coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

बिरामी बचाउने म्याग्देली मोडल

काठमाडौं– आर्थिक अभावका कारण कसैले उपचार नपाएर ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले म्याग्दीमा ओमकुमारी शान्ति कोष बनाउने अभियान सुरु गरिएको छ । डेढ करोड रूपैयाँ राशीको कोषका लागि ८० लाख रूपैयाँ जम्मा भइसकेको छ ।   

युवाले सुरु गरेको अभियानमा स्वदेशी मात्र होइन, प्रवासी म्याग्देलीले पनि हातेमालो गरिरहेका छन् । ‘हामी २०७५ सालभित्र रकम जुटाइसक्ने छौंं,’ कोषका अध्यक्ष एवम् म्याग्दी उद्योग वाणिज्य संघका महासचिव राजेश शाक्य भन्छन्, ‘अनि त्यसको ब्याजबाट बिरामीको उपचार गर्छौं ।’

आर्थिक अभावले अकालमा कसैले मर्नु नपरोस् भनेर उपचारमा सघाउन डेढ करोड रूपैयाँ राशीको ओमकुमारी शान्ति कोष बनाइँदैछ । आजसम्म कोष मातहत ३२ जनाको उपचार भइसकेको छ ।  

अभियानले स्वतःस्फूर्त रूपमा चन्दा संकलन गरिरहेको छ । त्यसबाहेक उसले राम्रो रकम लिएर संरक्षक सदस्य बनाउँदै आएको छ । यस्तो सदस्य बन्न व्यक्तिले दुई लाख र संस्थाले तीन लाख रूपैयाँ बुझाउनु पर्छ । अहिलेसम्म १८ जना संरक्षक सदस्य बनिसके ।  

कोष स्थापना पछाडि एउटा कथा छ । २०६९ सालमा म्याग्दी, सिँगा तातोपानी गाउँकी २५ वर्षीया युवती ओमकुमारी पुनलाई बोन म्यारो क्यान्सर भयो । गरिब परिवारकी पुनलाई बचाउन स्थानीय चन्द्र केसीको संयोजकत्वमा ‘ओमकुमारी पुन बचाउ अभियान’ सुरु गरियो । फलस्वरूप ६० लाख रूपैयाँ जम्मा भयो । तर, दुःखको कुरा उपचार गरेको करिब ७ महिनापछि उनको निधन भयो ।

छोरीको ज्यान गइसकेपछि उपचारबाट बचेको १२ लाख रूपैयाँ उनको परिवारले लिन मानेन । अब के गर्ने, अभियन्तालाई समस्या प¥यो । उनीहरू ओमकुमारी जस्तै अरु बिरामीको उपचारमा सघाउन एउटा कोष बनाउने टुंगोमा पुगे । ‘त्यो रकमबाट गरिबको उपचार गर्न हामीले कोष बनायौंं,’ शाक्यले प्रस्ट्याए, ‘देश÷विदेशबाट मनकारीहरूको सहयोग जुट्ने क्रम जारी छ ।’

‘दिन जान्यो, बाँच्न जान्यो’ मुल नारा लिएर अभियान अघि बढेको छ । केही समयअघि बहराइनमा काम गर्ने म्याग्देलीले १८ लाख रूपैयाँ सहयोग गरे । कतारबाट पनि ५ लाख रूपैयाँ उठ्यो । हङकङलगायत देशबाट पनि निम्तो आइरहेको शाक्यले बताए । 
 
कोष मातहत बिरामीको उपचार गर्न विभिन्न अभियान सञ्चालन भइसकेका छन् । यस्तो अभियानबाट ३२ जनाको उपचार भइसकेको छ । बेग्लाबेग्लै संयोजक बनाएर बिरामी बचाउ अभियान चलाउँदै आएको शाक्यले जानकारी दिए । ओमकुमारी पछि मुटुको समस्यामा परेकी पात्लेखेतकी पार्वती दमिनीका नाउँमा ‘पार्वती बचाउ अभियान’ चलाइयो । र, ५ लाख खर्च गरेर उनको उपचार गरियो । त्यसैगरी मुटुकै समस्या भएकी साबित्री थापाको उपचारमा २ लाख ५० हजार रूपैयाँ खर्च भयो । मृगौलापीडित महेन्द्र गर्बुजाको उपचारमा ३ लाख र मोतिविन्दुका बिरामी भीमबहादुर किसानको उपचारमा २० हजार रूपैयाँ खर्च गरियो । यसैगरी अभियानको ३२ औं नम्बरमा बाबियाचौरकी मृगौलापीडित टीकाकुमारी शर्माको उपचार भइरहेको छ । 

शाक्यका अनुसार कोषकै छातामुनि बेग्लै संयोजक र बैंक खाता नम्बर राखेर बचाउ अभियान चलाइन्छ । म्याग्देलीले सुरु गरेको सकारात्मक अभियानको राम्रो प्रभाव परिरहेको छ । अभियानमा शाक्यसँगै लोकश पुन, हरिकृष्ण गौतम, प्रविण खत्री, खम थापा, नरेश श्रेष्ठलगायत होमिएका छन् ।
   
अभियानले बिरामीको उपचारमा मात्र होइन, भूकम्प र पहिरोपीडितलाई पनि सघाउँदै आएको छ । उसले १२ वैशाख ०७२ को भूकम्पपीडितलाई ३० लाख २९ हजार बराबर राहत बाँडेको थियो । त्यस्तै बसेरीको पहिरो पीडितलाई १७ लाख रूपैयाँ, बेग खोलाबाट विस्थापित १२ परिवारलाई ३ लाख रूपैयाँ र विद्यालयलाई १७ लाख रूपैयाँ बराबर सहयोग गरिसकेको छ । 

प्रकाशित: १७ असार २०७४ ०६:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App