७ वैशाख २०८१ शुक्रबार
राजनीति

सार्कस्तरीय निर्वाचन कार्यशाला

काठमाडौं- निर्वाचन बेला आउने विवाद कसरी समाधान गर्ने भन्ने विषयमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) स्तरीय दुई दिने कार्यशाला काठमाडौंमा सुरु भएको छ। बिहीबार सार्क देशका निर्वाचनसँग सम्बन्धित प्रतिनिधिको सहभागितामा आयोजित कार्यशाला प्रधानन्यायाधीश सुशीला कार्कीले उद्घाटन गरेकी छन्। 'निर्वाचन विवाद निरुपण र निर्वाचन न्याय' सम्बन्धी दुई दिने क्षेत्रीय कार्यशालामा दक्षिण एसियाका सबै देशको उपस्थिति छ।

संविधान कार्यान्वयनसँगै नेपालमा तीनवटा निर्वाचन हुँदैछन्। कार्यशालाबाट संघीय, प्रादेशिक र स्थानीय तहको निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित ढंगबाट सम्पन्न गर्न सहयोग पुग्ने सहसचिव वीरबहादुर राईले बताए। कार्यशालामा पूर्वनिर्वाचन आयुक्त भोजराज पोखरेलले 'निर्वाचन विवाद विषय र निर्वाचन न्याय' शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्रमाथि नेपाल, अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्सका प्रतिनिधिले धारणा राखेका थिए। सार्क देशका प्रतिनिधिले निर्वाचनका बेला आउने विवादले निम्त्याउने समस्याबारे अनुभवसमेत व्यक्त गरेका थिए। शुक्रबार पाकिस्तान, श्रीलंका र दक्षिण कोरियाका प्रतिनिधिले आ–आफ्नो धारणा राख्नेछन्। उनीहरूले आ–आफ्नो देशको निर्वाचन पद्धति, समस्या र समाधानबारे छलफल गर्ने राईले जानकारी दिए।

आगामी निर्वाचनमा आउने विवाद कम गर्न चुनावी प्रक्रिया, विद्युतीय भोटिङ मेसिन, मतदाता परिचयपत्र लगायत विषयमा समेत छलफल गरिएको छ। नेपालमा निर्वाचनसम्बन्धी कानुन, संविधानमा भएका व्यवस्थाका विषयमा अन्य देशका प्रतिनिधिलाई जानकारी दिइएको छ। कार्यशालामा चुनावका बेला राजनीतिक दलले ल्याउने विवाद कम गर्न सघाउने आयोगले आशा गरेको छ। नेपालको सन्दर्भमा चुनावअघि आउने विवाद निर्वाचन आयोगले समाधान गर्ने प्रावधान छ। चुनावपछि आउने विवाद संवैधानिक अदालतमार्फत सल्टाउने गरिएको छ।

दक्षिण एसियामा निर्वाचन पद्धति र समस्या फरक खालको भएकाले एक आपसमा अनुभव साटासाटले फाइदा पुग्ने आयोगका सहसचिव राईले बताए। उनले भने, 'विभिन्न देशमा भएका चुनावका सैद्धान्तिक, व्यावहारिक पक्षबारे छलफल भएको छ।' साथै कानुनी, संस्थागत व्यवस्थाका विषयमा छलफल भएको छ। उनले कार्यशालाले आगामी चुनावलाई निष्पक्ष, विवादरहित बनाउन मद्दत पुग्ने दाबी गरे।

प्रकाशित: ७ श्रावण २०७३ ०२:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App