७ वैशाख २०८१ शुक्रबार
कला

कंगना-ऋतिकको अप्ठ्यारो सम्बन्ध

बलिउड अभिनेत्री कंगना रनोट र अभिनेता ऋतिक रोशनबीच कानुनी लडाइँ चलिरहेको छ। एउटा अन्तर्वार्तामा कंगनाले ऋतिकलाई 'एक्स (पूर्वप्रेमी)' भनेपछि उनीहरूबीच विवाद भएको हो। सार्वजनिक रूपमा आफूलाई 'एक्स' भनेकाले ऋतिकले कंगनाविरुद्ध मानहानिको कानुनी नोटिस पठाए। कंगनाले पनि २१ पेज लामो जवाफ फर्काइन्। कंगनाको एकजना मिल्ने साथीले ऋतिक र कंगनाको सम्बन्धमा आएको उतारचढावबारे खुलासा गरेका छन्। उनले भनेअनुसारः 

ऋतिक स्विट्जरल्यान्डदेखि पेरिससम्म कंगनाका पछि लागेका थिए। लन्डनमा आफ्ना अभिभावकलाई भेटेर उनी पेरिस पुगेका थिए। एउटा औँठी पनि ल्याएका थिए। उनले कंगनालाई प्रेम प्रस्ताव राख्दै भनेका थिए– 'तिमीलाई लाग्ला, म आफ्नो पुरानो सम्बन्धबाट निस्कने प्रयासमा यस्तो गर्दै छु। तर, मलाई भविष्यमा हामीले पाउने खुशीमा कुनै शंका छैन। किनकि, तिमी नै एउटा यस्तो केटी हो, जसले मलाई कहिल्यै 'जज' गरिन। म पहिलो दिनदेखि नै तिमीसँग एउटा बलियो बन्धन महसुस गरिरहेको छु।' त्यो जनवरी २०१४ को समय थियो। डिसेम्बर २०१३ मा ऋतिक र सुजान छुट्टिएका थिए। सुजानसँग अलग्गिएलगत्तै ऋतिकले कंगनासामु बिहेको प्रस्ताव राखेका थिए।

ऋतिकको प्रेम प्रस्तावबारे कंगना असमञ्जसमा थिइन्। उनलाई थाहा थियो, ऋतिक अहिले आफ्नो पुरानो सम्बन्धको पीडाबाट बाहिर निस्किसकेका छैनन्। तर, ऋतिकको विश्वास गरी कंगनाले उनको प्रेम प्रस्ताव स्वीकार गरिन्।

उनीहरूको सम्बन्ध फिल्म 'कृस–३' को सुटिङताका झांगिएको हो। त्यतिखेर कंगनाको करिअर त्यस्तो शानदार थिएन। तैपनि, कंगनाले ऋतिकको प्रस्ताव अस्वीकार गरेकी थिइन्। ऋतिकले आवश्यकताभन्दा बढी आफूमा चासो राखेको देख्दा कंगनालाई अप्ठ्यारो महसुस भइरहेको थियो। कंगनालाई राम्ररी थाहा थियो, ऋतिकसँग उनको अफेयर खुलेर सबैका सामु आउन सक्दैन। फिल्म 'कृस–३' को सुटिङ सकिएपछि उनी एक्लै मिलान सपिङका लागि गइन्, फिल्म 'क्विन'मा एक्लै हनिमुनमा गएजस्तै।

सन् २०१३ मा ऋतिकले कंगनालाई सुजानसँग सम्बन्ध विच्छेद गर्ने कुरा बताएका थिए। त्यतिखेर कंगना स्विट्जरल्यान्डमा थिइन्, ऋतिक चाहिँ अमेरिकामा। ऋतिकले बिहेको प्रस्ताव राखिसक्दा पनि कंगना यस सम्बन्धबारे निश्चिन्त थिइनन्।

फेबु्रअरी २०१४ बाट फिल्म 'बंैग बैंग'का सुटिङ सुरु भएपछि ऋतिकले कंगनालाई बेवास्ता गर्न थाले। उनीहरूबीच कुराकानी लगभग बन्द नै भयो। यसपछि फिल्मकी अभिनेत्री कटि्रनासँग ऋतिक नजिएका कुरा आउन थाले। पछि ऋतिकले कंगनालाई फोन गरेर उनीहरूको इन्गेजमेन्टबारे अरूलाई थाहा छ कि छैन भनेर जान्ने प्रयास गरे। कंगनाले आफ्नो परिवारलाई भनेको थाहा पाएपछि कंगनाले आफ्नो मनसायलाई गलत बुझेको उनले बताएका थिए। मार्च २०१४ मा कंगनाले फिल्म 'क्विन' का लागि राष्ट्रिय अवार्ड जितेपछि ऋतिकले उनलाई फोन गरेर माफी मागे र आफूलाई फेरि अपनाउन आग्रह गरे।

अवार्डले कंगनाको जीवन बदलिदियो। फिल्ममा कंगनाको अभिनयको मात्र प्रशंसा भएन, यसपछि एक युवा सुपरस्टार कंगना वरिपरि घुम्न थाल्यो। एउटा कार्यक्रममा दुवैलाई सँगै देखियो। यसपछि ऋतिकले असुरक्षित महसुस गर्न थाले। उनले कंगनालाई सोधे, 'के तिमी मलाई केही भन्न चाहन्छौ?' कंगनाले उनलाई असुरक्षित महसुस गर्ने आवश्यकता नभएको सुझाएकी थिइन्। तैपनि, ऋतिकको मन शान्त भएन।

मे २०१४ मा उनीहरू करण जौहरको पार्टीमा भेटिए। धेरै सातादेखि उनीहरूबीच कुराकानी भएको थिएन। पार्टीमा भेटिँदा कंगनाले ऋतिकलाई अँगालो हालिन्। 'आउने बुधवार तिमी कसरी अरू अभिनेतासँग डेटमा जान सक्छौ?' रिसाउँदै ऋतिकले भनेका थिए। ऋतिकलाई डेटको कुरा कसरी थाहा भयो भनेर कंगना छक्क परिन्। पछि उनले सम्भि्कइन्, त्यो युवा अभिनेताले उनलाई इमेल आईडी दिएको थियो। ऋतिकले इमेल अकाउन्ट ह्याक गरी उनको तर्फबाट कुरा गरिरहेका रहेछन्। दुई दिनपछि त्यस युवा सुपरस्टारलाई भेट्दा उनले कफीका लागि सोध्दा सत्य बाहिर आयो। कंगनाले आफ्नो अकाउन्ट नै डिलिट गरेर यस अफेयरको अन्त गरिन्।

तर, ऋतिक कंगनाको पछि लागिरहे। उनीहरू एकपटक फेरि सँगै भए। यसपटक कंगनाले आफ्नो नयाँ अकाउन्टका पासवर्ड आफैँ दिइन् र इमेल चेक गर्न भनिन्। इन्डस्ट्रीका केही मानिसले उनीहरूको सम्बन्धलाई गहिरो मानी व्यक्तिगत रूपमा कंगनालाई 'भाउजू' भन्न थालेका थिए।

कंगनाको फिल्म 'तनु वेड्स मनु' र 'कट्टी बट्टी'का लागि सबैले उनलाई ट्वीटरमा शुभकामना दिए। तर, ऋतिकको तर्फबाट उनले कुनै प्रोत्साहन पाइनन्। बरु, ऋतिकले कंगनामाथि कडाइ गर्न थालेका थिए। उनले कंगनाको अपार्टमेन्टबाहिर आफ्नो एउटा मान्छेसमेत तैनाथ गरेका थिए। जसले कंगनाको हरेक गतिविधिको रिपोर्ट उनलाई दिन्थ्यो।

कंगनालाई थाहा थियो, उनी यस्तो चक्करमा फसेकी छिन्, जहाँबाट उनलाई उदासी र निराशामात्र हात पर्नेछन्। तैपनि, उनी दुई वर्षसम्म ऋतिकसँग सम्बन्धमा रहिन्। तर, उनी यस्तो मानिससँग सम्बन्ध जोड्न चाहन्थिन्, जोसँग लुकेर भेट्न नपरोस्। उनी यस सम्बन्धको अन्त्य चाहन्थिन्। तर, ऋतिक अलग हुन तयार थिएनन्।

गसिप कलममा विभिन्न किसिमका अफवाह छापिन थालेका थिए। फिल्म 'आशिकी ३' का लागि ऋतिक भूषण कुमार र मोहित सूरीका सम्पर्कमा थिए। ऋतिककै कारण कंगनालाई 'आशिकी ३' बाट निकालिएको खबर पनि आयो।

कानुनी नोटिस पठाएर ऋतिकले कंगनालाई डराउन खोजेका हुन्। उनलाई लाग्यो, सबैका सामु उनी कंगनालाई माफी मगाउन सक्छन्। तर, कंगनाले किन माफी मागून्? उनको गल्ती नै के छ र? 

प्रकाशित: २६ चैत्र २०७२ ०७:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App