coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

विवादित बन्यो राष्ट्रिय कला प्रदर्शनी

काठमाडौं- आन्तरिक विवाद थाती राखेर सुरु भएको सातौं राष्ट्रिय ललितकला प्रदर्शनी विवादित बनेको छ। गलत कलाकृतिलाई पुरस्कृत गर्नेदेखि लिएर  प्रतिष्ठानका गतिविधी पनि पारदर्शी नभएको र झारा टार्ने हिसाबले गरेको भन्दै प्राज्ञहरु नै असन्तुष्ट बनेपछि प्रदर्शनी विवादको घेरोमा परेको हो।

ललितकला प्रज्ञा प्रतिष्ठानले प्रत्येक वर्ष वैशाखको पहिलो साता आयोजना गर्दै आएको प्रदर्शनी विवादकै कारण असारमा सरेको थियो।

स्थानीय तहको चुनावका कारण प्रदर्शनी सारिएको भनाइ प्रतिष्ठानको छ। प्रदर्शनीमा केही कमजोरी भएको प्रतिष्ठानका प्राज्ञ तथा कर्मचारीहरू पनि स्वीकार्छन्।

नक्सालस्थित प्रतिष्ठानको भवनमा हुँदै आएको प्रदर्शनी बबरमहलमा रहेको नेपाल कला परिषद्मा गरिएको छ। 'कला प्रदर्शनीका लागि सबै पूर्वाधार भएको प्रतिष्ठान भवन भूकम्पले  असुरक्षित भएपछि यहाँ प्रदर्शनी गनुपरेको हो,' प्रतिष्ठानका  सदस्य–सचिव नवराज भट्टले भने, 'यसले गर्दा पनि केही कमजोरी हुन गएको छ।' ठाउँ फेरिँदा प्रदर्शनी खर्च पनि बढेको र चुनौती पनि थपिएको उनले बताए। विभिन्न विधाको पुरस्कारमा विवाद आएकाले पनि प्रदर्शनी केही खल्लो भएको उनले स्वीकारे।

लोक कला विधातर्फको राष्ट्रिय ललितकला पुरस्कार विजेता कमला सुतिहारको कलाकृति पुरस्कृत बनेको धेरैलाई चित्त बुझेन। सुतिहारको कलाकृति गुणस्तरीय नभएको भन्दै चौतर्फी आलोचना भयो। न त समीक्षक न त पारखीले नै पुरस्कृत चित्रप्रति सन्तुष्टि जनाए।

आन्तरिक विवाद चुलिनुको दोष कुलपतिलाई दिन्छन् सदस्य–सचिव भट्ट। ‘जग्गाामा मुद्दा परेपछि कुलपतिबाट अडान लिने काम भएन,’ उनले भने, ‘त्यसले पनि विवाद बढायो।’ विवादले गर्दा प्रदर्शनीको तयारीमा बाधा परेको उनले बताए। मन्त्रालयविरुद्ध मुद्दा परेपछि बजेट निकासामा ढिलाइ भएकाले सबैकुरा लथालिङ्ग भएको पनि उनको भनाइ थियो।

‘छनोट समितिले सिफरिस गरी निर्णायक समितिले सदर गरेको कलाकृतिलाई नै पुरस्कृत गरेका हौं,’ भट्टले भने, ‘विवाद उठेको छ। हामी सत्यतथ्य छानबिन गर्छौं।’

छनोट समिति र निर्णायक समितिमा 'जुनियर' व्यक्ति राखिएकाले पनि सही निर्णय नआएका उनले बताए। छनोट समिति र निर्णायक छान्ने जिम्मा पनि सम्बन्धित विभागकै भएको उनले बताए। प्रदर्शनीका लागि छनोटमा परेका र पुरस्कृत गर्न लागिएका कलाकृतिको पुर्नमूल्यांकन गर्न परिषद् बैठकमा छलफल नभएको प्राज्ञहरूको भनाइ छ।

तर, लोककलाको छनोट समितिमा वरिष्ठदेखि कनिष्ठसम्मको सहभागिता भएको, लैंगिक प्रतिनिधित्वका रूपले बलियो बनाइएको दाबी लोककला विभाग प्रमुख एस.सी. सुमनको छ। समितिमा आइ.वि. मल्ल, रतनकुमार राई र श्यामबहादुर श्रेष्ठ थिए भने निर्णायक समितिमा हरिप्रसाद शर्मा, मदनकला कर्ण र गीताकुमारी ठाकुर थिए।

‘कला विश्वव्यापी हुन्छ, लोककलामा यो र ऊ भनेर विज्ञता हेर्न मिल्दैन,’ सुमनले भने। स्पष्ट मापदण्ड र कार्यविधि नभएका कारण केही कमजोरी भएको उनले स्वीकारे।

समीक्षक रमेश खनालले यसवर्ष राम्रा मूर्तिकला प्रतिस्पर्धामा आए पनि स्तरीय चित्र आउन नसकेको बताए। ‘छनौट समिति र निर्णायक समितिमै गलत मानिस छानिएपछि कसरी छानिन्छ स्तरीय कला?’ उनले प्रश्न गरे , ‘एउटा विधाको मानिसले अर्को विधाको उत्कृष्ट कला कसरी छान्न सक्छ?’ आयोजकले नै आँखा चिम्लेकाले यस्तो अवस्था आएको उनको भनाइ छ।

यसपटकको राष्ट्रिय कला प्रदर्शनीले कला र पुरस्कारको उचाइ बढाउनेभन्दा पनि घटाउने काम गरेको खनालले बताए। 'कलाको ओज बढाउन प्रतिष्ठान चुकेको छ,' खनालले भने।

पुरस्कार वितरणमा नातावाद लादिएको आरोप पनि प्रतिष्ठानलाई छ। ललितकला वाङ्गमय समाजका अध्यक्ष तथा समीक्षक नगेन्द्रप्रसाद पौडेलले पनि यस पटक नातावाद कृपावादका आधारमा पुरस्कार वितरण गरिएको र निर्णायकहरूले सहि निर्णय गर्नबाट चुकेको बताए। छनौट भएका कलाकृतिलाई अनुगमन समितिले पुनर्मूल्यांकन नगर्दा  गल्ती भएको उनको भनाइ थियो।

प्रदर्शनीमा कमजोर चित्र आउनुमा प्राज्ञभन्दा छनोट र निर्णायक समितिको कमजोरी रहको प्राज्ञ ज्योतीप्रकाश विकले बताए। परिषद् सदस्य तथा वास्तु तथा अन्य सृजनात्मक कला विभाग प्रमुख नारदमणी हार्तमछालीले आन्तरिक विवादका कारणले प्रदर्शनीको गृहकार्य गर्न नसकिएको जनाए। ‘प्रदर्शनीको सूचना नै आमजनमा पुग्न सकेन,' उनले भने ,‘छनौट समिति र निर्णायक समिति पनि हतारमै छानियो अनि निर्णय पनि हतारमै स्वीकृत भयो।’लोककला राष्ट्रिय पुरस्कारसँगै आधुनिक मूर्तिकला विशेष पुरस्कार र प्रादेशिक पुरस्कार पनि विवादबाट टाढा रहन सकेनन्। ‘प्रदेश नम्बर ६ को पुरस्कारका लागि अरू चित्र नै आएनन्। त्यसैले प्रतिस्पर्धा नै हुन नसकि सागर शाहको कार्टुन चित्र पुरस्कृत भयो,’ हार्तमछालीले बताए। उनका अनुसार प्रतिष्ठानले प्रदर्शनीका लागि सामान्य मापदण्ड दिए पनि कुनै ठोस मापदण्ड र कार्यविधी निर्धारित नगरिएकाले पनि विवाद चुलिएको हो।

प्रकाशित: १३ असार २०७४ ०४:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App