८ वैशाख २०८१ शनिबार
समाज

केसीका पक्षमा जाग्यो मोफसल

धरान/चितव- चिकित्सा शिक्षामा सुधारलगायत माग राखेर १२ दिनदेखि त्रिवि, शिक्षण अस्पताल, काठमाडौंमा अनसन बसेका डा. गोविन्द केसीको समर्थनमा बिहीबार पनि भरतपुरमा मैनबत्ती प्रज्वलनसँगै प्रदर्शन गरिएको छ। केसीको जीवनरक्षा र माग पूरा गर्न दबाब दिन प्रदर्शन गरिएको हो। 

भरतपुरमा चार दिनदेखि प्रदर्शन जारी छ।  प्रयास नेपाल नामक संस्थाको अगुवाइमा भइरहेका प्रदर्शनमा दिनहुँ सर्वसाधारणको सहभागिता बढ्दो छ। चौविसकोठी चोकमा गरिएको प्रदर्शनमा चिकित्सकसहित सर्वसाधारणको व्यापक उपस्थिति रह्यो। सर्वसाधारण, चिकित्सक, विद्यार्थी र अन्य पेसाकर्मी स्वस्फुर्त प्रदर्शनमा सहभागी हुन्छन्।

 'डा.केसीले उठाएका माग सबै नेपालीको जीवनसँग जोडिएको विषय हो। चिकित्सा सेवा सर्वसाधरणको पहुँचमा हुनका लागि चिकित्सा शिक्षा नै व्यवस्थित हुनुपर्छ भनेर उहाँले उठाएका मागमा हाम्रो समर्थन छ,' प्रयास नेपालका संयोजक अमर घिमिरेले भने। प्रदर्शनपछि केसीको जीवनरक्षका कामना गर्दै मैनबत्ती बालियो।

यसैगरी चिकित्सक संघको पहलमा केसीको जीवन रक्षाको माग राखेर शुक्रबार भरतपुरमा र्‍याली निकाल्ने कार्यक्रम तय भएको जानकारी नेपाल चिकित्सक संघ, चितवन अध्यक्ष डा.कृष्ण पौडेलले दिए।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर, विद्यार्थीले गठन गरेको डा. केसीप्रति ऐक्यवद्धता समूहको अगुवाइमा बुधबार र्‍याली निकालियो। समूहको अगुवाइमा दिनहुँजसो प्रतिष्ठानका डाक्टर र विद्यार्थी ओपिडी परिसरमा भेला भएर केसीको समर्थन र उनको जीवन रक्षाका लागि मैनबत्ती प्रज्वलन गरिन्छ। समूहले १२ दिनको अवधिमा दुईपटक समर्थनमाा र्‍याली निकालेको छ। मेडिकल शिक्षा माफियाकरण हुन नदिन केसीले उठाएका मागप्रति यहाँका सर्वसाधारणको पनि समर्थन देखिएको छ।

समूह आह्वानमा निकालिएको र्‍यालीमा प्रतिष्ठानका डाक्टर र विद्यार्थी मात्र होइन, सर्वसाधारण र पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसका विद्यार्थीले पनि सहभागी थिए। प्रतिष्ठानका जेआर डाक्टरले डा.केसीको माग पूरा गर्न दबाब दिन आइतबारदेखि हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन्। 'हामी हरेक दिन साँझ जिओपिडी भवनअघि भेला हुन्छौं र दीप प्रज्वलन गछौं। जेआर डाक्टरले हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन्,' ऐक्यवद्धता समूहका सदस्य नवीन भट्टले भने, 'मेडिकल शिक्षा सुधार गर्ने डा. केसीको अभियानमा विद्यार्थी, डाक्टरसँगै सर्वसाधारणबाट पनि साथ पाएका छौं।'

प्रतिष्ठानस्थित जेआर वेल्फेयर सोसाइटी अध्यक्ष डा.अजित यादवका अनुसार शुक्रबार पनि बृहत र्‍याली निकालिने छ। स्वास्थ्य शिक्षा र सेवामा सबैको पहुँच पुर्‍याउन डा. केसीले थालेको आन्दोलनबारे आम जनतालाई सुसूचित गराउन यस्तो तयारी गरिएको उनले बताए।

विराननगर र धनगढीमा पनि केसीको समर्थनमा र्‍याली निकालिएको छ।

प्रकाशित: ७ श्रावण २०७३ ०२:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App