coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सुरक्षा अंगलाई झुक्याउँदै बहिष्कारवादीको बम आतंक

झापा-  ग्रामीण क्षेत्रका ४८ वटा मतदानस्थललाई सुरक्षा दृष्टिले अति संवेदनशील मानेर त्यतैतिर बढी ध्यान केन्द्रीत गरेको सुरक्षा अंगलाई झुक्याउँदै बहिष्कारवादीहरुले झापाका सहरमै निर्वाचनविरोधी गतिविधिको प्रयास थालेका छन्। प्रचार अवधिभित्र कतै पनि उपस्थिति देखाउन नसकेका उनीहरुले मौन अवधि शुरु भएर दलहरुको गतिविधि रोकिएको समयलाई उपयोग गरेका छन्। 

यसक्रममा सोमबार जिल्लाकै राजनीतिक केन्द्र मानिने विर्तामोडमा र मंगलबार दमकमा  बम आतंक मच्चाएर चुनाव विरोधी पक्षले आफ्नो उपस्थिति देखाउने प्रयास गरेको छ। पूर्वी तराईका अन्य जिल्लाको तुलनामा झापामा बहिष्कारवादी दलहरुको उपस्थिति ज्यादै कमजोर छ । राष्ट्रिय जनता पार्टीको जिल्ला संयन्त्र बाहेक तल्लो तहमा संगठन नै छैन। विप्लव समूह पनि सहरमा चन्दा आतंक मच्चाउने तहमा मात्रै सिमित छ । त्यसका पनि अधिकांश नेताहरु यतिबेला प्रहरी नियन्त्रणमा छन् । विर्तामोडको दुई ठाउँमा बम कसले राख्यो यकिन भइसकेको छैन। तर, सुरक्षा अंगले भने बहिष्कारवालाहरुकै काम हुने शंका गरेको छ । यसलाई जिल्ला सुरक्षा संयन्त्रले ‘चुनावको मुखमा आतंक फैलाउन रोजिएको हिंसात्मक उपाय’ भनेको छ । ‘यो निर्वाचनविरोधी गतिविधिमा संलग्नहरुले गरेको हुनसक्छन्’, झापाका प्रहरी प्रवक्ता डिएसपी हरिप्रसाल शर्माले भने। 

झापामा यस्ता गतिविधि हुनसक्ने पूर्व अनुमान सुरक्षा निकायको थियो ।  बहिष्कारवादी दलहरुको सम्भावित चलखेल , खुला र अनियन्त्रित सीमामार्फत हुने ‘अवाञ्छित गतिविधि’ चुनावी सुरक्षाका लागि मुख्य चुनौति बन्ने निष्कर्ष सुरक्षा निकायले पहिल्यै निकालेका थिए । त्यसमा पनि पूर्व–पश्चिम राजमार्गभन्दा दक्षिणको सुदुर ग्रामीण भेगका ४८ मतदान केन्द्रलाई उनीहरुले बढी संवेदनशील मानेका थिए।  ‘सुरक्षा चुनौतिका दृष्टिले बढी संवेदनशील क्षेत्रमा हाम्रो ध्यान बढी केन्द्रीत छ’, जिल्लाका एक सुरक्षा अधिकारीले भने ‘यस्तो बेलामा उनीहरुले सहरमा आफ्नो उपस्थिति देखाउन खोजेका हुन् । यो आतंक खडा गर्ने नियत मात्रै हो।’

मंगलबार बिहानै दमक–२ को हिमालयन मावि  नजिकै र दमक–६ स्थित माओवादी मेयर उम्मेद्वार गगन पुरीको घर परिसरमै दुई वटा बम फेला परेको छ । बम रहेको हल्ला चलेपछि आतंकित बनेको वातावरण नेपाली सेनाले बम निष्क्रिय पारेपछि सामान्य बनेको थियो ।

यसअघि सोमबार पनि  बिर्तामोड–५ सुब्बाचोक र त्यसको सय मिटर दक्षिणतर्फ रहेको कनकाई रोडमा २ ठाउँमा बम भेटिएको थियो ।  उक्त विस्फोटक पदार्थ राखिएको ठाउँ नेपाली काँग्रेसको वडा प्रचार कार्यालय, मतदान केन्द्र देवी मावि र नेकपा माओवादी केन्द्रका तर्फबाट बिर्तामोड नगरपालिका उपप्रमुखकी उम्मेदवार लक्ष्मी न्यौपानेको डेराबाट नजिकै पर्छ ।

निर्वाचन प्रयोजनकै लागि सोमबार बिहानैदेखि ७२ घण्टाका लागि पूर्वका सबै नाका सील भएका छन् । नेपाल र भारतका सुरक्षा अधिकारीहरुको समन्वयमा सीमा बन्द गरिएपछि खुला सीमामार्फत हुनसक्ने सम्भावित आपराधिक गतिविधि रोकिने अपेक्षा नेपाली सुरक्षा अधिकारीहरुको छ । काँकडभिट्टा प्रहरी प्रमुख डिएसपी दुर्गाराज रेग्मीका अनुसार ७२ घण्टाका लागि अत्यावश्यक बाहेकका कसैलाई पनि आवतजावत गर्न दिइने छैन ।  नेपाल–भारत सीमानाको पूर्व र दक्षिणका नाकाहरु अवैध हतियार ओसारपसार र कारोबारका  अखडा हुन्। चुनाव, चाडपर्वहरु ताका कारोबार झनै मौलाउने गरेको विगतको अनुभव नै छ । तिनै ठाउँमा बहिष्कारवादी दलहरुको चलखेल हुन सक्ने प्रहरी अनुमान छ  ।

झापा प्रहरीले मतदानस्थलको संवेदनशीलताको अध्ययन गरेर मतदानस्थललाई तीन प्रकारमा वर्गीकरण गरेको छ । प्रहरीका अनुसार अति संवेदनशील, संवेदनशील र सामान्य मतदानस्थलका रुपमा वर्गीकरण गरेको हो ।  जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता शर्माका अनुसार जिल्लामा थप ९६ वटा मतदानस्थल संवेदनशील र १ सय ३९ वटा सामान्य अवस्थाका छन्। चुनाव विरोधी गतिविधि बढी हुने र निर्वाचन बहिष्कारवादी दलको उपस्थिति हुनसक्ने  क्षेत्रमा रहेका मतदानस्थललाई प्रहरीले अति संवेदनशील मतदानस्थलको रुपमा राखेको हो।  

जिल्लामा निर्वाचनका लागि १ हजार ९ सय ५० नेपाल प्रहरी, २ हजार १ सय १४ जना म्यादी प्रहरी परिचालन भएका छन्। सशस्त्र, राष्ट्रिय अनुसन्धानका र सादा पोशाकमा समेत पर्याप्त सुरक्षाकर्मी परिचालन भएका छन् । जिल्ला प्रहरीका अनुसार  निर्वाचनमा तीन वटा सुरक्षा घेरा रहने छ । पहिलो रिङमा नेपाल प्रहरी बस्ने र उसले सामान्य सुरक्षा व्यवस्था प्रदान गर्ने, बुथ, मतदान स्थल, मतदातालगायत वरिपरीको सुरक्षा व्यवस्थामा निगरानी गर्ने प्रहरी उपरीक्षक क्षेत्रीले बताए । दोस्रो घेरामा सशस्त्र प्रहरी रहने छ । सशस्त्र प्रहरीले मोवाइल गस्तीलगायत विभिन्न खाले गस्ती गर्नेछ । तेस्रो घेरामा नेपाली सेना रहने छ । निर्वाचनका बखत कुनै पनि अप्रिय घटना नहोस, मतदाताहरुलाई कसैले पनि आतंकित पार्ने कुनै पनि गतिविधि नगरुन भनेर सीमा क्षेत्रमा बढी निगरानी बढाइएको  प्रहरीले जनाएको छ। 

 

 

प्रकाशित: १३ असार २०७४ १०:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App