coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भोट खसाल्ने उत्सुकता

मोरङको जहादा गाउँपालिकामा आयोजित चुनावी सभामा भेला भएका सन्थाल महिला । तस्बिर :नागरिक

काठमाडौं – एक नम्बर प्रदेशअन्तर्गत पर्ने तराई–मधेस क्षेत्रका मतदाता स्थानीय सरकार चुन्न आतुर देखिएका छन् । मधेसको चर्को गर्मीमा भइरहेको चुनावी प्रचारका कार्यक्रममा उनीहरुले सक्रिय सहभागिता जनाए । एक नम्बर प्रदेशमा पर्ने मोरङ, झापा र सुनसरी तराई–मधेसका जिल्ला हुन् । संघीय समाजवादी फोरमका अध्यक्ष उपे्रन्द्र यादव, लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, एमाले अध्यक्ष केपी ओली, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, शेखर कोइराला, महेश आचार्यलगायतका चर्चित नेताका गृहजिल्ला पनि यिनै हुन्।

यहाँका मतदाताले उत्साहपूर्वक भोट खसाल्ने दिन कुरेका छन् । मेची नगर–८, झापाको टोकला चिया कमानमा बस्दै आएकी पम्फी लेक्सले मतदान गर्न आतुर रहेको बताइन् । ‘भोट हाल्न मन छ नि  । बल्लबल्ल २० वर्षपछि मौका आएको छ’, उनले भनिन्, ‘आफ्नै गाउँका दाजुभाइ उठेका छन्, चिनेका मानिस उठेका छन्, यसअघि नचिनेका मानिसलाई त भोट दिएर पठाइयो ।’ बदर नहुने गरी मतदान कसरी गर्ने होला, यो चिन्ताले भने आफूलाई सताएको उनले बताइन्।

‘मन परेको व्यक्तिलाई छानेर हाल्न पाइने कि नपाइने, कसरी छाप लगाउने, कसरी पट्याउने भन्ने कुराको  चिन्ता छ’, उनले भनिन्, ‘श्रीमान् र छोराछोरीसँग सोधपुछ गरेकी छु।’

विराटनगर उपमहानगरसँगै जोडिएको जहदा गाउँपालिकाकी बलही टुडुर (सन्थाल) पनि मत खसाल्ने दिन नजिकिँदै गर्दा उत्साही छन् ।  गाउँनजिकै चुनावी सभामा चर्को गर्मीमा पसिना पुछ्दै भेटिएकी उनले भनिन्, ‘कसलाई किन भोट दिने भनेर बुझ्न भाषण सुन्न आएकी हुँ । सबैले आफूले विकास गर्ने र राम्रो मान्छे भन्छन् तर कसरी छुट्याउने, अलि समस्या छ।’

उनलाई पनि मत बिग्रन्छ कि भन्ने डर छ  । ‘२० वर्षपछि गाउँकै मान्छेलाई भोट दिन पाउँदा खेर फाल्नु त भएन नि’, उनले भनिन्, ‘एक भोटले चुनाव जित्ने र हार्ने भएकाले खेर फाल्न हुँदैन भनी नेताहरुले भन्नुभएको छ।’

सुनसरीको इनरुवा नगरपालिकामा चिया खाँदै भेटिएका चुनाव बहिष्कार गरेका राजपाका क्षेत्रीय नेता महमद सागिर मियाँ पनि चुनावी प्रचारले उत्साही छन् । आफ्नो पार्टीले निर्वाचनमा भाग नलिए पनि उनले निर्वाचन गतिविधि भने चासोका साथ हेरिरहेका छन् । ‘निर्वाचन हुनु सकारात्मक हो, मेयर, उपमेयर र वडाका नेता आएपछि जनताको काम गर्न सहज हुन्छ’, मियाँले भने, ‘मेरो पार्टीले बहिष्कार ग¥यो तर मत माग्न कोही आए म पनि जान सक्छु।’

निर्वाचनपछि आउने मेयरसँग आफूले पनि जनताको काम लिएर जान सक्ने भन्दै उनले निर्वाचनमा भाग लिन चाहने आफ्ना कार्यकर्तालाई अवरोध नगर्ने बताए । ‘कोही हाम्रा कार्यकर्ता भोट हाल्न गए त्यो उनीहरुको अधिकार हो’, मियाँले भने, ‘हामी त पार्टीको निर्णय यस्तो छ भन्नेमात्रै हो, केही गर्न सक्दैनौं।’

इटहरिमा भेटिएका फोरम लोकतान्त्रिकका नेता कोविदचन्द्र कार्कीले सतप्रतिशत मतदाता भोट हाल्न आतुर रहेको टिप्पणी गरे । ‘यहाँ मधेसी र पहाडी  भन्ने छैन, सबै जनतामा चुनावको उत्साह बराबर लागेको  छ’, कार्कीले भने, ‘हाम्रा सतप्रतिशत मतदाता मधेसी मूलका हुन्।’

झापा, मेची नगरका  कांग्रेस सभापति इन्द्र बुढाथोकीले पहाडी मूलका भन्दा मधेसी मूलका मानिसमा अझ चुनावी उत्साह रहेको बताए । ‘उनीहरु यसअघि विभिन्न रुपमा पछाडि परेको र अब निर्वाचनपछि मूल धारमा आउने आसका साथ पनि उत्साहपूर्वक लागेका छन्’, बुढाथोकीले भने, ‘आफ्ना दैनिक समस्या पनि अब वडाबाटै समाधान हुन्छन् भन्नेमा ढुक्क भएर मतदाता चुनाव प्रचार ¥याली र सभामा उत्साहपूर्वक सहभागी भएका छन्।’

सुनसरीका इटहरी  उपमहानगरपालिकामा पनि मधेसी मूलका मतदाता निर्वाचनमा भाग लिन उत्साहित देखिएका छन्।

उपेन्द्र यादवको नेतृत्वमा  रहेको संघीय समाजवादी फोरमका नेता पदम अधिकारीले पनि सुनसरीमा पहाडीका साथै मधेसी मूलका मतदाता पनि भोट खसाल्न उत्साहित रहेको बताए । ‘यो चुनावलाई उनीहरुले आफ्नो अधिकार प्राप्त गर्ने पहिलो खुड्किलोका रुपमा लिएका छन्’, उनले भने, ‘विगतमा सडक आन्दोलनसमेत गरेका जनता अहिले मतदानमार्फत माग पूरा गराउने व्यक्ति छनोटका लागि उत्सुक छन्।’

झापा, मोरङ र सुनसरी तराईका क्षेत्र भए पनि यहाँ मधेसीका साथै पहाडी समुदायको पनि बसोवास छ । उनीहरुबीचको सामाजिक सद्भाव अनि एकअर्काप्रतिको सम्मानका कारण पनि सबै समुदाय मतदान गर्न उत्सुक रहेको देखिन्छ।

लामो समयदेखि संविधान संशोधन हुनुपर्ने भन्दै आन्दोलनमा रहेका तराई मधेस केन्द्रित दलमध्ये राजपाबाहेक अन्य दल स्थानीय तह निर्वाचनमा भाग लिइरहेका छन् । संविधान संशोधनबिना निर्वाचनमा नजाने अडान लिएको राष्ट्रिय जनता पार्टीका कार्यकर्ता पनि चुनाव बिथोल्ने मनस्थितिमा छैनन् । मतदाता प्रतिनिधि चुन्न आतुर रहेको मनोविज्ञान बुझेर नै उनीहरु शान्त बसेको विश्लेषण अन्य पार्टीले गरेका छन् ।

 

 

प्रकाशित: १४ असार २०७४ ०२:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App