७ वैशाख २०८१ शुक्रबार
राजनीति

पुनर्निर्माण सामुदायिक समिति बनाइने

काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पले क्षति पुर्‍याएका स्थानमा पुनर्निर्माण तथा पुनःस्थापनाका लागि आपसी सहयोग, सहकार्य र आलोपालोमा काम गर्ने व्यवस्था मिलाउन गाउँ–गाउँमा पुनर्निर्माण सामुदायिक समिति गठन गर्ने भएको छ।

प्राधिकरणले स्थानीयस्तरमा भूकम्पपछिका सम्पूर्ण पुनर्निर्माणसम्बन्धी कार्यमा समुदायको सहभागिता र स्वामित्व अभिवृद्धि गर्न क्षति पुगेका जिल्लाका बस्ती तथा टोलमा सामुदायिक समिति गठन गर्न लागेको हो। समिति गठनका लागि प्राधिकरणले 'पुनर्निर्माण सामुदायिक समितिसम्बन्धी निर्देशिका २०७३' तयार पारेको छ।

प्राधिकरण प्रवक्ता रामप्रसाद थपलियाले समिति गठनको निर्देशिकालाई अन्तिम रूप दिने काम सकिएको बताए। 'आपसी सहयोग बढाउन र पुनर्निर्माणको कामलाई गुणस्तरीय र तीव्र बनाउन यस्तो व्यवस्था गर्न लागिएको हो,' उनले भने, 'यो समितिले पुनर्निर्माणक्रममा आउने समस्या समाधानसँगै सहजीकरणका कामसमेत गर्नेछ।'

उनका अनुसार स्थानीयलाई आफ्नो समुदायमा क्षतिग्रस्त भएका घर पुनर्निर्माणमा आपसी सहयोग आदान–प्रदान गर्ने/गराउने, बस्ती तथा वडास्तरमा रहेका पूर्वाधार पुनर्निर्माण कार्यमा कार्यरत निकाय तथा संघ–संस्थालाई सहयोग र सहजीकरण गर्ने काम, कर्तव्य  र अधिकार निर्देशिकामा राखिएको छ।

यस्तै, निर्देशिकामा समितिहरूले बस्ती तथा वडास्तरमा पुनर्निर्माण तथा पुनःस्थापनासम्बन्धी गुनासा सकंलन गरेर समाधानका लागि पुनर्निर्माण समन्वय समितिलाई सल्लाह, सुझाव दिने उल्लेख छ।

'समितिले स्थानीय निकाय तथा अन्य सरोकारवालासँग समन्वय गरी संस्थागत विकास, क्षमता अभिवृद्धि, समुदायस्तरको सामाजिक तथा आर्थिक समृद्धिसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्ने/गराउनेछन्,' निर्देशिकामा उल्लेख छ, 'यस्तै क्षतिग्रस्त निजी घर पुनर्निर्माणमा गाविस सचिव, नगरपालिकाका कार्यकारी अधिकृत, प्राविधिक तथा सहजकर्तालाई आवश्यक सहयोग पुर्‍याउनेलगायत काम गर्नेछन्।'

यसैगरी भूकम्पप्रभावित जिल्लाका नगरपालिका वा गाविस तहमा भूकम्पपश्चातको पुनर्निर्माण तथा पुनःस्थापनामा सहयोग, समन्वय तथा सहजीकरण गर्न 'पुनर्निर्माण समन्वय समिति' गठन गरिने निर्देशिकामा उल्लेख छ।

यस्ता समन्वय समितिले भूकम्पबाट प्रभावित संरचना पुनर्निर्माण तथा पुनःस्थापनासम्बन्धी कार्यमा समन्वय र सहजीकरण गर्ने, लाभग्राहीसँग गरिने अनुदान सम्झौता कार्यमा सम्बन्धित स्थानीय निकायलाई सहयोग गर्नेछन्। यस्तै स्थानीय तहको एकीकृत पुनर्निर्माण तथा पुनःस्थापना योजनाको तर्जुमा कार्यमा स्थानीय निकायलाई सहयोगसमेत गर्नेछन्।

प्रकाशित: ७ श्रावण २०७३ ०२:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App