coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पहिरो छलेर ट्र्याक खोलिँदै

सिन्धुपाल्चोक- भोटेकोसी बाढीले दुई सातादेखि अवरुद्ध उत्तरी सीमा–नाका तातोपानी सडकमार्गले जोड्न नयाँ ट्र्याक खन्न थालिएको छ। अरनिको राजमार्गको आधा खण्ड (सिन्धुपाल्चोक) हेर्ने डिभिजन सडक कार्यालय चरिकोटले सातादेखि नाका जोड्ने प्रयास जारी राखेको छ। निर्माणाधीन मध्यभोटेकोसी जलविद्युत् आयोजनाले डिभिजन सडकलाई उपकरण सघाइरहेको छ।

 'नयाँ ट्र्याकमार्फत नाका जोड्न तल्लीन छौं,' डिभिजन कार्यालयका प्रमुख इन्जिनियर अशोक तिवारीले बिहीबार नागरिकसँग भने, 'तर, निरन्तरको पहिरो र कटानले अवरोध पुर्‍याइरहेको छ।' भोटेकोसीमा असार २१ गते आएको विनाशकारी बाढीले बाह्रबिसे–तातोपानी (२६ किमी) सडक खण्ड ठाउँ–ठाउँ कटान गर्दा सीमासम्मका ६ गाविस नाकाबन्दीमा छन्।

 भोटेकोसी कटान र पहिरोले सडक क्षतविक्षत बनाएको प्रमुख इन्जिनियर तिवारीले बताए। 'अबको दुई सातामा अस्थायी ट्र्याकले नाका जोड्ने लक्ष्य छ,' उनले भने। डिभिजन कार्यालयका अनुसार उक्त खण्डका १८ स्थानमा सडक टुटेको छ। कटान अझै रोकिएको छैन। आठ स्थानमा पूरै सडक (भिरसम्म) कटानमा परेको छ।

 बाढीले सबैभन्दा बढी क्षति तातोपानीको अन्तिम बजार लिपिङमा पुर्‍याएको छ। यद्यपि त्यहाँ घर मात्र बगाएको र सवारीसाधन वारपार हुने सडक बाँकी नै रहेकाले ट्र्याकले जोड्न सकिने कार्यालयको विश्वास छ। 'समस्या लार्चादेखि जम्बु झन्डै १६ किमी सडकमा छ,' तिवारीले भने, 'नदी कटान र ठुल्ठूला पहिरो यही क्षेत्रमा छन्।' बाह्रबिसे खुर्सानीबारीको सडक कटानमाथिबाट ट्र्याक खन्दै जम्बुसम्म राजमार्ग जोडिइसकेको छ। जम्बुमा झन्डै ४० मिटर सडक काटिएको छ।

 पहिरोका कारण खुर्सानीबाट अघि बढेका डिभिजन कार्यालयका उपकरण जम्बुमै अड्किएका छन्। मध्यभोटेकोसीका उपकरण पनि त्यहीँ प्रयोग भइरहेका छन्। कटान भएको क्षेत्रमा ४० देखि १ सय ५० मिटरसम्म सडक बगाएको प्रमुख इन्जिनियर तिवारीले बताए। उनका अनुसार दुइटा चेन एक्स्काभेटर र एक–एक लोडर, ब्याको (सानो एक्स्काभेटर) ले अहिले ट्र्याक खोलिरहेका छन्। राजमार्गको नयाँ पुलनजिक इन्धन सकिएर दुइटा डोजर, एक्स्काभेटर रोकिएका छन्। ती सञ्चालनमा ल्याउन भरियालाई बोकाएर इन्धन लगिँदै छ। काम गर्दागर्दै पहिरोले एउटा एस्क्काभेटर नै पुरेको थियो।

मध्यभोटेकोसीले चिनियाँ ठेकेदार कम्पनीसँग भाडामा लिएर तीन एस्क्काभेटर, दुई लोडर र चार टि्रपर परिचालन गरेको छ। 'भोलि (शुक्रबारसम्म) जम्बुको पहिरो पन्छाउँदै कटान क्षेत्रमा खन्न थालिएको नयाँ ट्र्याकले सडक जोड्न सक्छ,' आयोजनाका वरिष्ठ सिभिल इन्जिनियर सञ्जय सापकोटाले भने। यो ट्र्याक पूरा भएपछि झन्डै तीन–चार किमीमाथि बसेरीसम्म सडक जोडिनेछ।

मौज्दात इन्धनले काम दियो

उक्त राजमार्गमा बर्खामा निम्तिन सक्ने विपत्तिबारे पहिल्यै सचेत डिभिजनले झन्डै ४ हजार लिटर इन्धन मौज्दात राखेको थियो। अहिले त्यही इन्धनले काम दिइरहेको डिभिजन प्रमुख तिवारीले बताए। 'त्यो पनि सकिन लाग्यो, उधारोमा किनेर भए पनि काम जारी राख्छौं,' उनले भने, 'त्यसको शोधभर्ना सडक विभागले गर्नेछ।'

डिभिजनका अनुसार भूकम्पपछि बिग्रिएको सडक बनाउन गत वर्ष यो राजमार्ग मर्मत शीर्षकमा १ करोड रुपैयाँ विनियोजन गरिएको थियो। अधिकांश रकम भूकम्पले बिगारेको सडक मर्मतमै खर्च भएको थियो। बचेको केही रकमले इन्धन जोहो गरिएको तिवारीले जानकारी दिए ।

बाह्रविसे-तातोपानी खण्ड सुधार्न ठेक्का

 बाढी र पहिरोको चपेटामा पर्दै आएको बाह्रविसे–तातोपानी सडक खण्ड स्तरोन्नति गर्न ठेक्का लगाइएको छ। डिभिजन सडक कार्यालय चरिकोटले गत असारमा मात्र ३० करोड रुपैयाँको ठेक्का स्वीकृत गरेको हो।

 कार्यालयले गत माघमै बोलपत्र आह्वान गरेको थियो। रमनकुमार जेभी कन्ट्रक्सनले ठेक्का पाएको छ। 'यो भोटेकोसी बाढी आउनुपूर्वकै ठेक्का हो,' डिभिजन प्रमुख इन्जिनियर अशोक तिवारीले भने, 'अहिले नाका जोड्न खोलिएको ट्र्याक अस्थायी हुनेछ, सडकलाई स्थायी बनाउने काम यही ठेक्कामार्फत गरिनेछ।' भोटेकोसी बाढी रोकिएपछि २६ किमी खण्ड सुधारका काम अघि बढ्ने उनले बताए।

प्रकाशित: ७ श्रावण २०७३ ०२:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App