coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

१२ घन्टामै भत्कियो कालोपत्रे

टीकापुर – आर्थिक वर्षको अन्त्यतिर विकास निर्माणका काम कत्तिको झारा टार्ने हिसाबले भइरहेका छन् भन्ने उदाहरण कैलालीको लम्कीमा निर्माण भएको सडकले प्रस्ट्याएको छ । सडकमा कालोपत्रे गरेको १२ घन्टा भित्रै भत्किएको छ।

लम्की चौराहाबाट पूर्वतर्फको सडक जीर्ण बनेपछि सडक डिभिजन कार्यालय महेन्द्रनगरले पुनर्निर्माण गरेको हो। यसअघि खाल्डा परेको सडक भत्काएर पुनः कालोपत्रे गरिएको हो । करिब एक हजार सात सय वर्गमिटर सडक निर्माण भएको बताइएको छ।

निर्माण भएको सडकको कालोपत्रे पैदल यात्रु हिँड्दा समेत खुट्टामा टाँसिएर उप्किन थालेको छ । सवारी साधन हिँडेको भागमा समेत कालोपत्रे उप्किएर खाल्डो परेको छ । भत्किएको कालोपत्रेको तलपट्टिबाट बालुवा र माटो निस्कन थालेको छ । सडक कालोपत्रेका नाममा ठेकेदारले गिट्टी बिछ्याएर अलकत्रा पोतेको स्थानीयको भनाइ छ।
केही दिनअघि रातिको समयमा काम गर्न थालेपछि निर्माण कार्य गुणस्तरहीन हुने आशंकामा स्थानीयले विरोधसमेत गरेका थिए । ठेकेदारले सुरक्षाकर्मी प्रयोग गरेर जबर्जस्ती कालोपत्रे गरेको स्थानीयको आरोप छ । ‘हामीले काम सन्तोषजनक भएन भनेर विरोध ग¥यौं,’ स्थानीय चेतराज खनालले भने, ‘उल्टै प्रहरी बोलाएर चुप लगाइयो।’

उनले रातारात कालोपत्रे गरेकै कारण सडक निर्माण गुणस्तरहीन भएको दाबी गरे । राति गरेको कालोपत्रे बिहान उप्किएको स्थानीयको भनाइ छ । उनीहरुले सम्बन्धित पक्षले सडक निर्माणमा अनुगमन समेत नगरेको बताएका छन्।

ठेकेदार र सडक विभागको मिलेमतोमा गुणस्तरहीन काम भएको स्थानीयको आरोप छ । उनीहरुले सडक विभागले समयमा अनुगमन नगर्दा ठेकेदारले मनोमानी ढंगले काम गरेको बताए।

स्थानीय दिनेश गौतमले सडक भत्किनुमा ठेकेदारको मात्रै नभई सडक विभागको समेत दोष रहेको बताए । सडक विभागले समयमा अनुगमन गरेको भए यस्तो अवस्था नआउने उनको भनाइ छ । ‘सडक विभागको अनुगमन देखिएन । ठेकेदारले आफ्नो ढंगले काम गरेको मात्रै देखियो,’ उनले भने, ‘जसको परिणाम राति कालोपत्रे भएको सडकमा बिहान खाल्डा परेको देख्नु पर्याे पर्‍याे।’

सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख विनोदकुमार मौआरले सडक निर्माणको प्रभावकारी अनुगमन हुन नसकेको स्वीकार गरेका छन् । उनले स्थानीय निर्वाचनका कारण अनुगमन प्रभावकारी हुन नसकेको बताए ।

उनले सो सडकको अवस्थाबारे जानकारी पाइसकेको जनाए । उनले वास्तविकता अध्ययन गरिने जानकारी दिए । उनले कामदारले काम गर्न नजानेर वा चुनावको समयमा ठेकेदारले मौकाको फाइदा उठाएर बदमासी गरेको हुन सक्ने बताए । ‘काम गुणस्तरीय भएन भन्ने जानकारी आइसकेको छ,’ उनले भने, ‘के रहेछ, चाँडै अध्ययन गरेर दोषी उपर कारबाही हुन्छ ।’

ठेकेदार कम्पनी जगदम्बा निर्माण सेवाका सञ्चालक सन्तोष जोशीले अलकत्राको मात्रा बढी भएकाले त्यस्तो भएको दाबी गरे । उनले स्थानीयले नै कामदारलाई सडकमा बढी अलकत्रा हाल्न दबाब दिएको बताए । ‘स्थानीयकै कारण सडक बिग्रिएको हो,’ उनले भने, ‘उनीहरुले नै राम्रोसँग काम गर्न दिएनन् ।’

उनले स्थानीय निर्वाचनलगत्तै प्राविधिक टोलीले सडक अध्ययन गर्ने बताए । उनले सडक निर्माणमा कुनै बदमासी नगरेको दाबी गरे । उनले करिब तीन सय मिटर सडक अझै निर्माण गर्न बाँकी रहेकाले आफूले त्यस्तो बदमासी गर्न नसक्ने बताए ।

स्थानीयले भने असार मसान्तभित्रै काम सक्नुपर्ने भएकाले ठेकेदारले हतारमा काम गर्दा गुणस्तरमा ध्यान नदिएको हुनसक्ने आशंका गरेका छन् । उनीहरुले ठेकेदारले असार मसान्तको हतार र निर्वाचनको मौका छोपेर सडक निर्माणमा लापरबाही गरेको आरोप लगाएका छन् ।

प्रकाशित: १४ असार २०७४ ०४:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App