६ वैशाख २०८१ बिहीबार
समाज

स्कुल बसमा आगजनी

काठमाडौं- माओवादी केन्द्रको भातृ संगठन दाबी गर्ने केही व्यक्तिको समूहले बिहीबार बिहान साढे ६ बजे विद्यार्थी बोकेको एक स्कुल बस जलाइदिएको छ। ललितपुर, झम्सिखेलस्थित आइडियल मोडेल स्कुलको बस बिहान कक्षा ९–१२ सम्मका विद्यार्थी बोकेर स्वयम्भुबाट स्कुलतर्फ लाग्दै थियो। डल्लुमा केही व्यक्तिले बस रोके। विद्यार्थीलाई छिटो निकाल भने। बाहिर पानी परिरहेको थियो। बसमा सवार शिक्षक मेघराज श्रेष्ठले पानीमा विद्यार्थी भिज्ने भएकाले बरु बस रोकौंला भने। त्यसपछि ती व्यक्तिहरु बसभित्र छिरेर पेट्रोल छर्न थागेको प्रिन्सिपल विराज क्षत्रीले जनाए।

बसमा ३० जना नानी थिए। बसभित्र छिरेर दुई जनाले पेट्रोल छर्न थाले। 'विद्यार्थी आत्तिएर हतारमा झर्दा सामान्य घाइते भए,' प्रिन्सिपल क्षत्रीले सुनाए, 'मेघराज सरले मलाई खबर गर्नासाथ म अर्को स्कुल बस लिएर घटनास्थल पुग्दा नानीहरु रोइरहेका थिए।'

उनले थपे, 'स्कुलमा पुग्दा पनि उनीहरु बोल्न सकिरहेका थिएनन्। त्रसित थिए। स्कुलले मनोपरामर्श दातासँग एक घन्टा परामर्श गराएपछि बल्ल उनीहरु शान्त भए।'

एक साताअघि माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र बताउनेले केही पर्चा र चिठी प्याब्सनलाई दिँदै बिहीबारदेखि अनिश्चितकालीन विद्यालय बन्दको घोषणा गरेको उनले बताए। तर अपरिचित दलका व्यक्तिको विश्वास नभएको र हाल निजी विद्यालयमा परीक्षासमेत सञ्चालन भइरहेकाले प्याब्सनले सो पर्चालाई बेवास्ता गरेको थियो।

'यो घटना भयरहित वातावरणमा पढ्न पाउने बालबालिकाको नैसर्गिक अधिकार र संयुक्त राष्ट्रसंघीय घोषणापत्रले प्रत्याभूत गरेको अधिकारको हनन मात्र होइन, पाँच वर्षअघि राजनीतिक दल आफैंले गरेको प्रतिबद्धता र विद्यालय शान्ति क्षेत्र घोषणाको धज्जी हो,' उनले भने, 'बालबालिका र शिक्षा क्षेत्रमा त्रास फैलाउने गतिविधि गर्नेलाई सरकारले कडा कारबाही गरी विद्यालयलाई क्षतिपूर्ति दिनुपर्छ।'

यसैबीच, सरकारले नयाँ शिक्षा ऐनमै विद्यालय र बालबालिका शान्ति क्षेत्र घोषणा गरिसकेपछि कुनै पनि निहुँमा विद्यार्थी बोकेको बसमा आगजनी गरी अमानवीय व्यवहार गर्नेलाई सरकारले कडा कारबाही गर्नुपर्ने प्याब्सन अध्यक्ष लक्ष्यबहादुर केसीले बताए।

प्याब्सनका महासचिव डिके ढुंगानाले आफ्नो निहित स्वार्थ पूरा गराउन बालबालिकालाई प्रयोग गर्नु निन्दनीय भएको जनाए। नामै नसुनिएका थरीथरीका पार्टीको चन्दा माग्ने प्रवृत्तिले निजी शिक्षा क्षेत्रलाई आतंकित पारेको उनले बताए।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्रका अध्यक्ष मीन देवकोटाले निजी विद्यालयको छाता संगठन प्याब्सन अध्यक्ष केसीलाई एक साताअघि लिखित मागसहितको ज्ञापनपत्र बुझाए पनि बेवास्ता गरेकाले आगजनी गरेको स्विकारे। दुई लाख ४० हजारभन्दा कम वार्षिक आम्दानी भएको र चल–अचल सम्पत्ति २०  लाखभन्दा कम भएका अभिभावकका नानीलाई पूर्ण निःशुल्क पढाउनुपर्ने, सरकारी र निजी विद्यालयको पाठ्यपुस्तक र पाठ्यक्रममा एकरुपता हुनुपर्ने, निजी विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको तलब सेवासुविधा वृद्धि गर्नुपर्ने लगायत नौबुँदे मागसहित साताअघि ज्ञापनपत्र बुझाएको उनले खुलाए।

आइडल मोडेल स्कुल सांसद उमेश श्रेष्ठको लगानीमा खुलेको हो। 'प्याब्सन र एनप्याब्सनले हाम्रा माग पूरा नगरे शुक्रबारदेखि देशभरिका निजी विद्यालय अनिश्चितकालीन बन्द गराउनेछौं,' उनले चेताए।

प्रकाशित: ७ श्रावण २०७३ ०२:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App