्ने हुन्छ। नत्र भने जयन्ती, सम्झना भनेका कर्मकाण्डीय श्राद्धेमा फेरिन्छन्।

प्रकाशित: ७ श्रावण २०७३ ०५:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App