coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

झापामा वडाको परिणाम धमाधम

झापा-   नगर र गाउँ नेतृत्वमा एमाले र काँग्रेसबीच नै प्रतिष्पर्धा देखिएको झापाका विभिन्न वडाहरुमा राप्रपा र माओवादीले पनि ती दललाई कडा चुनौति दिएका छन् ।

एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमककै एउटा वडामा राप्रपाले एमालेसँग बराबरी मत ल्याएको छ भने काँग्रेस नेता कृष्णप्रसाद सिटौलाको निर्वाचन क्षेत्रमै पर्ने कचनकवलमा एउटा वडामा राप्रपा विजेता नै बनेको छ । हल्दीबारी गाउँपालिकामा त प्रमुख पदमै राप्रपाले दुई दिनदेखि अग्रता कायम राखेको छ ।

मतगणनाको दोस्रो दिन शुक्रबार साँझसम्ममा  झापाका आठमध्ये सात  नगरपालिकामा एमालेले  प्रारम्भिक अग्रता कायमै राखेको छ । 

भद्रपुर, दमक, गौरादह, अर्जुनधारा, बिर्तामोड, शिवसत्ताक्षी र कनकाई नगरपालिकामा एमालेका उम्मेद्वारले अग्रता कायमै राखेका छन् ।  मेचीनगरमा भने नेपाली काँग्रेसको अग्रता छ । यद्यपि सुस्त गणनाका कारण थोरै मात्रै मत गणना भएको छ । 

झापामा विभिन्न स्थानीय तहको वडाको अन्तिम परिणाम धमाधम आउन थालेको छ । बिहीबार शुरु भएको मतगणनाले शुक्रबारदेखि थप गति लिएपछि वडाहरुको परिणाम आउन थालेको छ ।

जिल्लाका १५ स्थानीय तहका विभिन्न वडाहरुको अन्तिम परिणाम सार्वजनिक हुँदा एमाले सबैभन्दा अघि देखिएको छ । शुक्रबार साँझसम्मको परिणाम अनुसार जिल्लाका आठमध्ये सात नगरमा एमाले अग्रता कायमै छ भने मेचीनगरमा काँग्रेसको अग्रता छ ।

एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमक वडा न.१ को वडा अध्यक्ष पदमा एमाले–राप्रपाको बराबरी मत आएपछि पुन गणना शुरु भएको छ ।  एमाले उम्मेद्वार हरिप्रसाद न्यौपाने र राप्रपाका उम्मेद्वार ताराप्रसाद अधिकारीले  बराबरी ८ सय १ मत ल्याएका थिए ।

बाह्रदशी गाउँपालिका वडा नं. १ मा एमालेका  शम्भुसिंह राजवंशी ५ सय मत प्राप्त गरी  विजयी भएका छन् । उनले  नेपाली काँग्रेसका कुम्भसिंह राजवंशीलाई ७५ मतको अन्तरले पराजित गरेका थिए । कुम्भसिंहले ४ सय २५ मत प्राप्त गरेका छन् ।  अन्य पदहरुमा पनि एमालेकै उम्मेद्वारहरु विजयी बनेका छन् । महिला सदस्यमा लिलोवति राजवंशी (५३०) , दलित महिला सदस्य उल्फा हरिजन (५०७), खुला सदस्यमा सुफल र्मुमु (४६८) र सयरु मियाँ (४९०) मत ल्याई निर्वाचित भएको निर्वाचन अधिकृत बाबुराम राईले जानकारी दिए ।

त्यस्तै कनकाई नगरपालिका वडा न.१ को वडा अध्यक्षमा एमालेका रोशनराज पोखरेल निर्वाचित भएका छन् । नेपाली काँग्रेसका शम्भु खड्कालाई २ सय ७७ मत  अन्तरले पराजित गर्दै उनको प्यानल नै विजेता बनेको छ ।  पोखरेलले ८ सय ८७ र खड्काले ६ सय १० मत प्राप्त गरेको निर्वाचन अधिकृत रोशनकुमार भट्टराईले बताए । एमालेकी महिला सदस्य सीता अधिकारी (८५४), दलित महिला सदस्य सरिमाया दर्जी (८२४), खुला सदस्यमा देवीप्रसाद अधिकारी (७९६) र पुष्पहरि चौधरीले ६ सय ७९ मत ल्याई निर्वाचित भएका छन् ।

बिर्तामोड—१ नम्बर वडा अध्यक्षमा एमालेका अग्नीप्रसाद पाण्डे निर्वाचित भएका छन् । उनले नेपाली काँग्रेसकी देवीका वस्नेतलाई ५ सय ७२ मतको अन्तरले पराजित गरेका हुन्  । पाण्डेले १ हजार २ सय ७२ मत ल्याएका थिए भने वस्नेतले ७ सय मत मात्र प्राप्त गरेकी छन् ।  त्यस्तै भद्रपुर—१ मा एमालेको प्यानलै विजयी भएको छ । वडा अध्यक्षमा एमालेका दशरथ प्रधान नेतृत्वको टिम  निर्वाचित भएको हो ।  अर्जुनधारा १ मा पनि एमालेको प्यानल नै विजयी भएको छ । गजाधर खतिवडा नेतृत्वको टिमले जितेको हो । गौरादह १ मा पनि एमालेका नगेन्द्र भण्डारी विजयी भएका छन् ।

त्यस्तै बुद्धशान्ति गाँउपालिका वडा न. ७ मा माओवादी केन्द्रका मातृकाप्रसाद पौडेल निर्वाचित भएका छन् भने अरु ४ वटा सदस्यमा एमाले विजयी भएको छ । उनले प्रतिष्पर्धी  एमालेका निरकुमार सुवेदीलाई ५२ मतको अन्तरले पराजित गरेका हुन्  । पौडेल  ३ सय ८ मत ल्याई विजयी भएको निर्वाचन अधिकृत इन्द्रकमल प्रधानले जानकारी दिए । एमालेकी महिला सदस्य रितादेवी बराल (३०५), दलित महिला सदस्यमा जानुकादेवी लोहार(२६४), खुला सदस्यमा मातृकाप्रसाद निरौला (२९३) र दिनेश लिम्बु (२७४) निर्वाचित भएको उनले बताए ।

त्यसैगरी, कचनकवल गाँउपलिका वडा न. १ को वडा अध्यक्षमा राप्रपाका लक्ष्मीनारायण यादव निर्वाचित भएका छन् । उनले ८ सय ६० मत प्राप्त गरेका हुन् । प्रतिष्पर्धी  नेपाली काँग्रेसका रुद्रमणि दाहाललाई २८ मतको अन्तरले पछि पार्दै उनले जीत हात पारेका ह्ुन्  । दाहालले ७ सय ३२ मत पाएका छन् । सो वडामा तीन वटा सदस्यमा काँग्रेसले जितेको छ । महिला सदस्यमा राप्रपाकी इन्द्रकला गणेश (८१६), काँग्रेसकी दलित महिला सदस्य सुनिता दर्जी (८५२), खुला सदस्यमा उमाशंकर गणेश (८०३) र महाविर लिम्बुले ९ सय ८८ मत ल्याइ निर्वाचित भएको भण्डारीले जानकारी दिए ।

 

 

प्रकाशित: १६ असार २०७४ १४:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App