८ वैशाख २०८१ शनिबार
अर्थ

भारतीय रेल्वेद्वारा नेपाली आयातमा अघोषित जरिवाना

वीरगन्ज- भारतीय रेल्वेले नेपाली आयातकर्ताले प्रयोग गर्ने सीमावर्ती रक्सौलस्थित रेल स्टेसनमा मालवस्तु लोड–अनलोड समय २४ घन्टा घोषित गरेर जरिवाना तिर्न बाध्यात्मक अवस्था खडा गरेपछि आयातकर्ता तर्सिएका छन्।

रेल स्टेसनमा आइपुगेका मालसामान निश्चित समयभित्र नउठाए जरिवाना लाग्छ। साबिक नियमअनुसार यसअघि रक्सौलको रेल गोदाममा बिहान ६ देखि राति १० बजेसम्म समयसीमा गणना हुन्थ्यो। यसअघि राति १० बजेदेखि बिहान ६ बजेसम्मको अवधि गणना हुँदैनथ्यो। अब भने चौबीसै घन्टा लोड–अनलोड समय भनेपछि आयातकर्ताले रातिको ८ घन्टा कटाउने छुट अब पाउने छैनन्।

रक्सौलमा मालवाहक रेल आइपुगेपछि अनलोडका लागि ९ घन्टा र गोदाममा झारिएको मालसामान उठाउन अर्को १२ घन्टा शुल्क लाग्दैन। तोकिएको समयमा मालसमान लोड–अनलोड नभए एउटा वेगनको प्रतिघन्टा १ सय ५० भारतीय रुपैयाँका दरले लिन्छ। गोदामबाट माल–सामान नलगे पनि प्रतिघन्टा यसै दरमा भारतीय रेल्वेले जरिवाना असुल्छ।

भारतीय रेल्वेको समस्तिपुर मध्यपूर्वी कार्यालयको असार २४ को पत्रमा २७ गतेदेखि रेल गोदाम २४ घन्टा खोलिएको भनिएको छ। रक्सौल–वीरगन्ज नाका राति ११ बजेदेखि बिहान ५ बजेसम्म अनिवार्य बन्द रहन्छ। रेल गोदाम खुल्ला राखिएको भनिएपछि तोकिएको समय २४सै घन्टा लागू हुने भएपछि यसले व्यापार लागत बढ्न थालेको आयातकर्ता बताउँछन्।

'सीमा बन्द रहन्छ, दुवैतिरको भन्सार बन्द हुन्छ। अनि रातिको समयमा लोड–अनलोड गर्ने मजदुर काहाँबाट ल्याउने? यस्तोमा नयाँ नियम जानीजानी नेपाली आयातकर्तालाई टार्गेट गरेर ल्याइको मान्नुपर्छ,' आयातकर्ता समेत रहेका वीरगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष अशोककुमार वैद्यले भने, 'वीरगन्ज रक्सौल नाकामा एकपछि अर्को गरी भारतीय पक्षबाट समस्या खडा गरेर यस नाका नै बिथोल्ने प्रयास भएको हो कि जस्तो शंका पो लाग्छ!'

स्टेसनमा मालवाहक रेल जुनसुकै बेला आए पनि तत्कालै निःशुल्क समयको समयसीमा प्रभावकारी हुने र त्यो समय सकिएपछि सशुल्क समय सुरु हुने नियम छ। यसले रक्सौल स्टेसनमा हुने खर्च करिब एक तिहाइ बढ्ने व्यापारी बताउँछन्। रेल्वेको रक्सौल गोदाम २४ सै घन्टा खुला हुने भनिएपछि स्वदेशी आयातकर्ता चिन्तित देखिएका छन्। भारतीय रेल्वेले रक्सौल गोदाममा माल–वस्तुको चाप बढेको बेला यस्तो नियम लगाएको छ।

आयातकर्ता माधव राजपालका अनुसार राति ढुवानीका साधनसमेत उपलब्ध हुँदैन। रक्सौल रेल्वे गोदाम यार्डमा मालसामान ढुवानीमा प्रयोग भएका ७, ८ र ९ नम्बर ट्र्याकमध्ये ९ नम्बर ट्र्याक लामो समयदेखि मर्मत नगरिँदा जामको समस्या बढेको उनले बताए। पहिलेदेखि रक्सौल रेल स्टेसनमा असुबिधा र घाटा बेहोरिरहेका व्यापारी अब थप मारमा पर्ने उनको भनाइ छ। यो नाकाबाट सिमेन्ट उद्योगका कच्चा पदार्थ क्लिंकर, जिप्सम, स्लेग, फलाम उद्योगका कच्चा पदार्थको रुपमा आयात हुने विभिन्न किसिमका फलाम, कोइला र खाद्यान्न आयात हुन्छ।

प्रकाशित: ७ श्रावण २०७३ ०३:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App